पालिकास्तरीय फुटबल विजेता टिमलाई ६ लाख

शिवपुरी, प्रतिभा र क्षमता भएका खेलाडी पहिचान गर्ने उद्देश्यले शिवपुरी गाउँपालिकामा चैत १८ गतेदेखि अन्तरगाउँपालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता हुन लागेको छ । उक्त प्रतियोगितामा प्रथम हुने स्थानीय तहले सिल्ड, मेडल र प्रमाणपत्रसहित नगद ६ लाख पाउनेछन् ।

      गाउँपालिकाले सो प्रतियोगितामा नुवाकोटको १२वटै स्थानीय तहलाई १६ जना खेलाडी व्यवस्थापक र प्रशिक्षकसहित १८ जनाको नाम पठाउन अनुरोध गरेको छ । गाउँपालिकामा खेलाडी टिमको नामावली सम्बन्धित स्थानीय तहको आधिकारिक पत्रमा लेखिएको हुनुपर्नेछ । प्रतियोगितामा सहभागी प्रथम हुने स्थानीय तहलाई सिल्ड, मेडल र प्रमाणपत्रसहित नगद ६ लाख, दोस्रो हुने टिमलाई सिल्ड, मेडल र प्रमाणपत्रसहित चार लाख र तेस्रो हुने टिमलाई सिल्ड, मेडल र प्रमाणपत्रसहित दुई लाख रुपैयाँ प्रदान गरिने शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।

      प्रतियोगिताले स्थानीय तहमा लुकेर रहेका खेलाडीको पहिचान गर्न सहज हुने र प्रतिभावान खेलाडीले अवसर पाउने अध्यक्ष थापाले बताए । फुटबल प्रतियोगिता गाउँपालिकाले केन्द्र रहेको बुढिसेराबाट डेढ किलोमिटर दूरीमा रहेको बिर्ताको चौरमा शिवपुरी गाउँपालिकाले निर्माण गरेको रंगशालामा हुनेछ । सो प्रतियोगिताले गाउँमा फुटबल खेलको विकास हुनुका साथै खेलाडी पहिचान र उत्पादन गर्न सहज हुने गाउँपालिका उपाध्यक्ष मञ्जु केसीले जानकारी दिइन् । प्रतियोगितामा जिल्लाका १२ वटै टिमले भाग लिन खेलाडीको नामसहित पत्र पठाइसकेका छन् । खेलका लागि अन्य तयारी भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।