टिमुरे यातायात प्रा.लि.को अनुगमन तथा प्रशिक्षण कार्यक्रम

रातमाटे,  टिमुरे यातायात प्रालि नुवाकोटले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गल्छी-त्रिशूली सडकखण्डको बेलकोटगढी नगरपालिकाको महाँदेवफाँटमा आकस्मिक अनुगमन तथा प्रशिक्षण कार्यक्रम सोमबार सञ्चालन गरेको छ ।

      प्रालिले सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहयोगमा सवारीचालकलाई सडकमै गाडी रोकेर प्रशिक्षण दिएको थियो । रसुवा-नुवाकोटमा टिमुरे यातायात प्रालिको ४० वटाभन्दा बढी सुविधायुक्त एसी, डिलक्स बसले सेवा दिइरहेको छ । अनुगमनमा बसले दिइरहेको सेवा सुविधा चालक र सहचालकले यात्रुलाई दिएको छ कि छैन जाँच गर्ने, गाडीको अवस्था चेकजाँच गरी चुस्त राख्न निर्देशन दिने, चालकलाई सुरक्षित तवरले सवारी चलाउन उत्प्रेरित गर्न, निर्देशन दिने र यात्रुको सुझाब सङ्कलन गर्ने उद्देश्य रहेको टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए । अनुगमन तथा प्रशिक्षणमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सइ सुरेन्द्र विष्टसहित ट्राफिक प्रहरी, बस व्यवसायी र प्रालिका सञ्चालकको उपस्थिति थियो । समयानुकूल सबै गाडीमा क्युआर कोड (QR Code) राख्न कामना सेवा विकास बैंक गल्छी-धादिङका प्रमुख राजेश श्रेष्ठ उपस्थित भएर बस व्यवसायीको क्युआर कोडका लागि फारम भरेका थिए । उक्त दिन २२ वटा बसको अनुगमन तथा १९ वटा बस व्यवसायीको क्युआर कोडका लागि फर्म भरेको अध्यक्ष जोशीले बताए ।