गोसाइँकुण्डमार्गमा खानाको मूल्य तोकियो
- सरस्वती न्यौपाने
धुन्चे, रसुवाको धार्मिकस्थल गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र वासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ ।
गोसाइँकुण्डमार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटेल तथा लजका व्यवसायीले यात्रुसँग अप्रत्यासित रूपले चर्को शुल्क असुल गरेको भन्ने अधिकांश यात्रुको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाको पहलमा लाङटाङ राष्ट्रिय निकुन्जमार्फत नयाँ मूल्यदर कायम भएको हो । खान र बस्नका लागि यसभन्दा अघि होटेल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अबउप्रान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक पाँच सय ५० एवम् सुतेको प्रतिबेड एक हजार शुल्क तिर्नुपर्ने नयाँ दर निर्धारण गरिएको छ ।
त्यसैगरी, लौरीविनायकमा खानाका लागि प्रतिव्यक्ति प्रतिछाक दालभात तरकारीको पाँच सय र सुतेको नौ सय एवम् चोलाङपाटीमा प्रतिव्यक्ति खानाको चार सय ५० एवम् सुतेको आठ सय दर निर्धारण भएको लाङटाङ राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् । उचाइ क्षेत्रमा सुरक्षाचौकी नभएको र होटेल तथा लज सञ्चालकले यात्रुबाट अप्रत्यासित रूपमा मनोमानी ढङ्गले शुल्क उठाउन थालेको जनगुनासो बढेपछि व्यवस्थापकीय कार्य गराउन नियमनकारी निकाय लाङटाङ राष्ट्रिय निकुञ्जलाई स्थानीय प्रशासनले आग्रह गरेपछि नयाँ मूल्यदर निर्धारण भएको हो । धार्मिक मार्गअन्तर्गत धुन्चेको घट्टेखोला, खन्ती, देउराली, डिम्सासमेतका स्थानको खाने–बस्ने मूल्यदरसमेत निर्धारण गरिएको छ । निर्धारित दर निकुन्जले प्रमाणित गरेकालाई मात्र मन्य हुने भएकाले होटेलमा टाँसिएको दरअनुसार मात्र शुल्क तिर्न सम्पूर्ण यात्रुलाई आग्रह गरिएको छ ।
खाने-बस्ने व्यवस्थापकीय कार्यअन्तर्गत धार्मिक मार्गका होटेल तथा लज सञ्चालनका स्वीकृत दिने र अनुगमन गर्ने निकाय लाङटाङ राष्ट्रिय निकुञ्ज भएका कारण दर निर्धारणका साथै धार्मिक मार्ग व्यवस्थित, मर्यादित बनाउन उक्त कार्यालयलाई नै दर कायम गराउने जिम्मेवार बनाइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए । १५ दिनको समयसीमा तोकी जिल्ला प्रशासन कार्यालय रसुवाले यही १७ गते गरेको आग्रहलाई तदारुकताका साथ लाङटाङ राष्ट्रिय निकुन्जले कार्यान्वयन गरी १९ गते नै नयाँ दर कायम गराएको थियो । नयाँ दर होटेलमा टाँसिने र त्यसका आधारमा मात्र यात्रुले शुल्क तिर्नसमेत निकुञ्जले आग्रह गरेको छ । निर्धारण भएको नयाँ दर कार्यान्वयनको चरणमा अगाडि बढिसकेको होटेल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निशान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिए ।