नुवाकोटको ऐतिहासिक सम्पदा टेकोकै भरमा
विदुर, भूकम्प गएको ५ वर्ष बितिसंक्दा पनि नुवाकोटको ऐतिहासिक, पुरातात्विक, धार्मिक सम्पदा अझै टेको र अस्थायी छानाको भरमा रहेको छ । पुरातात्विक सम्पदा कहिलेदेखि पुनःनिर्माण हुन्छ भन्ने जवाफ सम्बन्धित निकायले स्थानीयलाई दिन सकेको छैन ।
विनासकारी भूकम्पपछि नुवाकोटको सार्वजानिक सम्पदाको पुनःनिर्माण गर्न नेपाल सरकारसँग चीन सरकारले सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार चिनियाँ प्राविधिक टोलीले दरवारसहित अन्य सम्पदाको अध्ययन अवलोकन गर्न झण्डै ३ वर्ष लगायो । गत वर्ष चिनियाँ टोलीले काम शुरू गर्ने भनेर आएको थियो । कोरोना महामारी फैलिएपछि उक्त टोलीले दरवारलगायत सम्पदालाई लड्न र भत्कनबाट रोक्न टेको लगाई छानो राखेर छाडेको थियो । त्यसपछि सम्पर्कमा आएपनि निर्माण कार्य भने अगाडी बढ्न अहिलेसम्म सकेको छैन । चीन सरकारले साततले दरवार, तलेजु भवानीको मन्दिर, गारद घर, रंगमहल, दरवार परिसरको नारायण विष्णुको मन्दिर, लामपाटी, भैरवी मन्दिरसँगैको सेतो पाटी पुनःनिर्माण गर्ने सम्झौता गरेको छ । नुवाकोटको ऐतिहासिक एवं धार्मिकस्थल साततले दरबार परिसर क्षेत्रको पुनःनिर्माणमा भएको ढिलाईले जिल्लाको अर्थतन्त्रमा प्रभाव पारेको विदुर नगरपालिकाको मेयर सञ्जु पण्डितले बताउनुभएको छ । भूकम्प अगाडी दैनिक सयौंको संख्यामा आन्तरिक एवं बाह्य पर्यटक आउने दरबार क्षेत्रको समयमा नै पुनःनिर्माण हुन नसंक्दा स्थानीय बजार क्षेत्र सुनसान जस्तै बनेको छ । भूकम्पले क्षतिग्रस्त भएको दरबारको पुनःनिर्माणको लागि सरकारी तहले उपयुक्त चासो नदिंदा दरबार क्षेत्रको पुनःनिर्माणको काम अन्यौलमा रहेको विदुर नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष विरेन्द्रकुमार शाहीले बताउनु भयो ।
चिनियाँ पक्षले दरबार पुनःनिर्माणको सुरुवात गर्ने भने पनि लामो समयदेखि काम शुरू नहुँदा स्थानीयलाई पुनःनिर्माण हुँदैन कि भन्ने पिरलो परेको स्थानीय शिक्षक रामहरी आचार्यले बताउनु भयो । कोरोना भाईरसको संक्रमण, ल्होसारलगायतका कारण चिनियाँ पक्ष काममा फर्किन नसंक्दा समयमा नै दरबार क्षेत्रको पुनःनिर्माण हुने शंका रहेको उहाँले बताउनु भयो । आफ्नै वडामा भएका कारण वडाले दरबार क्षेत्रको संरक्षणको लागि पहल भने गर्दै आएको वडाध्यक्ष शाहीले बताउनु भयो । दरबार क्षेत्रको पुनःनिर्माणको जिमेवारी पाएको चिनियाँ टोलीले सुरुवाती चरणमा दरबार क्षेत्रको संरक्षण गर्ने काम गरेको थियो । त्यसपछि बन्द भएको पुनःनिर्माणको कामको लागि केही समयपछि चिनियाँ पक्ष आउने जानकारी आएको स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय नुवाकोटका प्रमुख अर्जुन फूयालले बताउनुभयो । शनिबार चिनियाँ प्राविधिक टोली आएको उहाँले बताउनु भयो । अप्रिलमा पुनःनिर्माणको अवस्था अध्ययन गर्न विज्ञ टोली आउने र त्यसपछि निर्माण हुने बताएको उहाँले जानकारी दिनुभयो । दरबार पुनःनिर्माणको लागि नागरिकस्तरबाट दबाव दिन नमिले पनि पुरातत्व विभाग र अन्य निकायलाई झक–झकाउनु काम गरिरहेको मेयर पण्डितले बताउनु भयो ।
५ वर्षमा दरबार क्षेत्रको पुनःनिर्माण सम्पन्न गर्ने चिनियाँ पक्षले पुरातत्व विभागलाई प्रतिबद्धता जनाएको मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय नुवाकोटका प्रमुख फूयालले बताउनुभयो । नेपाल र चीनबिच जिटुजी प्रणालीमा सम्झौता भई पुनःनिर्माणको काम चाईना हेरिटेजले गर्दै आएको थियो । तोकिएकै समयावधिमा दरबार क्षेत्रको पुनःनिर्माण सकाउनको लागि चिनियाँ पक्षले पटक–पटक प्रतिबद्धता जनाउँदै आएको छ । कोरोनाको प्रभाव कम हुँदै गएको र रोग विरुद्धको खोप समेत प्रयोगमा आईसकेकाले पुनःनिर्माण छिट्टै शुरू हुने अपेक्षा स्थानीयले गरेका छन् । सार्वजानिक सम्पदाको पुनःनिर्माणको जिम्मेवारी पाएको पुरातत्व विभागको सम्पर्क कार्यालय जिल्लामा नहँुदा ऐतिहासिक तथा धार्मिक स्थलको पुनःनिर्माण सम्बन्धी जिज्ञासाको समाधान नभएको गुनासो स्थानीयले गरेका छन् । नुवाकोटको सम्पदा पुनःनिर्माण गर्ने चिनियाँ टोलीले नै काठमाडौंको हनुमान ढोका दरवार क्षेत्रको सम्पदा पुनःनिर्माण गरिरहेको थियो । कोरोनाको महामारी बढेपछि हनुमान ढोका क्षेत्रको निर्माण काम पनि रोकिएको छ ।