रसुवाबाट पहिलो न्यायाधीश हुने फुर्पा

  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाले न्याय क्षेत्रमा प्रवेश पाएको छ । साबिक स्याफ्रुबेंसी गाविस– ५ हालको गोसाइँकुण्ड गाविस– ५ ठूलोभार्खुका फुर्पा तामाङ गत हप्ता न्यायाधीशमा सिफारिस भएका थिए । उनलाई न्यायपरिषद्ले गत शुक्रबार न्यायाधीशमा सिफारिस गरेको थियो । बुधबार उच्च अदालत विराटनगरको न्यायाधीशमा शपथग्रहण गरेपछि रसुवाबाट न्यायाधीश हुनेमा फुर्पा तामाङ पहिलो भएका छन् ।

     न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका दुई न्यायाधीशसहित २० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा बसेको परिषद्को गत हप्ता बसेको बैठकले सर्वोच्चका दुई र उच्च अदालतका १८ न्यायाधीशका लागि अधिवक्ता फुर्पा तामाङ नियुक्तिका लागि सिफारिसमा परेका थिए । बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुँडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो । अदालतमा रिक्त १८ न्यायाधीशमा सरकारी वकिलका तर्फबाट उच्च नारायणप्रसाद पौडेल र कानुनसचिव ऋषि राजभण्डारी नियुक्त भएका छन् । जिल्ला न्यायाधीशबाट जगतनारायाण प्रधान, माधववेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मोदिनीप्रसाद पौडेल सिफारिसमा परेका छन् । त्यसैगरी, न्यायसेवाको अधिकृतबाट रामेश्वर रेग्मी र ममता खनाल पनि सिफारिसमा अटाएका छन् । कानुन व्यवसायीबाट रसुवाका फुर्पा तामाङसहित श्रीधराकुमारी पुडासैनी, जगदीश घिमिरे, पुनमसिंह चन्द, सागर विष्ट, गणेश ठाकुर र निर्मला शाक्यलगायतको सिफारिस भएको थियो ।

     फुर्पा तामाङ रसुवाबाट न्यायाधीश बन्ने पहिलो व्यक्ति हुन् । उनी ०२८ मा जन्मिएका थिए । उनले ०५२ देखि अभिवक्ता र ०५६ देखि अधिवक्ता भई निरन्तर कानुन व्यवसायी भएर काम गर्दै आइरहेका छन् । उनी ०७४ सालदेखि मेलमिलापकर्ताको रूपमा रसुवा जिल्ला अदालतमा सूचीकृत भएका थिए भने ०६९, ०७१ र ०७३ देखि हालसम्म रसुवा जिल्ला अदालतका लागि वैतानिक वकिल रहेका छन् । रसुवा जिल्लाबाट पहिलो न्यायाधीश बन्ने अवसर पाएका फुर्पाले ०७१ असारदेखि ०७२ मङ्सिरसम्म नेपाल सरकारले गठन गरेको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सदस्य एवम् प्रवक्ता भई काम गरेका थिए । डाक्टर बन्ने इच्छा राखेका फुर्पाको घरायसी आर्थिक अवस्था कमजोर भएका कारण कानुन विषय अध्ययन गर्न पुगेका थिए । उनले रसुवा मावि धुन्चेबाट ०४६ लमा एसएलसी उत्तीर्ण गरेर काठमाडौं बहुमुखी क्याम्पसबाट ०५१ मा आइएल, ०५४ मा नेपाल ल क्याम्पसबाट बिएल, ०६८ मा त्रिचन्द्र क्याम्पसबाट स्नातकोत्तरतह (एमए समाजशास्त्र), ०७१ मा नेपाल ल क्याम्पसबाट एमएलएम उत्तीर्ण गरेर औपचारिक शिक्षा हासिल गरेका छन् ।