पाँच वर्षदेखिको एमाले फुटाउन प्रचण्डको योजनाबद्ध सक्रियता

ओली र नेपाल मिल्नुको विकल्प छैन

सत्तारूढ नेकपा (एमाले) भित्र एक–अर्काप्रति लगाउँदै आईएको आरोप–प्रत्यारोप र गरिएको कारबाहीको श्रृंखलाले एमाले डढेलोको सिकार भएको बुझ्न कठिन छैन । पार्टी र संसदसँग कुनै पनि छलफल नगरी प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनले पार्टीलाई नै विघटनको संघारमा पु¥याई दिएको छ । ओलीले संसद् विघटन गरेयता कति बेला अविश्वासको मतको सामना गर्नुपर्ने हो भन्ने आशंकामै सरकारले आफ्नो दिन गनिरहेको छ । अर्कोतर्फ ओली समूहले नेपाल–खनाल समूहलाई कारबाही गर्ने र नेपाल–खनाल समूहले ओली समूहलाई कारबाही गर्ने प्रतिस्पर्धाले पनि एमालेलाई विघटनको सँघारमा पु¥याई दिएको छ ।

     विघटनको सँघारमा रहेका र्एमालेका दुवै समूहले २०५२ सालमा बामदेव गौतमले पार्टी फुटाउँदाको हबिगत भोगेको नजिकबाट देखेका पनि छन् महशुस गरेका पनि छन् । गुट, फुट र जुटको विभिन्न आरोप–अवरोह पार गर्दै अघि बढेको एमाले ओली रहँदासम्म फेरी जुटमा पुग्ला र भन्नेमा धेरैलाई आशंका नै छ । मनमोहन अधिकारीको नौ महिने शासनबाट लामो समय ब्याज खाएको एमालेको नेतृत्व यसपटकको सरकारबाट भने आलोचित भएको देखिन्छ । अहिलेको परिस्थिती हेर्दा एमालेमा दुईवटा बाघ एकै ठाउँमा बस्न सक्दैनन् कि जस्तो देखिन्छ । एमाले जनताको पक्षमा काम गर्नं चाहन्छ भने नेतृत्वका बीचमा देखिएको ब्यक्तिगत अहमलाई जसरी पनि नियन्त्रणमा ल्याउनै पर्छ । एमालेका नेता मिल्नुको विकल्प छैन । किनभने एमालेको पहिलो तहका नेताको फुट र विभाजनले देशलाई नै पछाडी धकेल्ने निश्चित छ । अँध्यारो कालो बादलभित्र पनि सेतो चाँदीको घेरा हुन्छ भने जस्तै एमालेमा पनि एकताबद्ध भएर अघि बढ्ने सम्भावना अझै छ । दुवै समूहले पार्टी, कार्यकर्ता र जनताप्रति दायित्वबोध गरेर आत्मा आलोचना गर्दै अघि बढेमा त्यसले नयाँ नजिर स्थापित गर्नेछ । ओलीले आफ्नो महत्वाकांक्षा र अहंकार छाड्ने तथा नेपाल समूहले आफ्नो सानो चित्तलाई पन्छाएरै भए पनि पार्टी एकतालाई मजबुत गर्नेतर्फ लाग्नुपर्छ । महाधिवेशनबाट निर्वाचित नेतृत्वको खिल्ली उठाउने कार्य नेपाल समूहले बन्द गर्नुपर्ने र विरोधीको दोहोलो काढ्ने प्रवृत्ति ओलीले सच्चाएर अगाडी बढे एमालेको विकल्पमा अन्य दल आउन अझै एकदशक पर्खनुपर्छ । चार दशक भन्दा बढी समय दुःख, सुख भोग्दै आरोह–अवरोह पार गरेर सँगै काम गरेर एमालेलाई आजको अवस्थामा ल्याउने नेता नै पार्टी कमजोर पार्न तल्लिन भएपछि कार्यकर्ता निरास बनेका छन् । नेपाली जनताको स्थायी सरकारको चाहनामा तुषारापात भएको छ । समृद्ध नेपालको परिकल्पना सार्थक बनाउन एमालेको विकल्प छैन ।

      अध्यक्ष ओली दुधले नुहाएको नहोलान,् होईनन् पनि तर वरिष्ठ नेता नेपाल–खनाल पनि पटक–पटक कार्यकर्ता र जनताबाट परीक्षण भईसकेका छन् । इतिहासकै ठूलो उपलब्धी दुई तिहाई जनमतको कम्युनिष्ट सरकार असफल हुनुमा वरिष्ठ नेता नेपाल र खनाल दोषी छन् ? पुष्पकमल दाहाल प्रचण्डको उम्साहटमा ओली नेतृत्वको सरकारलाई अंकुश लगाउन दुई वर्षदेखि नेपाल खनाल मतियार बनेको पार्टीका कार्यकर्ता पङ्तीले र नेपाली जनताले राम्रोसँग बुझेका छन् । जनता र कार्यकर्ताको कठघारामा उभिएर उहाँहरू दुवैले आत्माआलोचना गर्दै सच्चिनुको विकल्प छैन । एमाले फुटाएर कमजोर बनाउनु भनेको कम्युनिष्टप्रतिको जनताको आस्थालाई मेटाउनु हो । एमालेको नेताले संयमित भएर एक–अर्काको बिचको अविश्वास क्रियाकलाप बन्द नगरे भारतको पश्चिम बंगलबाट तिसौं वर्ष पुरानो कम्युनिष्ट सत्ता ढले जसरी हराउन पर्नेछ । पार्टी विभाजन जस्तो अप्रिय निर्णय लिने अवस्थामा ओली र नेपाल पुग्लान् भन्ने विश्वास नेता÷कार्यकर्ता र शुभेच्छुकले गरेका छैनन् ।

       नवौं अधिवेशनबाट प्राप्त मान्डेटलाई अध्यक्ष ओली र वरिष्ठ नेताद्धय नेपाल खनालले समयमा नबुझ्ने एमालेको लोकप्रियताबाट तर्सेका नेता र (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली काँग्रेस र विदेशी शक्तिलाई वल पुग्नु हो । जीवनभर लगाएर बनाएको सग्लो एमालेलाई गुट, उपगुट र समूहको भेलामा रमाएर विगठन गराउन ओली र नेपालको आत्माले मान्ला ? अध्यक्ष ओली, वरिष्ठ नेताद्धय नेपाल र खनालको दौराको फेर समाएर हिड्ने दोस्रो पुस्ताका नेताको राजनीतिक भविष्य संकटमा परेको छ । दोस्रो तहको नेताको एमालेको विभाजन टार्ने प्रयास अहिलेसम्म सफल देखिएको छैन । ओली र नेपालले भईरहेको पार्टीलाई विभाजन गरी विगतमा बामदेव गौतम जस्तो गल्ती गरेर फेरी पछुताउने अवस्था नहोस् भन्नेमा एमालेका ठूलो कार्यकर्ता पङ्तीले खवरदारी गरिरहेका छन् । विदेशी शक्तिको कठपुतली बन्दैनौं भनेर ओली र नेपालले कार्यकर्तालाई फ्रस्टाउन ढिला भईसकेको छ । दुवै नेताल गुट भेलामा रमाउनु भनेको पार्टीलाई विभाजनतर्फ उन्मुख गराउनु हो ।

      ओली र नेपालले एमालेलाई समाप्त पार्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष अघिदेखि योजनाबद्ध ढंगले सक्रिय भईरहेको बल्ल बुझ्दैछन् । एमालेका आम कार्यकर्ता एमाले टुक्राउन नदिने पक्षमा रहेका छन् । अहिले नेताका वरिपरि बस्ने र अवसर पाउने कार्यकर्ता बाहेक अन्य गुटमा गएका छैनन् । पछिल्लो समयमा सबथोक गुमाएर हारेको जुवाडे जस्तो अवस्थामा पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेलाई तहसनहस पारेर बलियो हुने खेल खेलिरहनुभएको छ । फुटाऊ र राज गर सिद्धान्तका सम्राट कमरेड प्रचण्डले एमालेभित्र चर्को द्धन्द सिर्जना गराएर लाभ लिने कसरत गरिरहनुभएको तथ्य लुकेको छैन । कमरेड प्रचण्डले माधवकुमार नेपाललगायतका नेताको राजनीतिक भविष्यको चिन्ता लागेर सहानुभूपति प्रकट गर्नुभएको पटक्कै होइन । भुईको टिप्न खोज्दा खल्तीका झरेपछि कमरेड प्रचण्ड निकै बेचैन हुनुहुन्छ र एमाले फुटाएर केही थान नेता–कार्यकर्तालाई पार्टीमा ल्याउने उहाँको योजना ओपन सेक्रेट जस्तै छ । माधव कमरेड एमाले कब्जागर्न जानुभएको हो । सके कब्जा गर्ने, चिन्ता छ भन्ने जस्ता अभिब्यक्ति दिएर एमालेभित्र अविश्वास र आशंकाको वातावरण सिर्जना गर्न प्रचण्ड लागि रहनुभएको छ । यति साधारण तथ्यको हेक्का माधव पक्षले नराख्ने हो भने उहाँको राजनीतिक जीवनमा निकै संकट पर्नेछ । एमालेलाई र एमालेका नेतालाई प्रचण्डको सहानुभूति र सद्भावको खाँचो छैन । अनावश्यक माया, प्रेम देखाएर संसदबाट जनताको मतले ठूलो पार्टी बनेको एमालेका नेतालाई विभाजन गराउन अनेक जालझेल गरिरहेका छन् । उनको भ्रम एमालेका खारिएका नेता÷कार्यकर्ताले राम्रैसँग बुझिरहेका छन् । मानिस तीन कारणले झगडालु बन्छ, प्रतिस्पर्धा, पारिस्परिक, अविश्वास र वैभव । मानिस स्वभावले नै प्रतिस्पर्धी प्राणी हो । आपसी मतमतान्तर नितान्त स्वभाविक कुरा हुन् । पार्टी हितका लागि सबैले योगदान पु¥याउनुको विकल्प छैन ।

       केही समय पहिले राजनीतिक एउटा शब्दको खुब प्रयोग हुन्थ्यो, सिंहावलोकन । सिंहले दुईचार पाइला हिंडेपछि त्यसपछि टक्क रोकिन्छ । पछाडी फर्किन्छ । दायाँवायाँ फर्किन्छ । कतैबाट खतरा छ कि छैन भन्ने हेरेपछि अगाडी बढ्छ । त्यसरी अगाडी बढ्ने क्रममा पछाडी फर्केर आफ्नो कामको मूल्यांकन गर्ने गरिन्छ । अब एमाले नेताले पनि आफ्नो भूमिका र कर्मको समिक्षा गर्ने बेला आएको छ । सांगठनिक रूपमा बलियो र ब्यवस्थित एवं वैचारिक रूपमा सुदृढ पार्टी एमाले विभाजित भए नेपाली कम्युनिष्ट आन्दोलन उठ्नै नसक्ने गरी थला पर्नेछ ।