कोरोना संक्रमण बढ्दा लकडाउनको चर्चा

काठमाडौं, नेपालमा कोरोना भाईरस संक्रमण, रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको हिजो एक वर्ष पुगेको छ । सरकारले ठिक एक वर्षअघि गत चैत्र ११ एक साताका लागि लकडाउन गरेको थियो । तर, त्यसको अवधि थपिंदै लगिएको थियो । लकडाउन गरेको वर्ष दिन बित्न नपाउँदै नेपालमा कोरोनाको दोस्रो लहर देखिएको छ । छिमेकी मुलुक भारतमा फेरी कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ । धेरैले प्रश्न गर्न थालेका छन्, नेपालमा के होला ? फेरी लकडाउन होला ?

      शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा.सागरराज भण्डारी गत वर्षझैं लकडाउन घोषणा गर्नु त्रुटिपूर्ण हुने बताउँछन् । ‘कार्यालय, विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनलाई सिफ्टअनुसार सञ्चालन गर्नुपर्छ’, ‘सबै नागरिकले आफ्नो कर्तब्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’ उनका अनुसार नयाँ संक्रमित मात्र होइन, खोप लगाएका ब्यक्तिमा पनि पुनः संक्रमण देखिएको छ । खोप लगाउँदैमा शत प्रतिशत सुरक्षित हुँदैन । संक्रमण हुने र अरूलाई मार्ने सम्भावना कायमै हुन्छ’, त्यसले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना कडाईका साथ गर्नुपर्छ । नागरिकको बढ्दो हेलचेक्राई र बेवास्ताका कारण कोरोना संक्रमणको दोस्रो लहरको जोखिम नेपालमा नियन्त्रण गर्न नसक्ने गरी बढ्ने सम्भावना देखिएको छ । त्यसैले, फेरी एकपटक सबैजना चनाखो हुँदै सावधानी अपनाउनुपर्ने अवस्था आएको छ । मास्क र स्यानीटाइजरको उचित प्रयोग तथा भौतिक दूरीमा विशेष जोड दिएर सावधानी अपनाउन सकिए दोस्रो लहरको कोरोनाबाट बच्न सकिने चिकित्सकले बताएका छन् । छिमेकी देश भारतमा कोरोना भाईरस संक्रमितको संख्या बढ्दै भएपछि नेपालमा पनि संक्रमणको थप जोखिम बढेको हो । यसअघि पनि पहिलो चरणमा भारतमा कोरोना संक्रमितको संख्था बढेसँगै नेपालमा पनि त्यसको अत्याधिक असर देखिएको थियो ।

      यसपटक पनि भारतमा संक्रमितको संख्या अत्याधिक बढ्नु तथा नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने प्रवृत्तिका कारण संक्रमणको दोस्रो लहर आउने जनस्वास्थ्य विज्ञले बताएका छन् । केही दिनयता नेपालको छिमेकी देश भारतमा कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको छ । भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपाल जोखिममा रहेको जनस्वास्थ्य विज्ञ बताउँछन् । जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना नगरे नेपालमा दोस्रो लहर भयावह हुने बताएका छन् । चारतमा कोरोना महामारीको दोस्रो लहर शुरू भईसक्यो । जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गरेर दोस्रो लहर रोकथाम गर्नु जरूरी छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएकाले नेपाल फेरी झस्किएको छ । भारतमा महाराष्ट्र, गुजरात, राजस्थान, पन्जाव र केरलामा संक्रमण उच्च गतिमा बढेको छ । दिल्ली सरकारले होलीका कार्यक्रममा प्रतिबन्ध लगाएको छ भने राजस्थानमा रात्रिकालिन कफ्र्यु लागू गरिएको छ । भारतमा मंगलबार मात्रै ४७ हजार ३९ नयाँ संक्रमित भेटिएका छन् । यो साढे चार महिनायताकै उच्च हो । सोमबार यो संख्या ४० हजार र आईतबार ४७ हजार नै थियो । यसरी पछिल्ला दिनमा कोरोना संक्रमण उच्च भएको छ ।

       जब कि जनवरी, फेब्रुअरीमा यो संख्या १० हजार भन्दा तल झरेको थियो । सोमबार १ सय १७ र आईतबार २ सय १३ जनाको मृत्यु भएको थियो । मृतकको संख्या पनि विगत महिनामा सय भन्दा तल झरेको थियो । भारतमा मात्र नभई विश्वका अन्य देशमा पनि पछिल्लो सातादेखि कोरोना संक्रमण पुनः उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने कुनै पनि किसिमका सभा–सम्मेलन नगर्न सबैलाई अपिल गरेको छ । भारतमा कोरोना संक्रमण दर बढेसँगै मन्त्रालयले आईतबार विज्ञप्ती जारी गरी देशभर कुनै पनि सभा तथा सम्मेलन आयोजना नगर्न अपिल गरेको हो ।