वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ढुङ्गे, फलफूल तथा तरकारी व्यवसायी र उद्यमीका लागि सहुलियत कर्जा, बित्तीय अनुशासन र आर्थिक कारोबारमा प्रविधिको प्रयोगबारे एकदिने वित्तीय साक्षरता तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

      नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला समिति नुवाकोटको आयोजना र सानिमा बैंक लिमिटेड विदुर शाखाको प्रयोजनमा वि.न.पा. १ ढुङ्गेमा भएको उक्त कार्यक्रममा ढुङ्गे तथा त्रिशूली बजारका ३२ जना फलफूल तथा तरकारी उद्यमी व्यवसायीको सहभागिता थियो । महासङ्घका उपाध्यक्ष लक्ष्मी प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सानिमा बैंकका शाखा प्रमुख मधुप्रकाश दवाडीले सानिमा बैंकको वर्तमानको योजनाबारे बताएका थिए ।प्रविधिको उच्चतम प्रयोग भइरहेको अवस्थामा सरुवा रोगजन्य महामारीबाट बच्न पनि कागजी नोटभन्दा डिजिटल भुक्तानीमा ध्यान दिनुपर्नेबारे कार्यक्रममा छलफल गरिएको थियो । सजिलै भुक्तानीका लागि क्युआर (QR) प्रविधिबारे बालकुमार केसी र प्रशन्न चैडाई तथा सहुलियत कर्जाबारे प्रेमविक्रम थापाले कार्यक्रममा जानकारी दिएका थिए । सो कार्यक्रममा महासङ्घको मातहत खुल्दै गरेको उद्यमशील सहकारीबारे कोषाध्यक्ष सञ्जीव थपलियाले जानकारी गराएका थिए ।

      उक्त कार्यक्रममा सहभागीका तर्फबाट महत्वपूर्ण सुझाब प्राप्त भएको कार्यक्रमका सञ्चालक एवम् नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला समिति नुवाकोटका सचिवालय सदस्य दीपक पाठकले बताए । कार्यक्रममा वि.न.पा. वडा नं.– १ की महिला सदस्य रूपा थापा र वडासचिव विष्णु गजुरेलले उद्यमीको पिरमर्का र समस्या समाधानमा सक्रिय हुने प्रतिबद्धता जनाए । कार्यक्रमका सहभागीले स्थानीय निकायमा उद्यम दर्ता गर्न निःशुल्क हुनुपर्ने र जिल्लाबाहिरका तरकारीलाई निर्वाध प्रवेशमा रोक लगाउनुपर्ने धारणा राखेका थिए ।