हाम्रा कुरा : नेता–जनताको दूरी बढ्दै

संसारमा सबै नराम्रो मात्र छैन । राम्रो नराम्रो परिवेश आफुले बनाउने हो । समाजले बनाउने हो । सर–संगतिले बनाउने हो । संगति र बिसंगतिको चयन आफूले गर्ने हो । उहीँ, उस्तै भूमि, आज सिंगापुर कस्तो छ । उहीँ, उस्तै भूमि चीन हेरौं । इटाली, फ्रान्स, बेलायत, अमेरिका, जर्मनी, धेरै टाढा जानुपरेन दक्षिण एसियाका मुलुक भारत, श्रीलंका, बंगलादेश पनि हामी भन्दा धेरै अगाडी रहेको छ । विश्व अर्थ ब्यवस्थामा हातोमालो गर्दै अगाडी बढेका छन् । ठूलठूला महायुद्धका बाछिटाले तिनलाई नसताएको होइन । जापान हेरौं , बमको धुँवाले हिरोसिमा, नागासाकी के भयो ? भारत र चीनको आर्थिक बृद्धिदर बढ्दो छ । हाम्रो देशमा १ सय ३ वर्षको राणाकाललाई सराप्दै इतिहासको ठेली बन्यो । पछिल्ला दिनमा हिजोकोलाई आजकाले गाली गर्दै दिन बिताए । आज आजैकालाई सत्तोश्राप गर्दै छन् । राणाशासनको पञ्जाबाट मुक्त भएको भनिएको पनि सात दशक भयो, समस्या उस्तै छन् । ३० वर्ष पञ्चायतले बिगा¥यो भन्थ्यौ, बहुदल आएको पनि ३० वर्ष नाघिसक्यो, अवस्था उस्तै । आखिर बहुदल आयो, गणतन्त्र आयो, जनता दुब्लाए, नेता मोटाए, देश झनै गरिवी बढ्दै गयो । अन्त्यमा उहीँ रोग, भोक, क्रन्दन, चित्कार, नाना, खाना, छानाकै समस्यामा जनता । देशमा ब्यवस्था परिवर्तन भएपनि उत्पादकत्व नबढ्दा १४ खर्बको आयात हुँदा १ खर्ब बराबरको सामान निकासी हुन धौंधौं परेको छ ।

      संसारका अगाडी गरिवै भनेर चिनिरहँदा, नेताहरूको सामन्ती जीवनशैली, भद्दा राजनीतिक संयन्त्र, बिलासी जीवनलाई के भन्ने ? जति जोगी आए पनि सबै कान चिरिएका भन्दै आम जनसमुदायमा निराशा बढेको छ । प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र गणतन्त्र आखिर नाम फेरिए, बानी ब्यवहार फेरिएन कहीँ कतैको । आम नागरिकले ढिँडो, पिठो पेटभरी खान पाएका छैनन् । स्वास्थ्य, शिक्षा महँगो छ । पानीको धनी देशमा बिजुलीको भाउ सही नसंक्नु छ । सातामा दुई पटकसम्म इन्धनको भाउ बढ्छ । जनता दलका दास बनेका छन् । मासुभातकै लागि सडकमा ओर्लन्छन्, भोट हाल्न लामबद्ध हुन्छन् । नेतामा न भिजन छ, न मिसन वा एक्सन नै । यदि यी तीन तत्व छन् भने सत्ता स्वादमा मात्रै । उद्घाटन नै उद्घाटनले पूर्वदेखि पश्चिमसम्मै दिनदिनैको दौडाहा प्रतियोगिता भईरहन्छ । तर निर्माण कार्य दशक बित्दा समेत उस्तै रहन्छ ।

     हाम्रो संसद खुल्छ, भत्ता र सत्ताका लागि । सरकार बनाउने, सरकार पल्टाउने अंक गणितीय खेलका लागि र संसद् नखुल्दा पनि तलब सुविधामा कटौती हुन्न । यही छ फरक हुने खाने र हुँदा खानेको अनि विकासशील, विकसित र दरिद्रताले छाएको अल्पविकसितको । त्यसैले कोही मोटाए धेरै, कोही दुब्लाएर सिकुटे भए भन्नुपरेको हो । संसद् ब्युँतिएको छ तर जनताका जनजिविकाका विषयमा बहस भएन । कहिले नाराबाजीमै बन्द भयो त, कहिले केबल शोक प्रस्तावमै सिमित बन्यो । शक्ति संघर्षमा मात्रै संसद अलमलिएको छ । मूल्यबृद्धिले आकाश छोएको छ । जनताको दैनिक कष्टकर बनेको छ । यसले नेता र जनताको सम्बन्ध टाढिंदै गएको छ ।