हाम्रा कुरा : भारतीय र चिनियाँभन्दा नेपाली खुसी !

कोही मानिस हाँसेर बोलिरहेको छ भने त्यो नेपाली नै हो । दुःखपीडामा पनि हाँस्ने मानिस नेपाली नै हुन्छ । नेपालीको जीवनस्तर अहिले पनि अल्पविकसित मुलुककै छ । तथापि नेपाली हाँसी-हाँसी बाँचिरहेका छन् । यही कारणले पनि होला नेपाल अहिले विश्वमा खुसी रहने देशमा ८७औँ स्थानमा रहेको छ । दक्षिण एसियामा छिमेकी देशका तुलनामा बढी खुसी हुने देशमा पर्छ-नेपाल । कोरोना महामारी बिगबिगी, चर्को आर्थिक सङ्कट र राजनीतिक अस्थिरताका बीचमा पनि नेपाली खुसी देखियो । जीवन भोगाइ हो भन्ने अर्थमा ग्रहण गर्ने र सुख, दुःख भोग्नका लागि आफूहरू तयार रहने नेपाली त्यति धेरै महत्वाकाङ्क्षी पनि देखिँदैन । कोरोनाले आर्थिक जीवन चौपट्ट बनाएको छ । आधिकांशको रोजगारी खोसिएको छ । तथापि नेपाली खुसी छन् । जीविकोपार्जनमुखी आर्थिक प्रणालीले नेपालीलाई धेरै नाफा र घाटाको शिक्षा सिकाएको छैन । सबै सरदर उही आर्थिक अनुपातमा बाँचिरहेका छन् । गाउँमा त कोही आकाश र कोही पाताल देखिने अवस्था नै छैन । कृषि आय-आर्जनको मुख्य स्रोत नै रहेको छ । अझै सरकारले सबै नागरिकको लागि गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाको उचित व्यवस्था गर्न सक्यो भने नेपाली खुसी हुने दर अझै बढ्ने छ ।

      संयुक्त राष्ट्रसङ्घको सस्टेनेबल डेभलपमेन्ट सोल्युसनले गत महिना नेटवर्कमा वल्र्ड ह्याप्पिनेस इन्डेक्स २०२१ अनुसार विश्वका एक सय ५३ देशमध्ये नेपाल ८७औँ स्थानमा पर्न सफल भएको छ । गत वर्ष नेपालको स्थान ९२औँ स्थानमा रहेको थियो । यसको अर्थ हुन्छ, नेपालीमा खुसीको मात्रा बढ्दै गएको छ । यसको मापनका विभिन्न सूचाङ्कमध्ये नेपालले गएको पाँच वर्षमा बाल मृत्युदर, प्रजनन तथा मातृत्व स्वास्थ्य, बाल स्वास्थ्य, पोषण तथा विकास, जीवन सन्तुष्टि, शिक्षा, खानेपानी, बिमा, विद्युत्लगायतका सूचाङ्कमा उल्लेखनीय प्रगति गरिसकेको देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले नेपालमा गत वर्ष बहुसूचक सर्वेक्षण गरी सामाजिक विकासका क्षेत्रमा नेपालमा सुधार आएको देखाएको छ । नेपालीका लागि खुसीका अन्य धेरै सूचक छन्, जो अन्य देशमा नहुन सक्छन् । सामाजिक, आर्थिक, वातावरणीय, भौगोलिकलगायत विविध उपसूचक नेपालमा मौजुदा छन् । मुलुकका जनताको खुसी नै देशको खुसी मापनको आधार हो । विश्वमा सबैभन्दा धेरै खुसी हुने देशमा फिनल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे रहेका छन् ।

      आफूले पाएको एक नम्बरको खुसी नगुमाउने देशमा परेको फिनल्यान्ड लगातार चौथोपटक पनि पहिलो नम्बरमै रहेको छ । फिनल्यान्डले कोभिड-१९ नियन्त्रण गर्न लकडाउन नै गर्नुपरेन । खोप विकास भएर प्रयोगमा आएपछि त्यहाँको जनजीवन अझ सहज भएको छ । यसपटकको खुसी हुने देशमा हाम्रा छिमेकी तथा महाशक्तिका रूपमा उदय हुँदै गरेका भारत र चीन त्यति अगाडि छैनन् । चीन ८४ र भारत १३९औँ स्थानमा रहेका छन् । एसियाली देशमा तुलनात्मक रूपमा चीनले आफ्नो स्थितिमा निकै सुधार ल्याएको छ । सबैभन्दा खराब अवस्था दक्षिण एसियाकै अफगानिस्तानको छ । आश्चर्य त के छ भने अफगानिस्तान जिम्बाबे र रुवान्डाभन्दा पनि खस्किएको अवस्थामा छ । संसारको टप टेनमा नर्वे, स्वीडेन, लक्जम्बर्ग, न्युजिल्यान्ड र अस्ट्रिया छन् । यी सबैभन्दा खुसी र सुखी देशमा पर्छन् । नेपालको स्थिति सुधार गर्दै अघि बढौँ । सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली साझा आकाङ्क्षा पूरा गर्न हामी सबै अघि बढौँ र खुसी हुने नेपालीको सङ्ख्या अझै बढाउन लागौँ ।