च्याउखेती तालिम सम्पन्न

तारुका,  तारकेश्वर गाउँपालिकाको आयोजनामा पिमलटार महिला सहकारीका सदस्यलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन च्याउखेती तालिम प्रदान गरेको छ ।

      गत हप्ता सम्पन्न तालिममा सहकारीका २५ जना महिला सदस्यको सहभागिता रहेको थियो । गाउँपालिकाको एक लाख बजेटबाट आय-आर्जन गर्न सकिने सीपमूलक तालिम सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष तारादेवी रिमालले बताइन् । च्याउखेती तालिमको सैद्धान्तिक ज्ञानको तीनदिने र प्रयोगात्मक पूरा गर्न १५-२० दिन लाग्ने भएकाले तालिमका सहभागीले दैनिक घरमै च्याउको बिउ उमारेका छन् । उत्पादित च्याउ गाउँमै बिक्री हुने सहकारीले बताएको छ । ग्रामीण बस्तीका दिदीबहिनीलाई आर्थिक उपार्जन गर्नका लागि तालिम उपयोगी हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले स्थानीयवासीको मागको आधारमा आत्मनिर्भर बनाउन सीपमूलक र आय-आर्जन हुने तालिम सञ्चालन गर्न गाउँपरिषद्बाट बजेटको व्यवस्था गरेको छ ।