त्रिशूली नदीमा सबभन्दा लामो पुल निर्माण सडक नहुँदा प्रयोगविहीन

रातमाटे, त्रिशूली नदीमा अहिलेसम्मको लामो पुल निर्माण सम्पन्न भए पनि पहुँचमार्ग बन्न नसक्दा पुल प्रयोगविहीन भइरहेको छ । त्रिशूली नदीमा एक सय ९२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल सम्झौता भएको सात वर्षपछि निर्माण सम्पन्न भएको छ । सपना-हिमडुङ एन्ड थोकर-नार्गाजुन जेभीले भ्याटसहित १५ करोड ११ लाख ३५ हजार पाँच सय ७४ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न गरेको छ ।

      भरतपुर डिभिजन सडक कार्यालयअन्तर्गत साइड अफिस गजुरीले हेरिरहेको उक्त पुल गत महिना निर्माण सम्पन्न भएको हो । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ केउरेनी र धादिङ जिल्लाको गल्छी गाउँपालिका-१ फोस्रेटार जोड्ने त्रिशूली नदीको पुल प्रयोगमा आउन सकेको छैन । धादिङ जिल्लातर्फको सय मिटर पहुँचमार्ग बनाउन स्थानीयले अवरोध गरिरहेका छन् । स्थानीयलाई मुआब्जा दिने सहमति गरेर पुल निर्माण सुरु भएको थियो । अहिले सडक विभागको कमजोरीले करोडौँको पुल निर्माण हुँदा मुआब्जा विवादलाई सल्टाउनभन्दा बल्झाउन लागेकाले प्रयोगमा आउन नसकेको हो । यो पुल सञ्चालनमा आउँदा धादिङ सदरमुकाम पुग्ने दूरी छोटो हुनुको साथै त्यस सडकमा पर्ने धादिङ र नुवाकोटका स्थानीय लाभान्वित हुने भएकोले मुआब्जा विवाद समयमा टुङ्ग्याउनुपर्ने धारणा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको छ । ०७२ को भूकम्प, भारतीय नाकाबन्दीले गर्दा सम्झौता अवधिभन्दा पुल झन्डै तीन वर्षपछि निर्माण भएको छ ।