रसुवा–नुवाकोटमा भुमि समस्या समाधान आयोगले नाम संकलन थाल्यो

विदुर, भुमि सम्बन्धी समस्या समाधान आयोग नुवाकोट र रसुवाले भुमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अब्यवस्थित बसोबासको ब्यवस्थापन गर्नको लागि निवेदन मागेको छ । निवेदनको आधारमा विवरण तयार गर्ने बताईएको छ ।

      आयोगको नुवाकोट कार्यालयले जिल्लाको तारकेश्वर, म्यागङ, किस्पाङ, लिखु, तादी, दुप्चेश्वर, सुर्यगढी, पञ्चकन्या गाउँपालिकामा सहजिकरण समिति गठन गरी इकाई कार्यालय स्थापना गरेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ । जिल्लामा आयोगको कार्यालय स्थापना भएको एक महिनामा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम सकेर पालिकासँग सम्झौतापछि पालिकास्तरमा सहजिकरण समिति गठन र इकाई कार्यालय स्थापना गरिसकेको भुमि सम्बन्धी समस्या समाधान आयोग नुवाकोटकी अध्यक्ष बिन्दा ढुंगानाले जानकारी दिनुभएको छ । जिल्लाको ९ वटा पालिकामा रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास गरिरहेकाले ३५ दिनभित्र

      निवेदन दिन सूचना जारी गरी काम अगाडी बढाईसकेको अध्यक्ष ढुंगानाले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो ।
त्यसैगरी, भुमि सम्बन्धी समस्या समाधान आयोग रसुवाले जिल्लाको उत्तरगया, कालिका, गोसाइँकुण्ड, नौकुण्ड, पार्वतीकुण्ड गाउँपालिकामा भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई ३५ दिने सूचना जारी गरेर निवेदन माग गरेर विवरण संकलन थालेको छ । रसुवाको ५ वटै पालिकामा सहजिकरण समिति गठन भईसकेको छ ।