राजनीतिभन्दा पशुपालनमा जम्दै भदु्रटारका यमबहादुर थापा

छहरे, धेरै मानिस सेवा–सुविधाका लागि थातथलो छाडेर सहर–बजारतिर हानिने लहर अहिले तीव्र रूपमा चलेको छ । गाउँ खाली हुने क्रम बढेको छ । गाउँमा केही अवसर छैन भनेर भौँतारिएका युवालाई प्रेरणाको स्रोत बनेका छन्–नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका–५ भद्रुटार चुहानडाँडाका यमबहादुर थापा ।

       थापाले विगत ३ वर्षदेखि आधुनिक उपकरण र प्रविधिको प्रयोग गरेर कृषि फार्म सञ्चालन गरिरहेका छन् । विगतमा राजनीतिको कुरा गरेर गाउँटोलमा गफ चुट्दै हिँड्ने थापा ५० लाखभन्दा बढी लगानी गरेर गाउँपालिकाकै नमुना पशुपालन व्यवसायी गरेर गाउँलेका लागि प्रेरणाको स्रोत बनेका हुन् । थापाले सिपिएस जिम्नाङ एग्रिकल्चर फार्म दर्ता गरेर भैँसी, गाई, बाख्रा, कुखुरा, भेडा, टर्कीपालनलाई व्यावसायिकता दिइरहेका छन् । दैनिक सय लिटर दूध अफसिजनमा र सिजनमा दुई सय लिटरसम्म दूध बेचेर मासिक दुई लाखभन्दा बढी कमाइरहेका छन् । गाउँमा थापाले मोटरसाइकलमा दूधको क्यान राखेर दूध सङ्कलन केन्द्र जान थालेपछि गाउँलेमा दूधबाट आम्दानी गर्न सकिने हुटहुटी नै चलेको छ । थापाले दूध बिक्री गर्न थालेपछि भद्रुटारको चुहानडाँडाका अधिकांश घरले एक-दुईवटा भैँसी पाल्न सुरु गरेका छन् । भैँसीपालनबाट दूध बेचेर गाउँलेले आम्दानी गरिरहेको थापाले बताए । दूध बिक्रीबाट आम्दानी पनि हुने, कृषिका लागि गोबर मलको कारणले खेतीबाली पनि राम्रो भइरहेको स्थानीय समाजसेवी बलराम कार्कीले बताए । फार्ममा थापाकी श्रीमती, भाइ रामजी र बुहारी तथा वृद्धा आमा र भतिजले साथ दिइरहेका छन् । फार्ममा घरपरिवारबाहेक ६ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । थापा भन्छन्, ‘मैले दूध बेचेको देखेर पञ्चकन्या गाउँपालिकाको भद्रुटार क्षेत्रमा भैँसीपालन गर्नेको लहर नै चलेको छ ।’ थापाले तीन वर्षअगाडि बाख्रापालनबाट सुरु गरेको फार्ममा अहिले दुहुने भैँसी १२ वटा, दुहुना गाई तीनवटा, भैँसीका पाडा-पाडी २५ वटा, ब्याडको राँगो दुईवटा, भेडा पाँचवटा, बाख्रा र खसी, बोका ३० वटा रहेका छन् ।

       कृषिमा जम्दै राजनीतिमा समेत स्थापित थापाको फार्ममा शनिबार दिउँसो नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीसँग यो संवाददाता पुग्दा उनी भैँसीलाई घाँस, कँुडो खुवाउन व्यस्त थिए । उनी दैनिक बिहान ३ बजे उठेर भैँसी, गाई, गोरुको भकारो सोर्ने, घाँस, पानी खुवाउने र भैँसी, गाई दुहुने, दूधलाई बिक्रीका लागि सङ्कलन केन्द्र पु¥याउन आफूसहित परिवार र कामदारलाई खटाउन लागिपर्छन् । त्यसपछि चिया खाएर राजनीतिक, सामाजिक क्षेत्रबारे चासो दिन्छन्, स्थानीयको समस्या समाधानमा लाग्छन् । उनी अहिले सामुदायिक विद्यालयको व्यवस्थापन समिति अभिभावक महासङ्घ पञ्चकन्या गाउँपालिकाका अध्यक्षसमेत रहेका छन् । उनका बाबु ललितबहादुर थापा पञ्चायत व्यवस्थामा तत्कालीन भद्रुटार गाउँ पञ्चायतको उपप्रधानपञ्चसम्म भएका थिए । बाबुको प्रेरणाले राजनीतिमा लागेको बताउने थापा काङ्ग्रेसको अहिलेको जिल्लाको राजनीति र नेताबाट निराश हुनेमध्येका एक हुन् । राजनीतिलाई निरन्तरता दिँदै पार्टीको जिम्मेवारी निर्वाह गर्दै आइरहेका थापा नेपाली काङ्ग्रेसको सङ्गठन सुदृढीकरणको आवश्यकता रहेको बताउँछन् ।

