उपाध्यक्षसँग सुत्केरी पोषण कार्यक्रम

तारकेश्वर, नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकामा उपाध्यक्षसँग सुत्केरी पोषण कार्यक्रम यस वर्षदेखि सुरु भइरहेको छ ।

      कार्यक्रमबाट यो आर्थिक वर्षको फागुन मसान्तसम्म गाउँपालिकाका ५० जना गर्भवती महिलाले सहयोग पाएका छन् । गाउँपालिकाले गत आवमा कार्यक्रम सुरु गरेको थियो । कोरोना महामारीको कारणले कार्यक्रम गर्न नसकेको उपाध्यक्ष तारादेवी रिमाल अधिकारीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिइन् । कार्यक्रमअन्तर्गत गाउँपालिकाको तारुका स्वास्थ्यचौकी, जोरचौतारा र दाङसिङ स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टरमा चालू आ.व.मा ५० जना गर्भवती महिलाले नियमित गर्भ चेकजाँच गराएर सुत्केरी भएका थिए । सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्थालाई तन्दुरुस्त राख्न सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु गरेको गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले बताए । कार्यक्रमअन्तर्गत प्रत्येक वडामा पुगेर सुत्केरी महिलालाई पौष्टिक तत्व पाइने चार हजार रुपैयाँबराबरको सामग्रीले भरिएको उपहार प्रदान गर्न यस आवबाट थालिएको उपाध्यक्ष रिमालले जानकारी दिइन् ।

      उपाध्यक्ष रिमालका अनुसार उपहार प्याकेजमा अन्डा एक क्रेट, मह आधा किलो, काजु, किसमिस, गुँड, ज्वानो, मेथी, गेडागुडीलगायतका सामग्री रहेको छ । उक्त सामग्रीबाट आमा र बच्चा दुवैका लागि आवश्यक पर्ने भिटामिन तथा पौष्टिक तत्व पाइने बताइएको छ । उपहार प्याकेज वितरण गर्दै गाउँपालिकाले आमा र बच्चा दुवैका लागि अपनाइने स्वास्थ्य सावधानीका सन्देशसमेत प्रवाह गरिरहेको छ । यो कार्यक्रमले सुत्केरी तथा गर्भवती महिलाले अपनाउनुपर्ने सावधानी, परिवार तथा अभिभावकले गर्नुपर्ने सहयोगबारे समेत जानकारी गराउने गरेको छ । कार्यक्रमले बाल तथा मातृ मृत्युदरमा कमी आउने अपेक्षा गाउँपालिकाले गरेको छ । कार्यक्रमअन्तर्गत नै आमा र बच्चाको स्वास्थ्य संवेदनशीलतालाई कसरी जोगाउने, आमा र बच्चाका लागि खानपिनको प्रबन्ध र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीले जानकारीसमेत गराउने गरेका छन् ।