राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना

  • रामहरि न्यौपाने

बेलकोटगढी, नुवाकोटको बेलकोटगढी नगरपालिकामा ‘राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र’को प्रादेशिक कार्यालय शनिबार स्थापना गरिएको छ । कार्यालय स्थापनाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण र परामर्शसमेत दिइएको थियो ।

       बेलकोटगढी नगरपालिका– १० बेलकोटको नमुना कृषि सहकारी संस्थाको भवनमा ‘राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र’को कार्यालय स्थापना भएसँगै सेवाग्राहीलाई आयुर्वेद औषधिको उपलब्धता, आयुर्वेदसम्बन्धी अनुसन्धानसहित तालिम प्रवाह गरिने भएको छ । केन्द्रको उद्घाटन गर्दै बागमती प्रदेश सभाका प्रमुख सचेतक केशव पाण्डेले किसानका खेतबारी र वनजङ्गलका जडीबुटीको उपयोगदेखि बिरामी हुँदा प्राकृतिक उपचार विधिको सेवा पाउन नगरसहित जिल्लावासीलाई सहज हुने विश्वास व्यक्त गरे । उनले भने, ‘कोरोना कहरको समयमा प्राकृतिक औषधि एवम् जडीबुटी तथा आयुर्वेदिक औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढेको उल्लेख गर्दै चिकित्सा पद्धतिको सट्टामा आयुर्वेदिक औषधिको उपयोग मानवीय स्वास्थ्यका लागि निकै हितकार हुनेछ ।’

        केन्द्र सरकारअन्तर्गत प्रत्येक प्रदेशमा एक–एकवटा आयुर्वेद अनुसन्धान केन्द्र तथा त्यससम्बन्धी औषधि बिरामीलाई सहज रूपमा उपलब्ध गराउने कार्यक्रमअन्तर्गत नुवाकोटमा कार्यालय स्थापना भएकाले यसबाट यहाँको जनता र यहाँको जडीबुटी खेतीको प्रवद्र्धनमा सहयोग पुग्ने बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताए । उनका अनुसार नगरको विशाल भूगोल (१५५ वर्गमिटर) क्षेत्रफल रहेको र समुद्री सतहको पाँच सयदेखि दुई हजार दुई सय मिटर उचाइ क्षेत्र पर्ने हुँदा मौसम र हावापानी सुहाउँदो जडीबुटीको व्यावसायिक खेतीतर्फ उत्प्रेरणा जगाउन नगरले विशेष कार्यक्रम सञ्चालनको योजना बनाएको छ ।

         कार्यालय स्थापनाको अवसरमा नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. धनिकलाल भरखेर र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामअधार यादवले आयुर्वेदिक चिकित्सा पद्धतिलाई वैकल्पिक नभई मूल धारमा ल्याउन प्रभावकारी भूमिका पुग्ने विश्वास व्यक्त गरे । प्रादेशिक केन्द्रमा आयुर्वेद चिकित्सक, कविराजसहितको कर्मचारीमार्फत अबदेखि नियमित सेवा उपलब्ध भइरहेको छ । नुवाकोट र विशेषगरी बेलकोटगढी नगरपालिकामा पाइने जडीबुटीको अध्ययन, अनुसन्धान, जडीबुटी खेतीको प्रवद्र्धन, आयुर्वेदिक औषधिको उपयोगका फाइदा र यससम्बन्धी प्रचार–प्रसार गर्दै तालिमसमेत उपलब्ध गराउने जानकारी केन्द्रले दिएको छ ।
केन्द्रको स्थापना भएसँगै उक्त कार्यालयले आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा तीन सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा आयुर्वेद चिकित्सकमार्फत सामान्य चिकित्सा, स्त्रीरोगसम्बन्धी उपचार, फिजियोथेरापी, पञ्चकर्म, पायल्स, फिस्टुला, दन्त उपचारलगायतका सेवासहित निःशुल्क औषधि र परामर्शसमेत उपलब्ध गराइएको थियो ।