हाम्रा कुरा : सत्तासमीकरणका बाङ्गा–टेढा रेखा

नेपालका ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले गत ०७५ जेठ ३ मा पार्टी एकीकरणपश्चात् बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशलाई स्थिरता र समृद्धितर्फ लैजान खोजेको थियो । चिराचिरामा विभक्त कम्युनिस्ट पार्टीलाई दुई ठूला कम्युनिस्ट पार्टीको ०७४ को मिलनले नेपाली जनतामा आशा पलाएको थियो । स्थापनादेखि नै मिल्न नसक्ने कम्युनिस्ट नेताको प्रवृत्तिकै कारण उक्त मिलन दिगो बन्न सकेन । त्यो परालको आगोजसरी ह्वार्र बल्यो, झ्याप्प निभ्यो । जनतामा पलाएको आशा र समृद्धिको चाहनामा तुषारापात भयो । देशमा दुई कम्युनिस्ट पार्टीको एकीकरण टुङ्गोमा नपुग्दै टुटेपछि राजनीतिक अस्थिरता बढ्यो, देशमा खैलाबैला मच्चिएको छ ।

     कम्युनिस्टको दुईतिहाइको सरकार हुँदाहुादै अल्पमतमा प¥यो र वर्तमान सत्तासमीकरण अनौठो बाटोबाट अगाडि बढ्न खोजिरहेको छ । दैनिकजसो नयाँनयाँ सोच्दै नसोचेको राजनीतिक घटना, परिघटना र सत्तासमीकरणको अनौठो प्रयोगतर्फ देश उन्मुख छ । अहिले देशको सत्तासमीकरणको गति टेढोबाङ्गो बाटोमा अगाडि बढिरहेको छ । पञ्चायती व्यवस्थामा हुने समूहगत राजनीति, बहुदलीय व्यवस्था सुरुसँगै झाँगिएको गुट–उपगुटले नेपाली काङ्ग्रेसलाई दुई दशक नपुग्दै बढा¥यो । कम्युनिस्ट पार्टीमा पनि त्यो भाइरस कोरोनाको भन्दा तीव्र गतिमा फैलिँदा अहिले देशको अवस्था अस्थिरतामा परिणत भइरहेको छ । नेपालका कम्युनिस्ट बरु आफू मेटिएर जाने, तर अरूलाई कुनै हालतमा स्वीकार नगर्ने नमिल्ने प्रवृत्तिले जनतामा उर्लिएको कम्युनिस्ट लहर नेतृत्वमा रहेकाले बुझ्न नसक्दा कम्युनिस्ट नीति सिद्धान्त अस्ताउने अवस्थामा पुग्न लागेको छ ।

     पार्टीमा लगाएको डढेलाले कम्युनिस्ट त सिद्धिने अवस्थामा पुगे–पुगे देशले पनि राजनीतिक सङ्कट व्यहोर्नुपरेको छ । सत्तासमीकरण एमाले र माओवादी केन्द्रको विग्रहबाट नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक चलखेल गर्ने अवसर पाए । एमाले, माओवादी केन्द्र, नेपाली काङ्ग्रेस र जसपा बहुमतको सरकार बनाउन क्रियाशील रहेका छन् । राजनीतिक दौडमा जो अघि जान सक्छ उही सत्तामा पुग्ने वा रहने हो । यो नै सर्वमान्यताको आधार हो । अबको सत्ता अवस्था प्रतिस्पर्धाका आधारमा स्थापित हुने सम्भावना देखिएको छ । गणतन्त्र स्थापनामा सात दशक आन्दोलन गरेका दल सत्ता प्राप्तिको अस्वस्थ खेलले गणतन्त्रको जग धर्मराएको छ । यसले जनतामा वर्तमान राजनीतिक व्यवस्थाप्रति वितृष्णा जगाएको छ । दलहरू सत्तामा पुग्ने मात्र होइन देशको भलाइ के गर्दा हुन्छ भन्नेतर्फ सोच्न सक्नुपर्छ, यसैमा सबैको हित हुनेछ ।