       व्यावसायिक पशुपालन थालेका उनले ब्याडका लागि उन्नत जातको राँगो, ब्याडका लागि बोयर जातको बोका फार्ममा पालेका छन् । बोयर जातको बोका फार्ममा रहेकाले गाउँभरिका बाख्रापालनमा संलग्न गाउँले बाख्राका लागि बोका लगाउन उनीकहाँ आउने गर्छन् । थापाले दूध बिक्रीका लागि मोटरसाइकल र घोडा प्रयोग गर्ने गरेका छन् । उनको फार्मबाट एक किलोमिटर पर दूध सङ्कलन केन्द्र रहेको छ । तीन वर्षअगाडि बाख्रापालन सुरु गरेर व्यावसायिक फार्म स्थापना गरेका थापाले दुई वर्षदेखि भैँसीपालन, लोकल कुखुरा, हाँस, भेडा, टर्की पालेर फार्मलाई थप विस्तार गरिरहेका छन् । २२ रोपनी जग्गामा आफ्नै ५० लाख रुपैयाँ लगानी गरेर सञ्चालन भइरहेको फार्मलाई थप विस्तार गर्न बैंकसँग ऋण लिने योजना थापाले बनाइरहेका छन् । कृषि व्यवसायलाई सहयोग गर्ने सरकारी–गैरसरकारी निकाय छन् भन्ने सुनेको, तर अहिलेसम्म कहीँ-कतैबाट सहयोग नपाएको थापाले बताए । परम्परागत पशुपालनलाई व्यवस्थित र आधुनिक एवम् प्रविधियुक्त बनाएर काम गर्दा राम्रै आर्जन हुने बताउने थापाले फार्ममा रहेका गाई, भैंसी, बाख्रा, पाडा-पाडी, राँगो, गोरु, हाँस, कुखुरा, घोडा, भेडा, खसी÷बोका सबैको बिमा गरेर लगानीलाई सुरक्षितसमेत गरेका छन् । कृषि पुख्र्यौली पेसा भए पनि परम्परागत रूपमा काम गर्दा फाइदा नभएको बताउने थापाले अहिले पशुपालनबाट ६० लाख वार्षिक आम्दानी गरिरहेका छन् । पशुपालनका लागि घरपरिवारबाहेक कामदार खर्च र बिमा खर्च, औषधि÷उपकरणमा वार्षिक २० लाख खर्च हुने गरेको थापाले बताए । दुःखको पेसा भए पनि खान, लाउन, घर खर्च टार्न र अन्य कामका लागि पैसाको दुःख नहुने बताउने थापा राजनीति गर्ने नेताले आय–आर्जनको काम गरेमा देशमा भ्रष्टाचार अन्त्य हुने बताउँछन् ।

       साधारण लेखपढ गर्ने थापाको परिचय पशुपालनले मात्र पुग्दैन । ०४५ देखि नेपाली काङ्ग्रेसमा आबद्ध हुँदै तत्कालीन भदु्रटार गाउँ इकाइ सभापतिदेखि जिल्ला कार्यसमितिको सदस्य हुँदै जिल्लाको उपसभापतिको जिम्मेवारीसमेत थापाले सफलताका साथ पूरा गरेर काङ्ग्रेसमा स्थापित नेताको पङ्तिमा नाम लेखाएका छन् । काङ्ग्रेसको राजनीतिमा जमेका थापा ०४९ सालमा भद्रुटार गाउँ विकास समितिको उपाध्यक्षमा निर्वाचित भएका थिए । गाविसको अध्यक्ष मुकुन्दराज सिटौला जिल्ला सभापति भएपछि उनले ०४९ देखि नै भद्रुटारको गाविसको अध्यक्ष भएर काम गर्ने अवसर पाएका थिए । ०५४ को स्थानीय निर्वाचनमा झिनो मतको अन्तरले अध्यक्षमा पराजित थापा अहिले नेपाली काङ्ग्रेसको केन्द्रीय श्रम विभागको सदस्य रहेका छन् । कृषिकर्ममै जमिरहेका थापालाई आगामी वर्ष हुने स्थानीय निकायको निर्वाचनमा पञ्चकन्या गाउँपालिकाको अध्यक्ष र प्रदेश सभाको निर्वाचनमा प्रदेश सभाको सदस्य पदमा उम्मेदवार बनाउने चर्चा काङ्ग्रेसवृत्तमा चलेको छ ।