सहिद भरत ढुङ्गाना स्मृतिग्रन्थ सार्वजनिक

काठमाडौं, सहिद भरत ढुङ्गानाको स्मृतिग्रन्थ सार्वजनिक भएको छ । गत बिहीबार स्मृतिग्रन्थ सार्वजनिक गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढुङ्गाना लोकप्रिय, जनताको कामका लागि सबै चिज त्याग्न सक्ने नेता भएको बताए । उनले स्वर्गीय ढुङ्गाना आफ्नो विचार र क्रान्तिप्रति निष्ठावान भएकै कारण जनप्रिय भएको टिप्पणी गरे । ढुङ्गानाको लोकप्रिय कार्यशैली, आफूभन्दा फरक विचार राख्ने व्यक्तिसँग सहजै अन्तक्र्रिया गर्न सक्ने क्षमता मौलिक भएको र यो सबैका लागि शिक्षाप्रद भएको उनले बताए । प्रचण्डले ढुङ्गानाको हत्याले तत्कालीन पार्टी र क्रान्तिमा अतुलनीय क्षति पुगेको, तर प्रतिक्रियावादीविरुद्धको लडाइँमा ढुङ्गानाको योगदानले ठूलो ऊर्जाको काम गरेको र राजनीतिक परिवर्तनमा ठूलो भूमिका खेलेको स्मरण गरे ।

     नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लवका नेता अनिल शर्मा विरहीले शास्त्रार्थ गर्ने प्रस्ताव राखेपछि प्रचण्डले स्वीकार गर्दै शास्त्रार्थमा आफू हारे पछि लाग्न तयार रहेको बताए । ‘शास्त्रार्थ गरौँ, जसले जित्छ, त्यसैलाई सबैले मानौँ । म शास्त्रार्थको निम्ति तयार छु । तपाईंहरूलाई लागेको छ, सबै मैले गुमाइदिएँ, तपाईंले जित्नुभयो भने म तपाईंहरूको पछि लाग्छु । मलाई केही डर छैन,’ उनले भने । शास्त्रार्थ गरे सबै पक्ष एकै ठाउँमा आउने उनको विश्वास थियो । ‘पूर्वीय दर्शनको शास्त्रार्थमा प्रवेश गरौँ, हप्ता–दश दिन शास्त्रार्थ गरेरै बसौँ बरु र एउटा निष्कर्ष निकालौँ । वैज्ञानिक समाजवादको निम्ति, साम्यवादको निम्ति तपाईंहरूसँगै लड्न म तयार छु । मेरो विचारमा ल लडिराखेको छु, तपाईंहरूको विचारमा तपाईंहरू लडिराख्नुभएको छ । साँच्चै के चाहिँ हो, त्यसको शास्त्रार्थद्वारा निष्कर्ष निकालौँ । मलाई लाग्छ, हामी एकै ठाउँमा आउँछौँ,’ प्रचण्डले भने ।

     कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले ढुङ्गाना फरक राजनीतिक दृष्टिकोण, फरक विचार, फरक धारको भए पनि अन्योन्याश्रित सम्पर्क र सम्बन्ध रहेको स्मरण गर्नुभयो । स्वर्गीय ढुङ्गाना फरक विचारधारा भएकासँग पनि सहज सम्बन्ध स्थापित गर्न सक्ने नेता भएको बताए । राजनीतिक दर्शन, वादप्रतिवाद र लोकतन्त्रका प्रक्रियाका विविधतामा ढुङ्गाना घुलमिल हुन सक्ने नेता भएको उनको भनाइ थियो । सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने सांसद हितबहादुर तामाङले सहिद ढुङ्गानाको योगदान पछिल्लो पुस्ताका लागि मार्गदर्शन भएको बताए । सहिद ढुङ्गानाले जिल्ला विकास समितिको सभापति पद त्यागेर भूमिगत जीवनका लागि आएको स्मरण गर्दै नेता तामाङले ढुङ्गाना अस्थिर स्वभावको नभई गतिशील स्वभावको भएको बताए । पार्टी र क्रान्तिप्रति समर्पित ढुङ्गाना अवस्थाअनुसार आफूलाई बदल्न सक्ने नेता भएको तामाङले स्मरण गरे । ढुङ्गाना अवसरवादी भएको भए पद–प्रतिष्ठा त्यागेर क्रान्तिमा होमिन नसक्ने उनको भनाइ थियो ।

     कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता, लेखक एवम् साहित्यकार अनिल शर्मा ‘विरही’ले सहिदको सपना पूरा नभएको भन्दै संसदीय व्यवस्थाभित्रका सबै प्रयोग हेरिसकेकाले यो व्यवस्था असफल भएको बताए । नेता विरहीले पूर्वीय दर्शमा देशभित्रको विवादलाई शास्त्रार्थको माध्यमबाट हल गर्न सकिने उल्लेख गरे । ‘आफ्नो देशभित्र शासन प्रणाली कस्तो हुने ? कुन विचार र संस्कृतिबाट शासन गर्ने भन्ने कुरा शास्त्रार्थको आधारमा गरिन्छ । पूर्वीय दर्शन मान्ने हो भने शास्त्रार्थमा जसले जित्छ त्यो विचारको आधारमा शासन प्रणाली अपनाऔँ । नेपालको राजनीतिक अन्योल, शासन व्यवस्था पुँजीवादी कि वैज्ञानिक जनतालाई छान्न दिनुपर्छ,’ उनले भने । पूर्वीय दर्शन मान्ने हो भने सशस्त्र बल प्रयोग गर्नुहुँदैन भन्ने उनको भनाइ थियो । ‘यदि कसैले हामीसँग बन्दुक छ, त्यसैले हामीले पूर्वीय दर्शन, संस्कृति र नागरिक अधिकारलाई मान्दैनौँ भन्छ भने बन्दुकको एकाधिकारलाई तोड्ने अधिकार नागरिकलाई हुन्छ,’ उनले भने ।
उक्त कार्यक्रममा नेकपा एमालेका युवा नेता एवम् बागमती प्रदेश सभाका सदस्य केशव पाण्डेले ढुङ्गाना जनताबीच लोकप्रिय भएको चर्चा गर्दै जिल्ला सभापतिमा पार्टीको निर्णय नभई कार्यकर्ताको निर्णयले निर्वाचित भएको स्मरण गरे । ढुङ्गानालाई माओवादीमा जान रोक्न विभिन्न प्रयास गरिए पनि उनी आफ्नो आत्मनिर्णयमा अडिग रहेको र कसैले रोक्न नसकेको उनले बताए । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता दिनेश शर्मा ‘सागर’ले सहिद ढुङ्गानाको स्मृतिग्रन्थले नयाँ पुस्ता योद्धाको इतिहास समेट्न सक्ने उल्लेख गरे । उनी विचारप्रति कटिबद्ध नेता भएको स्मरण गर्दै नेता शर्माले परिवर्तनका निम्ति उनले गरेको योगदानको पुष्टि भएको बताए । कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले ढुङ्गाना क्रान्तिकारी योद्धा भएको स्मरण गर्दै क्रान्तिको नेतृत्व गर्नेहरू सहिदको सपना बिर्सेर संसदीय भासमा डुबेको उल्लेख गरे ।
नेता ढुङ्गानाको ०५९ साल असार ३१ गते धादिङको गुम्दीमा तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो । ढुङ्गानासँगै अनेरास्ववियु (क्रान्तिकारी)का नेता वैकुण्ठ पोखरेलको पनि हत्या भएको थियो । लेखक नारायण नेपालले

      सङ्कलन तथा सम्पादन गरेको स्मृतिग्रन्थ कम्पन मिडिया प्रा.लि.ले प्रकाशन गरेको हो । पुस्तकमा विभिन्न नेता तथा सहकर्मीको संस्मरण, नेता ढुङ्गानाका अन्तर्वार्ता, लेख, जिल्ला विकास समितिको सभापति हुँदा भएका निर्णय तथा कार्यक्रम, विभिन्न व्यक्तिसँगको अन्तर्वार्ता सङ्ग्रहित गरिएको छ ।

तस्बिर : सबिन धमला, न्युज एजेन्सी नेपाल