मानव बेचबिखनको स्वरूप परिवर्तन

विदुर, केही वर्षअघिसम्म मानव बेचबिखनको नामले दुर्नामी कमाएको नुवाकोटमा स्थानीय र सङ्घ–संस्थाको कारण मानव बेचबिखन घटेकोजस्तो देखिए तापनि अहिले स्वरूप परिवर्तन गरेर भइरहेको छ ।

      नेपाल तामाङ घेदुङको आयोजना र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ नुवाकोटको समन्वयमा भएको मानव बेचबिखन तथा ओसार–पसारविरुद्ध र सुरक्षित स्थानान्तरणसम्बन्धी भएको अन्तत्र्रिmया कार्यक्रममा सहभागीले मानव बेचबिखनको स्वरूप मात्रै परिवर्तन भएको बताएका छन् । एक दशकअघिसम्म नुवाकोटको घ्याङफेदीबाट चेलिबेटी बेचबिखन हुने गरेको थियो । तर, अहिले जिल्लाका धेरै गाउँटोलका कलिला बालबालिका तथा वयस्क उमेरका नागरिक श्रमशोषणको उत्पीडनमा पर्न थालेका छन् । तामाङ भाषा बुझ्ने र सामान्य नेपाली भाषा बोल्ने नागरिकलाई वैदेशिक रोजगारीको नाममा शोषण हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार नुवाकोटबाट दुई सयभन्दा बढी नागरिक हराएको तथ्याङ्कले देखाएको छ ।

      प्रहरीको तथ्याङ्कअनुसार केही नागरिक आफैँ घर फर्किएको, केही वैदेशिक रोजगारीको नाममा विभिन्न मुलुकमा पुगेको तथ्याङ्कले देखाउँछ । रोजगारी र धेरै पैसा कमाउने लालच देखाएर वैदेशिक रोजगारीको बहानामा शोषण हुने गरेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताए । कार्यक्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामाले नपढेका र आर्थिक स्तर कमजोर भएका व्यक्तिलाई विभिन्न माध्यमबाट गिरोहले फसाएर अन्तर्राष्ट्रिय बजारमा पु¥याउने गरेको बताए । वैदेशिक रोजगारीको नाममा कानुनी प्रक्रिया पु¥याएर नै मानव ओसारपसार भइरहेको उनले बताए ।

      कार्यक्रममा म्यागङ गाउँपालिका उपाध्यक्ष शान्ति तामाङले जिल्लाभित्र विभिन्न गैरसरकारी संस्थाले यस विषयमा कार्यक्रम सञ्चालन गरिरहे तापनि त्यसको नतिजा सन्तोषजनक नआएको बताइन् । पुरानै तथ्याङ्क र पद्धतिमा सञ्चालन भएका कार्यक्रमले छिटो नतिजा नआउने बताउँदै आगामी दिनमा स्थानीय तहसँग सहकार्य गरी नयाँ पद्धतिको कार्यक्रम विस्तार गर्नुपर्ने उनको धारणा थियो । समस्याको जड पहिचान गरी त्यसको निवारणका लागि स्थानीय तहले गैरसरकारी संस्थासँग सहकार्य गर्न खोजेको, तर गैरसरकारी सङ्घ–संस्थाले मनोमानी ढङ्गले कार्यक्रम सञ्चालन गर्ने र पालिकासँग सम्पर्कविहीन हुने गरेको उनले बताइन् ।

      कार्यक्रममा सहभागी भएकाले पछिल्लो समय कलिला बालबालिकाको संस्थागत सुधारसँगै स्थानीय समुदायभित्रैका नागरिक सचेत हुनुपर्ने बताएका थिए । समस्याको पहिचान भए तापनि कमजोर आर्थिक अवस्थाका कारण कलिलै उमेर उमेर बढाएर नागरिकता लिने काम भइरहेकाले पनि मानव बेचबिखन कार्यमा जनप्रतिनिधि र सरकारी निकायको अप्रत्यक्ष रूपमा सहयोग भइरहेको छ ।