कोरोनाको खोप नुवाकोटका बाईस हजारले लगाए

विदुर, नुवाकोट जिल्लामा कोरोना भाईरस विरूद्धको खोप लगाउनेको उत्साहजनक सहभागिता देखिएको छ । जिल्लाको १२ वटै पालिका ६५ वर्ष माथिका नागरिकले चैत्र ३ गतेसम्म कोरोना विरूद्धको खोप लगाएका थिए ।

       स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार जिल्लालाई प्राप्त कोरोना विरूद्धको खोप पहिलो चरणमा ३ हजार ८ सय ८६ र दोस्रो चरणमा १८ हजार १ सय ६९ जनालाई लगाईएको छ । पहिलो चरणमा सरसफाई कर्मचारी, स्वास्थ्यकमी, पत्रकार र सुरक्षाकर्मीलाई खोप लगाईएको थियो । दोस्रो चरणको खोप ६५ वर्ष भन्दा माथिकालाई मात्र खोप लगाईएको स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तम खनालले बताउनु भयो । दुई चरणमा नुवाकोटका २२ हजार ५५ ले कोरोना विरूद्धको खोप लगाएका छन् ।  वाग्मती प्रदेशमा कोरोना भाईरस विरूद्धको खोप लगाउनेको संख्या झण्डै चार लाख पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार ३ लाख ८७ हजार ९ सय ६६ जनाले कोरोना विरूद्धको खोप लगाएको छ । पहिलो र दोस्रो चरणमा गरी ६ लाख २ हजार ६ सय २२ जनाले कोरोना विरूद्धको खोप लगाउने लक्ष्य राखिएकोमा लक्ष्यको ६४ प्रतिशतले मात्र खोप लगाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरूषोत्तमराज सेढाइँले यातायात पहुँचको अभावसँगै त्रासका कारण पनि लक्ष्यअनुसार खोप लगाउनेको संख्या कम रहेको जानकारी दिनुभयो ।

        पहिलो चरणमा युवासँगै सहरी क्षेत्रमा खोप लगाएकाले खोप लगाउनेको संख्या बढि रहेको बताउँदै घरमा छोराछोरी नभएकालाई स्वास्थ्य केन्द्रसम्म पुग्न समस्या भएकाले पनि पहिलो चरणको अनुपातमा दोस्रो चरणमा खोप लगाउनेको संख्या कम भएको उहाँले बताउनुभयो । पहिलो चरणमा प्रदेशका १३ जिल्लामा गरी १ लाख ७४ हजार ७ सय जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा करवि ८० प्रतिशत अर्थात् १ लाख ४० हजार १ सय ७९ जनाले कोरोना विरूद्धको खोप लगाएका छन् । यस्तै दोस्रो चरणमा ४ लाख २७ हजार ९ सय ६६ जनालाई खोप लगाउने लक्ष्य राखिएके थियो ।  पहिलो चरणमा खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक अन्तराष्ट्रिय बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी र बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक, हेरचाह तथा ब्यवस्थापनमा खटिने कर्मचारीलाई र दोस्रो चरणमा ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाईएको थियो । खोपको अभावमा कोरोना विरूद्धको खोप लगाउनेको संख्या कम भएको होइन अझै ८० हजार जनालाई पुग्ने खोप रहेको मन्त्रालयले दाबी गरेको छ ।