आन्तरिक आम्दानी घट्यो विदुरको आठौँ नगरसभा सम्पन्न

विदुर, ‘कृषि, पर्यटन, प्राकृतिक स्रोत, उद्योग र व्यापार, समृद्ध नगरकोे बलियो आधार’ भन्ने मूल नाराका साथ विदुर नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ ।

      कार्यक्रममा आर्थिक वर्ष ०७७/७८ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव प्रस्तुत गर्दै नगर उपप्रमुख गीताकुमारी दाहालले आर्थिक वर्ष ०७७/७८ का लागि थप बजेट तथा योजना प्रस्तुत गरेकी थिइन् । यसअघिको नगरसभाले विनियोजन गरेको बजेटमा थपघट गर्दै नगरपालिकाले केही नयाँ योजना नगरसभामा पेस गरेको थियो । पुराना सञ्चालन हुन नसकेका योजना, बाँकी रहेको बजेटलाई रकमान्तर गर्दै नागरिकको आवश्यकताअनुसार बजेटसहित योजना पेस गरिएको थियो ।

      विदुर नगरपालिकाको आठौँ नगरसभामा चालूतर्फ थपघट गरी सात करोड ४४ लाख रुपैयाँको नयाँ विनियोजन बजेट प्रस्ताव गरेको छ । यस्तै, पुँजीगततर्फ सुरुमा विनियोजन बजेटमा थपघट गर्दै चार करोड ५७ लाख रुपैयाँको बजेट नगरसभामा पेस भएको छ । यता, संशोधित योजना तथा कार्यक्रममा चार करोड ९९ लाख रुपैयाँ रहेको छ । आठौँ नगरसभाले जम्मा बजेटमा ६ करोड ८३ लाख रुपैयाँ बजेटसहितको नयाँ योजना उपप्रमुख दाहालले प्रस्तुत गरेकी थिइन् । आठौँ नगरसभामा पेस भएको संशोधित योजना तथा कार्यक्रम सहमतिमा पारित भएको छ । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख सञ्जु पण्डितले आठौँ नगरसभामा पेस भएको बजेटसहितको कार्यक्रम प्रक्रिया पूरा गरेर सर्वसम्मत पारित भएको घोषणा गरेका थिए ।

      विदुर नगरपालिकामा यस वर्ष आन्तरिक आयमा गिरावट आएको छ । सातौँ नगरसभाले अनुमान गरेकोभन्दा निकै नै आन्तरिक आयमा कटौती भएको हो । कोरोना सङ्क्रमणका कारण नगरपालिकामा व्यापार, व्यवसाय बन्द हुनु, नदीजन्य निर्माण सामग्रीबाट सङ्कलन हुने कर गिरावट आउनुलगायतका कारण नगरपालिकाको आन्तरिक आयको आकारमा गिरावट आएको हो ।