त्रिशूली अस्पताल देशभरकै उत्कृष्ट

कोलनी, सरकारी अस्पतालको गुणस्तर सुधारका लागि न्युनतम सेवा मापदण्डमा उच्च अंक ल्याई नुवाकोटको त्रिशूली अस्पताल देशैभरीकै उत्कृष्ट भएको छ ।

       मापदण्डको एकसय अंकमा त्रिशूली अस्पतालमा ८८ अंक प्राप्त गरेको छ । यो नेपालकै अस्पतालको सेवा गुणस्तर र अन्य सेवा मापदण्डको सबै भन्दा धेरै हो । गत मंगलबार स्वास्थ्य निर्देशनालय हेटौंडाले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य विभागले सो घोषणा गरेको हो । स्वास्थ्य विभागको सामाजिक सेवा महाशाखाका निर्देशक रोशनी तुईतुईले अस्पतालको गुणस्तर र सेवाको आधारमा उत्कृष्ट भएको बताईन् । जिल्ला अस्पतालमा आइसियु सञ्चालन हुने भन्ने असम्भव जस्तै रहेको नेपालको अवस्थामा त्रिशुली अस्पतालले ब्यवस्थित रुपमा आइसियु सञ्चालन गर्नु देश भरीका लागि आशा लाग्दो सन्देश रहेको स्वास्थ्य विभागको सामाजिक सेवा महाशाखाका निर्देशक रोशनीले बताउनुभएको छ । भौतिक संरचनादेखि सेवा प्रदानमा समेत त्रिशूली अस्पताल लोभलाग्दो रहेको उहाँको भनाई थियो ।

       त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट (प्रमुख) डा.दिपेन्द्र पाण्डेले त्रिशूली अस्पतालको मात्रै नभई यो सिङ्गै सरकारी स्वास्थ्य सेवाको परिक्षण भएको र सरकारी स्वास्थ्य सेवाले पनि नागरिकलाई आशा जगाएको बताउनुभएको छ । स्वास्थ्य निर्देशनालयले त्रिशूली अस्पतालको विभिन्न पक्षको परिक्षण गरेको थियो । बिरामीलाई प्रदान हुने सेवा देखि कर्मचारीको आन्तरिक ब्यवस्थापन, श्रोत बाँडफाँड र भौतिक संरचना र पुर्वाधारको अवस्थाको बारेमा अनुगमन टोलीले जाँच गरेको थियो । यो नुवाकोटको लागि गौरवको विषय रहेको त्रिशूली अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताउनुभएको छ । अस्पताल उत्कृष्ट हुनुमा जिल्लाका सबै सरोकारवालाको सकरात्मक सहयोग र साथ रहेको मेडिकल सुपरिटेन्डेण्ट डा.पाण्डेले प्रतिक्रिया दिनुभयो ।