एक करोड लगानीमा कालिज पालन
धादिङवेंशी, राजनीतिक अस्थिरता र बेरोजगारबाट निरास युवाको लागि आशालाग्दो ब्यवसाय धादिङका दुई युवाले शुरू गरेर गरीखाने उदाहरणीय बनेका छन् । राजनीति स्थिर होला देशले विकासको गति समाउँला र रोजगारी पाईएला भनेर पर्खेका युवालाई देशभित्रै ब्यवसाय गरेर आय–आर्जन गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् धादिङका बामदेव अधिकारी र सुदर्शन कोइराला ।
अधिकारी र कोइरालाले धादिङ जिल्लाको सदरमुकाम धादिङवेशीबाट ६ किमी नजिक निलकण्ठ नगरपालिका वडा नं.७ निबुवा स्वाराको हिटी भन्ने स्थानमा विगत दुई वर्षदेखि १ करोड भन्दा बढिको लगानीमा कालिज फार्म सञ्चालन गरिरहेका छन् । नाताले दाजुभाई पर्ने यी दुई उद्यमीले शुभारम्भ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर अन्य युवाको लागि प्रेरणाको स्रोत बनिरहेका छन् । ११ रोपनी क्षेत्रफलमा अधिकारी र कोइरालाले चिटिक्क पारेर बनाईएका टहरामा एक हजार भन्दा बढि कालिज खेलिरहेका लोभलाग्दो दृश्य अहिले देखिन्छ । डाँडामा प्राकृतिक बासस्थान जस्तै निर्माण गरेर सञ्चालन भईरहेको फार्ममा दुई वर्ष अगाडी २ सय ५० वटा कालिजको चल्लाबाट शुरू भएको यो फार्ममा अहिले १ हजार ३ सय भन्दा बढि कालिज रहेको सञ्चालक अधिकारीले बताउनु भयो ।
प्राकृतिक वातावरणमा गरिएको कालिज फार्मलाई चारैतिरबाट तारले घेरिएको छ । कालिज फार्म धादिङ जिल्लाकै पहिलो फार्म भएको दाबी उनले गरेका छन् । यो फार्मबाट कालिजका चल्ला लगेर अन्यत्रका युवाले ब्यवसायिक कालिज पालन समेत गरिरहेका छन् । उनीहरूले कालिजको चल्लासँगै ब्यवसायिक परामर्श र प्राविधिक सहयोग समेत गर्दै आईरहेका छन् । जिल्लामा कालिज ब्यवसायलाई बिस्तार गर्ने अभियानमा अधिकारी र कोइराला लागि परेका छन् । त्यस फार्ममा भविष्यमा रिसोर्ट सञ्चालन गर्ने उद्देश्यका साथ भौतिक संरचना निर्माण गरिरहेको सञ्चालक अधिकारीले बताउनु भयो । अहिले फार्मबाट कालिजको ब्यवसायिक उत्पादन समेत शुरू भईसकेको छ । फार्मबाट उत्पादित कालिजको अण्डा र कालिज ३५ लाख रूपैयाँ भन्दा बढिको बिक्री भईसकेको छ । दुई उद्यमीले आफ्नो र बैंकको ऋण गरेर एक करोड भन्दा बढि लगानी गरेका छन् ।
नेपालमा कालिज फार्मको ब्यवसायीक शुरूवात खुला सरकारले गरेपछि ब्यवसाय शुरू गरेको अधिकारी र कोइरालाले शुरूमा १ हजार ८ सय रूपैयाँमा युरोपको इटालीबाट २ सय ५० वटा चल्ला किनेर ल्याएका थिए । उनीहरूले फार्ममा त्यसपछि पनि चल्ला थप्दै लगेका थिए । अहिले एउटा कालिजको ३ हजनार ५ सय रूपैयाँसम्ममा बेच्ने गरेको सञ्चालक अधिकारीले जानकारी दिनुभयो । फार्ममा एकै प्रजाति (रङ नेक)का कालिज छन् । यस प्रजातिको कालिजले चैत, बैंशाख र जेठको सिजनमा अण्डा पार्छ । एक सिजनमा ४० देखि ५० वटासम्म अण्डा उत्पादन गर्छ । यहाँ उत्पादित कालिज राजमार्गका होटल र आसपासका जिल्लामा बिक्री हुने गरेको छ । कालिजलाई जिवितै ओसार–पसार गर्न नेपालमा प्रतिबन्ध लगाइएको छ । त्यसैले यसको मासु मात्र बिक्री वितरण हुने गरेको छ । सुत्केरी र युरिक एसिडका बिरामीका लागि कालिजको मासु निकै उत्तम मानिन्छ । युरोपमा त चिकित्सकले यसको मासुलाई औषधीकै रूपमा प्रयोग गर्न सल्लाह दिने गरेका छन् । नेपालमा पनि अचेल यसको बिक्री वितरण बढ्दै गएको छ ।
ब्यवसायिक कालिज फार्मको सुरूवात गरिरहेका अन्य साथीभाइको संगतले अधिकारीलाई पनि कालिज पालन गर्ने हुटहुटी जागेको रहेछ । अचेलका युवाको मानसिकता नै जसरी हुन्छ विदेश जाने बनिरहेको छ । तर यी दुई उद्यमी स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । रचनात्मक सोच राखी स्वदेशमै केही गर्न उहाँहरू अन्य युवालाई सुझाव दिईरहेका छन् ।अधिकारीले परिचय यो ब्यवसायमा मात्र सिमित छैन । उहाँ पद्यमकन्या क्याम्पसमा अध्यापन गराउनु हुन्छ । नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय हुनुहुन्छ । जीपी कोइराला फाउन्डेसन धादिङको अध्यक्ष पनि हुनुहुन्छ । अधिकारीले त्रिभुवन विश्व विद्यालय र नेपाल संस्कृत विश्व विद्यालयबाट दुईवटा विषयमा स्नातकोत्तर हासिल गर्नुभएको छ । उहाँको ब्यवसायमा साझेदार सुदर्शन कोइराला पनि पेशाले अवकाश प्राप्त सैनिक हुनुहन्छ । राष्ट्र सेवाबाट अवकाश पाएसँगै विदेश भौतारिने संस्कारलाई पन्छाउँदै आफ्नै देशमा केही गर्ने जोस्का साथ उहाँ पनि कालिज पालनमा लाग्नुभएको छ ।