खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

बट्टार, जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा भएको ‘प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता’ शुक्रबार सम्पन्न भएको छ ।

       तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ४६ टोलीका ९२ खेलाडी सहभागी थिए । प्रतियोगितामा रसुवाका पनि ६ टोलीका १२ खेलाडी सहभागी भएका थिए । जिल्लामा ब्याडमिन्टनको अहिलेसम्मको सबैभन्दा ठूलो भनिएको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई २० हजार, १५ हजार र १० हजारसहित पुरस्कार प्रदान गरिएको छ । दुई समूह बनाएर सञ्चालन भएको प्रतियोगितमा समूह ‘ए’ अन्तर्गत शरद ढुङ्गाना र सुरज लामा प्रथम भए । यस्तै, विवेक जोशी र कुमार डङ्गोल द्वितीय भए । समूह ‘ए’कै चन्दन घले र श्यामसुन्दर महर्जनले तेस्रो स्थान हासिल गरे ।

       समूह ‘बी’अन्तर्गत अजेशराज शाक्य र जीवन आचार्य प्रथम भए । विनयप्रसाद लामिछाने र राकेश गुरुङले दोस्रो स्थान हासिल गरे भने भीमराज बज्राचार्य र रूपल बडेले तेस्रो स्थान हासिल गरेको जिल्ला समन्वय समिति नुवाकोटका प्रवक्ता एवम् खेल संयोजक गणेश शाहीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी त्रिशूलीका अजेशराज शाक्य घोषित भए । प्रतियोगिताको समापन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताए । उमेर समूहले समेत नछेक्ने प्रतियोगिता ब्याडमिन्टन भएकाले सबै व्यक्तिले सहजतापूर्वक खेल्न सक्ने उनको भनाइ थियो ।

      आयोजक जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले खेलकुदको माध्यमबाट नै भ्रातृत्व स्थापना गर्न सकिने बताए । खुला ब्याडमिन्टन प्रतियोगिताले खेलाडीको प्रोत्साहनको साथै जिल्लामा ब्याडमिन्टनप्रतिको आकर्षण बढ्ने बताए । जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा भएको ‘प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगितामा सहभागी भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् । स्वास्थ्य र राष्ट्र दुवैका लागि खेलकुद आवश्यक रहेको भन्दै सबैको सहकार्यमा यस्ता प्रतियोगिता जिल्लामा सञ्चालन भइराख्नुपर्ने नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटाले बताए । जिल्ला समन्वय प्रमुख तामाङले प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता समापन भएको घोषणा गर्दै आगामी पुस, माघमा अझ बृहत् दोस्रो जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने प्रतिबद्धता जनाए ।