घरेलु उद्यमशील सहकारी खोल्ने तयारी

  • त्रिशूली प्रवाह
  • १९ चैत्र २०७७, बिहीबार १३:२२

विदुर, नुवाकोट जिल्लाभरि कार्यक्षेत्र बनाएर सक्रिय घरेलु तथा साना उद्योगलाई सहुलियत कर्जा उपलब्ध गराउने उद्देश्य राखी घरेलु उद्यमशील सहकारी गठन प्रक्रिया नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला समिति नुवाकोटले अगाडि बढाएको छ ।

     महासङ्घ जिल्ला समिति नुवाकोटको आयोजनामा महासङ्घका केन्द्रीय उपाध्यक्ष सूर्यबहादुर कँडेलको प्रमुख आतिथ्यतामा र जिल्ला समिति नुवाकोटका अध्यक्ष रामकृष्ण राजभण्डारीको अध्यक्षतामा सहकारी गठन गर्नेबारे प्रारम्भिक भेला सम्पन्न भएको छ । जिल्लाका १२ वटै स्थानीय निकायको प्रतिनिधित्व हुने गरी भेलामा सहभागिता लागि आह्वान गरिएको थियो । समाजमा विभिन्न क्षेत्रमा लब्धप्रतिष्ठित उद्योगी तथा व्यक्तिको सहभागिता रहेको भेलाले रामकृष्ण राजभण्डारीको अध्यक्षतामा घरेलु उद्यमशील सहकारी खोल्न १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । आगामी नयाँ वर्ष ०७८ देखि सञ्चालनमा ल्याउने उद्देश्य राखी विभिन्न उपसमितिमार्फत विभिन्न सुझाब सङ्कलन गर्ने गरी प्रक्रिया सुरु भएको छ । कम्तीमा १० हजार प्रतिव्यक्ति सेयर र बढीमा आफ्नो क्षमताअनुसार सेयर राख्ने प्रावधान राखी गठन गरिने सहकारीमा आबद्ध हुन घरेलु महासङ्घमा आबद्धता हुन अनिवार्य गरिएको छ । १२ वटै स्थानीय निकायमा शाखा खोल्ने लक्ष्य राखी गठन हुन गइरहेको सहकारीले उद्यम विकास र बजारीकरण गर्ने सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गरी आफ्ना सदस्य उद्यमीलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

     उक्त कार्यक्रममा जिल्ला समिति अध्यक्षले नयाँ कार्यसमिति निर्वाचितदेखि हालसम्मको गतिविधिबारे जानकारी गराए भने केन्द्रीय उपाध्यक्ष सूर्यबहादुर कँडेलले महासङ्घको सुरुवाती आन्दोलन र त्यसका उपलब्धिबारे प्रकाश पारेका थिए । सहकारी गठन प्रक्रियाबारे कोषाध्यक्ष सञ्जीव थपलियाले प्रकाश पारेका थिए भने मेलाको सहजीकरण सचिवालय सदस्य दीपकराज पाठकले गरेका थिए ।