सहुलियतपूर्ण कर्जा लगानी गर्न किस्पाङमा त्रिपक्षिय सम्झौता

काहुँले, किस्पाङ गाउँपालिकामा सानिमा बैंकले सहुलियतपूर्ण कर्जा लगानी गर्न फागुन २४ गते सम्झौता गरेको छ ।

     सहुलियतपूर्ण कर्जा लगानी गर्न किस्पाङ गाउँपालिका, सानिमा बैंक किस्पाङ शाखा र नुवाकोट उद्योग वाणिज्य संघबिचमा नेपाल राष्ट्र बैंकद्वारा जारी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधी २०७५ (तेस्रो संशोधन २०७७) बमोजिम त्रिपक्षिय सम्झौता भएको छ । किस्पाङ गाउँपालिका क्षेत्रका उद्यमी ब्यवसायीको लागि उद्यमशिल कर्जा किस्पाङ गाउँपालिकाको सिफारिसमा लगानी गर्ने तथा बैंकद्वारा लगानी गरिएका उद्यमीलाई किस्पाङ गाउँपालिका तथा नुवाकोट उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रम गाउँपालिकाको बैठक कक्ष काहुँलेमा सम्पन्न भएको थियो ।

      सम्झौतामा गाउँपालिकाको तर्फबाट अध्यक्ष छत्रबहादुर लामा, नुवाकोट उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष ताराबहादुर कार्की र बैंकको तर्फबाट सानिमा बैंकका किस्पाङ शाखाका प्रबन्धक प्रकाश रिमालद्वारा हस्ताक्षर गरिएको छ । यो सम्झौताको समयावधि नेपाल राष्ट्र बैंकबाट ब्याज अनुदान कार्याविधीले तोकेबमोजिम रहने बताईएको छ । पूर्णिमा कार्यक्रमबाट नुवाकोट उद्योग वाणिज्य संघमा कार्यरत कार्यक्रम संयोजक घनेन्द्रप्रसाद रिजालले हस्ताक्षर कार्यक्रमको सञ्चालन तथा स्वागत गदै सम्झौताको पृष्ठभूमि तथा सम्झौता गर्ने पक्षको भूमिका बारेमा जानकारी गराउनुभएको थियो । गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले सम्झौताअनुसार प्राप्त गर्ने कर्जा, सिमा तथा समयावधिको बारेमा जानकारी गराउँदै यस्तो कर्जा लिने ऋणीले प्राप्त गर्ने ब्याज अनुदान बाहेकका सुविधाको बारेमा जानकारी गराउनुभएको थियो ।

      सो कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले आगामी दिनमा किस्पाङ गाउँपालिका क्षेत्रको आर्थिक विकासका लागि संघले निरन्तर सहयोग गर्ने र यस क्षेत्रका उद्यमीको विकासका लागि संघले हेल्पडेक्सको ब्यवस्था गर्ने बताउनु भयो । नुवाकोट उद्योग वाणिज्य संघले संघीय संरचनाअनुसार ब्यवसायीद्वारा शाखा माग भएमा तुरुन्तै नुवाकोटका विदुर नगरपालिका बाहेकका ११ वटै स्थानीयतहमा संघको इकाई खोल्ने प्रतिबद्धता ब्यक्त गदै सम्झैताका शर्तको पालना गर्नका लागि संघले आवश्यक नीतिगत निर्णय तथा अन्य ब्यवस्थापन समेत गरिरहेको जानकारी गराउनुभएको थियो । संघले सम्झौता कार्यन्वयनका लागि आवश्यक पर्ने दक्ष जनशक्ति पालिकास्तरमा खटाएकोले संघ स्थानीयतहमा प्रवेश गरी आवश्यक सेवा प्रवाहमा तत्पर रहेको समेत बताउनु भयो । संघले ५ वटा पालिका र बैंकबिचमा त्रिपक्षिय सम्झौता गरिसकेको कारण कार्यान्वयनका लागि संघको शाखा बिस्तार तथा ब्यवसाय सहायता कक्षको सेवा प्रभावकारी गराउनका लागि पूर्णिमा कार्यक्रमसँग सहकार्य गरी ब्यवसाय सहायता कक्ष अधिकृत नियुक्त गरेका कारण जनशक्ति समस्या नरहेको तथा मागमा आधारित सेवा प्रवाहमा संघ निरन्तररुपमा लाग्ने समेत जानकारी गराउनु भयो ।

     सानिमा बैंकको तर्फबाट किस्पाङ शाखा प्रमुख प्रकाश रिमालले बैंकद्वारा कृषि क्षेत्र, महिला उद्यमी तथा दलित समुदाय स्वरोजगार कर्जाको माग बढि भएको र यस शाखामार्फत यसअघि पनि करिव १५ जना उद्यमीको लागि सहुलियत कर्जा प्रवाह भईसकेको जानकारी गराउनु भयो । गाउँपालिका र उद्योग वाणिज्य संघका सहयोगमा यो कर्जा प्रवाह गर्न बैंकलाई थप उत्साह तथा दायित्व बढेको जानकारी गराउनु भयो । यसका लागि बैंकको तर्फबाट गर्ने सबै किसिमको काममा कमि हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

      कार्यक्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले गाउँपालिकाको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि पालिकाको नीति तथा कार्यक्रममा समेत उच्च प्राथमिकता दिईएको कारण आजको यो कार्यक्रम गर्न सम्भव भएको बताउनु भयो । गाउँपालिका कृषि उद्यम, कृषि पर्यटन तथा पशुपालन ब्यवसाय सञ्चालनका हिसावले उच्च सम्भावना भएकोले यस क्षेत्रमा त्यस्तो उद्यम ब्यवसाय संचालन गरेमा पालिकाद्वारा गर्नुपर्ने सहयोगका लागि सदैव पालिका तयार रहेकोले ढुक्क भएर लगानी गर्न बैंकलाई आग्रह समेत गर्नुभयो । अहिले भएको सम्झौतामा भएका शर्तको पालनाका लागि गाउँपालिकाको तर्फबाट गर्नुपर्ने निर्णय तथा कामका लागि प्रक्रिया शुरु भईसकेको जानकारी समेत उहाँले गराउनु भयो । उहाँले पालीकाको आर्थिक विकासमा पूर्णिमा कार्यक्रम, नुवाकोट उद्योग वाणिज्य संघलगायतले गरेको योगदानको समेत प्रसंशा गदै आज भएको सम्झौताका प्राविधिक पक्षमा सयोग गरेकोमा पूर्णिमा कार्यक्रमलाई समेत धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

       नुवाकोट जिल्लामा यसअघि यसै किसिमको सम्झौता विदु्र नगरपालिका र नेपाल बैंक लि., तादि गाउँपालिका र कृषि विकास बैंक, किस्पाङ गाउँपालिका र एभरेष्ट बैंक तथा ज्योती विकास बैंक, बेलकोटगढी नगरपालिका र ज्योती तथा सानिमा बैंक, शिवपुरी गाउँपालिका र सानिमा बैंकबिचमा समेत सम्झौता भएर ब्यवसायीले सहुलियतपूर्ण कर्जा प्राप्त गर्न थालिसकेको छन् । यस्तो ऋण प्राप्त गर्न ब्यवसाय दर्ता गरी स्थायी लेखा नम्वर प्राप्त उद्योगी व्यवसायी हुनै पर्छ भने ऋणको प्रकृति हेरी बैंकले अन्य कागजात माग गर्ने गर्दछ । सहुलियतपूर्ण कर्जाको भुक्तानी अवधि पाँच वर्षको हुने गर्दछ भने मासिक रुपमा आम्दानी गरी कर्जाको किस्ता बुझाउनुपर्ने बैंकले जानकारी गराउने गरेका छन् ।