गल्छी–रसुवागढी सडकमा ३२ पुल बन्दै सातवटा पुल निर्माण अन्तिम चरणमा
धुन्चे, चीनसँगको अन्तराष्ट्रिय ब्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाभित्र ३२ वटा पुल निर्माण गरिने भएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी योजनाको ३२ पुल निर्माणमध्ये सातवटा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।
३२ वटा पुलमध्ये १६ वटा पुल निर्माण यसै आ.व.भित्र सम्पन्न हुने गरी काम तिव्ररूपमा भईरहेको छ । अन्य १६ वटा पुलको सर्भे र डिजाइन अन्तिम चरणमा पुगेको जानकारी गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले दिनुभयो । धादिङको महेशखोला, कोल्फुखोला, नुवाकोटको ठूलोखोला, गेर्खुखोला, बेत्रावती र रसुवाको नयाँ पुल र क्रसिङ पुल निर्माण अन्तिम चरणमा पुगेको समेत उहाँले बताउनु भयो । गल्छीदेखि मैलुङ हुँदै स्याफ्रुसम्मको सडक स्तरोन्नतिको काम अहिले दु्रत गतिमा भईरहेको छ । जसमा पुल निर्माण पनि पर्छ । चालु आर्थिक वर्ष २०७७÷०७८ भित्र बाँकी १६ वटा पुलको डिजाइन गर्ने, ठेक्का लगाउने र सम्झौता गर्ने तयारी रहेको सडक योजनाले जानकारी दिएको छ । गल्छीदेखि रसुवागढीसम्म तीन खण्डमा विभाजन गरेर सडकको स्तरोन्नति भईरहेको छ । जसमा पहिलो र दोस्रो खण्डमा नेपाली पक्षले पुल निर्माण पनि गर्नुपर्ने हुन्छ । यस खण्डमा रहेका केही पुलमा डिजाइनको रिभ्यू गर्नुपर्ने भएको आयोजनाले जनाएको छ । बाँकी पुल निर्माणमा अहिलेसम्म समस्या नआएको आयोजना प्रमुख भण्डारीले बताउनु भयो ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी सडक खण्डमा निर्माण हुने पुलमध्ये ११ वटा पुलको लागि छुट्टै बजेट आएको छ । बाँकी २१ वटा पुल सडक शिर्षक अन्तर्गत बजेट रहेको बताईएको छ । योजनाका अनुसार तीनवटा पुल कलात्मक खालको बनाईने छ । जसमा बट्टार, विदुर र त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा कलात्मक पुल बन्ने छ । जलविद्युत् आयोजना क्षेत्रमा फ्लाई ओभर पुल निर्माण हुनेछ । योजनाले गल्छी–मैलुङ र मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको काम गर्ने छ । जसमा हालसम्म ७० प्रतिशत काम सकिएको छ । पहिलो खण्ड अन्तर्गत गल्छी–मैलुङ क्षेत्रमा सडकको कालोपत्रे गर्ने, भीर काट््नेलगायतका काम अन्तिम चरणमा सञ्चालन भईरहेको छ । दोस्रो खण्डको रूपमा रहेको मैलुङ–स्याफ्रु सडकखण्डमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम दु्रत गतिमा भईरहेको छ । यो खण्डको सडक चौडा बनाउने काम पनि ६५ प्रतिशत सकिएको छ ।
पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन । गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनैपनि घुम्ती नहुने आयोजनाले जनाएको छ । मैलुङ–स्याफ्रुवेशी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुवेंशी सडक समेत प्रयोग गर्न सकिने छ । २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ ।