त्रिशूली अस्पतालमा मुटुको एक्सरे सेवा

विदुर, नुवाकोट जिल्लाको एक मात्र सरकारी अस्पताल त्रिशूली अस्पतालमा इको कार्डियोग्राफी मुटुको भिडियो एक्सरे सेवा सुरु भएको छ ।

      मुटु रोगसम्बन्धी समस्या भएकालाई जिल्लामै उपचार प्रवाह गर्ने उद्देश्यले त्रिशूली अस्पतालमा मुटुको भिडियो एक्सरे सेवा गत हप्तादेखि सुरु भएको छ । नुवाकोट, रसुवा र धादिङ गरी तीनवटा जिल्लालाई उपचार सेवा प्रवाह गर्दै आएको त्रिशूली अस्पताल नुवाकोटमा पछिल्लो समय सेवामा विविधता थपिँदै गएको छ । मुटुको भिडियो एक्सरेसँगै फ्लुरोइम मुनो एसे प्रविधिबाट एचबिएसी, भिटामिन डी, पिएसए, सिआरपी, सिके एमबी, ट्रोपोनिन, माइक्रो आलबुमिनलगायतको सेवासमेत सुरु भएको छ । त्रिशूली अस्पताल नुवाकोटको सुविधासम्पन्न भवन निर्माण भएसँगै उच्चस्तरीय प्रयोगशालाको स्थापना भएको हो ।

      अहिले त्रिशूली अस्पतालमा स्थापना भएको प्रयोगशालाबाट जेनेटिक परीक्षणसम्मको सेवा प्रवाह हुने त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । नुवाकोट, रसुवा र धादिङका केही भेगका नागरिकले अधिकांश सेवा लिनका लागि त्रिशूली अस्पतालमै सम्भव भएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताए । सामान्य उपचारका लागि काठमाडौं पुग्दा लाखौँ रुपैयाँ खर्च हुने भन्दै उनले जिल्लामै सरल र सहज रूपले सेवा प्रवाह सुरु भएको जानकारी सबैलाई गराउनुपर्ने उनकोे भनाइ छ । मुटुसम्बन्धी समस्या भएकाले न्यूनतम शूल्कमा त्रिशूली अस्पतालमै उच्चस्तरीय विशेषज्ञ सेवा सुरु भइरहेको छ ।

      त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले त्रिशूली अस्पतालमा सेवाको विविधिकरण गर्दै सेवाको गुणस्तरमा वृद्धि गरेको बताए । अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले थप ओपिडी सेवा र फार्मेसी सेवा उपलब्ध गराउने पक्षमा अस्पताल प्रशासन पुगेको बताए । त्रिशूली अस्पतालमा थपिएको प्रयोगशालासँगै मुटुको उच्चस्तरीय परीक्षणले नुवाकोट, रसुवा र धादिङका नागरिकले सहुलियत पाउने त्रिशूली अस्पताल नुवाकोटले जनाएको छ ।