तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २६ चैत्र २०७७, बिहीबार ११:१०
Buddha Eyes

नुवाकोटे काङ्ग्रेसजनको शनिबार काठमाडौंमा राम्रै रत्यौली जम्यो । एकता र सद्भावका लागि भनिए पनि एउटा पक्षको दबदबाले सधैँ प्रतिपक्ष बनेका काङ्ग्रेसीको रुवाबासी ! अर्जुनदाइ जता हामी उतै भन्दै पञ्चायत, बहुदल, गणतन्त्र, लोकतन्त्र हुँदै ओलीतन्त्रसम्म साथ र पुर्पुरोमा हात राख्दै सहयोग गर्दै आएका सत्तरी काटेका ६ दर्जनभन्दा बढी मनमोहन अधिकारीले सुरु गरेको भत्ता बुझेका वृद्धहरूको सम्मान । मर्ने बेला हरियो काँक्रो भनेझैँ वृद्ध बाहरूलाई जीवनको अन्तिम घडीमा काङ्ग्रेसको ट्याग झुन्डाइदिए । अग्रजको सम्मान गर्नु त राम्रै हो, तर तरुण नेता र कार्यकर्तालाई निषेध गर्दा काङ्ग्रेसले आगामी निर्वाचनमा कम्युनिस्ट ध्वस्त हुँदा जित्ने सपना तुहिने पो हो कि ? मैदान नै खाली भएपछि चिट्ठा त पर्ने नै भयो नि । अभागीलाई खाने बेला रिस उठ्छ, सौताको रिसले पोइको काख मुत्ने भनेझैँ कम्युनिस्ट जन्म अहिले सत्तोसराप भन्ने रोग लागेको छ भने काङ्ग्रेसमा बोकाले दाइँ गरेको अशुभ हुने हो कि बहादुर दाइ ?