जिल्ला समन्वय ब्याडमिन्टन प्रतियोगिता शुरू सांसद बहादुरसिंह लामासहित ४८ टिम मैदानमा

बट्टार, जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा ‘प्रथम जिल्ला समन्वय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७’ बुधबारबाट शुरू भएको छ ।

      ‘प्रथम जिल्ला समन्वय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७’ मा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संघीय सांसद बहादुरसिंह लामासहित ४८ टिम मैदानमा उत्रे्का छन् । प्रतियोगितामा समूह ‘ए’ बाट १० टिम, समूह ‘बि’ को ‘क’ मा १९ टिम, समूह ‘बि’ को ‘ख’ मा १९ टिमले भाग लिएको जिल्ला समन्वय समितिका प्रवक्ता एवं खेल संयोजक गणेश शाहीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो । खुल्ला डबल प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितिय हुनेलाई १५ हजार र तृतिय हुनेलाई १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनु भयो । खेल प्रतियोगिता नुवाकोट तेक्वान्दो संघको बहुउद्देश्यीय ‘कभर्ड हल’ बट्टारमा चैत ११ गते शुरू भई १३ गते समापन हुनेछ । ३ दिन सञ्चालन हुने प्रतियोगिताको लागि नुवाकोट ब्याडमिन्टन ग्रुपले सहयोग गरेको छ ।

      पछिल्लो समयमा खेलकुदबाट नै राष्ट्रको पहिँचान देखिने गरेको भन्दै देशको पहिँचान बृद्धि गर्ने प्रतिभाको प्रस्फुटनको लागि खेलको आयोजना गरिएको जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख सन्तमान तामाङले बताउनु भयो । ब्याडमिन्टन प्रतियोगिताका लागि झण्डै ५ लाख खर्च लाग्ने कार्यालयले अनुमान गरेको छ । खेल खेल्नु स्वास्थ्यको निम्ती र राष्ट्रको निम्ती पनि फाईदाजनक रहेकाले खेल खेल्नुपर्छ भन्ने भावनाको विकास गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको जिल्ला समन्वय समितिकी उपप्रमुख अप्सरा थापाले बताईन् । बुधबार प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संघीय सांसद बहादुरसिंह लामाले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, तादी गाउँपालिकाका प्रमुख नारायणप्रसाद पाण्डेलगायतले बोल्नुभएको थियो ।