काङ्ग्रेसको नुवाकोट–काठमाडौं सम्पर्क समितिमा महत र तामाङ पक्षलाई निषेध

बालाजु,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी सङ्गठनलाई बलियो बनाउने भन्दै आफ्ना पार्टीनिकटका नेता–कार्यकर्ता सङ्गठित गर्न थाले पनि एक पक्ष भेलाले काङ्ग्रेसलाई झन् कमजोर बनाएको छ । उक्त भेलामा नुवाकोटको काङ्ग्रेसमा पकड जमाएका सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामालगायत जिल्लाका उनीहरू पक्षका क्षेत्रीय अध्यक्ष ध्रुव श्रेष्ठ, जगत लामा, जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ, गाउँपालिका अधिकांश अध्यक्ष र कार्यकर्ताले निम्तो नै पाएनन् । पार्टीलाई सङ्गठित गर्ने क्रममा काङ्ग्रेस नुवाकोटले नुवाकोट–काठमाडौं सम्पर्क समिति गठन गरेको छ ।

       शनिबार राजधानीमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा काङ्ग्रेसका एक पक्षका नेता–कार्यकर्ताको उपस्थितिमा नुवाकोट–काठमाडौं सम्पर्क समिति गठन भएको छ । काङ्ग्रेसले गठन गरेको सम्पर्क समितिको अध्यक्षमा पदमराज पौडेल र वरिष्ठ उपाध्यक्षमा विदुर नगरपालिका– ९ का नेपाली काङ्ग्रेसका युवा नेता तथा सहकारीकर्मी (त्रिशूली बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष) समाजसेवी हरिलाल श्रेष्ठलाई चयन गरेको छ । उक्त भेलाले उपाध्यक्षमा टंक सिटौला, सचिवमा दीपक भण्डारी र पर्शुराम खनाल, सहसचिवमा डा. शम्भु दाहाल, तारालाल विक, दिलीप भट्टराई, केशव पाण्डे, रामजी श्रेष्ठलाई चयन गरेको छ । भेलाले सहउपसचिवमा पूर्ण श्रेष्ठलाई चयन गरेको छ भने कोषाध्यक्षमा अच्युतराज गौतमलाई चयन गरेको छ । यस्तै सहकोषाध्यक्षमा रश्मी तामाङलाई चयन गरेको छ । भेलाले सम्पर्क समितिको सदस्यमा विष्णुलाल श्रेष्ठ, राजु उप्रेती, अरुण डङ्गोल, दामोदर उप्रेती, शोभा ढुङ्गाना, रामेश्वर ढकाल, हर्क तामाङ, नारायण भण्डारी, गोविन्द गिरी, अरुण डङ्गोल, केदार पाण्डे, लीला तिमिल्सना, शान्ति खनाल खड्का, सागर न्यौपानेलगायत रहेका छन् । उक्त भेलाले नेपाल तरुण दल नुवाकोट–काठमाडौं सम्पर्क समिति पनि गठन गरेको छ ।

       काङ्ग्रेसले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएका नेपाली काङ्ग्रेसमा आबद्ध रहेका ८८ जना ज्येष्ठ राजनीतिज्ञलाई सो अवसरमा सम्मान गरेको छ । काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए भने पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्रीद्वय अर्जुननरसिंह केसी र डा. रामशरण महतले खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा सम्मानित हुनेमा लामो समयदेखि काङ्ग्रेसमा आबद्ध रहेर सक्रिय भइरहेका ७० वर्ष कटेका विष्णुु अधिकारी, (सठिया) पद्मराज पौडेल, शेरबहादुर घले, मौसमलाल श्रेष्ठ, गोकुल दाहाल, बद्री दाहाल, पूर्णबहादुर श्रेष्ठलगायतका रहेका छन् । भेलाको उद्घाटन गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडलले काङ्ग्रेसलाई सङ्गठित गर्दै पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिएका थिए । उनले वर्तमान सरकारको विकल्पमा काङ्ग्रेस नेतृत्वमा सरकार गठन गर्नुपर्ने भन्दै यसका लागि काङ्ग्रेसले छलफल गरिरहेको बताए । उनले पार्टीलाई सङ्गठित गर्न यस्ता सम्पर्क समितिको महत्वपूर्ण भूमिका रहने भन्दै सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । पार्टी सभापति जगदीश्वरनरसिंह केसीको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि काङ्ग्रेस नेता अर्जुननरसिंह केसीले सङ्गठन निर्माण सम्पर्क समिति गठनले सहयोग पुगेको बताए । कार्यक्रममा काङ्ग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले पनि काङ्ग्रेसले सङ्गठित बनाउँदै अबको निर्वाचनमा पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा काङ्ग्रेसका नेता रमेश महत, जिल्ला सचिव सुरेन्द्र अधिकारीलगायतका दर्जनौँभन्दा बढी जिल्लास्तरीय नेताले धारणा राखेका थिए ।

       उक्त भेलामा नुवाकोटमा शेरबहादुर देउवाको टेकोको रूपमा रहेका सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामालगायत उनी पक्षमा रहेका जिल्लाका नेताकार्यकर्ता अनुपस्थित रहे । जिल्ला कार्यसमितिले गरेको कार्यक्रममा आफ्नै जिल्लाबाट प्रतिनिधित्व गरेका सहमहामन्त्री डा. प्रकाशशरण महतलाई निमन्त्रणा नगरिएको भन्दै उनी पक्षका नेता–कार्यकर्ताले कार्यक्रममै असन्तुष्टि जनाएका थिए । आयोजकले वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, एनपी साउद, बहादुरसिंह लामाको समेत फोटो र नाम राखेर कार्यक्रमको प्रचार गरे पनि कार्यक्रममा वरिष्ठ नेता पौडेलपछि केसी र महत पक्ष मात्रै सहभागी भएका थिए । क्षेत्रीय अध्यक्ष ध्रुव श्रेष्ठ, जगत लामा, जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ, गाउँपालिकाका अधिकांश अध्यक्ष पनि उपस्थित भएनन् । एक पक्षका नेता उपस्थित नभएपछि कार्यक्रममा सहभागी भएकाले खल्लो महसुस गरेका थिए । यस्तै, सम्पर्क समिति गठन गर्दा पनि केसी र महत पक्षकालाई मात्रै समेटिएको छ भने धेरैभन्दा धेरै पद सिर्जना गरेर कार्यकर्तालाई बाँधेका छन् । काङ्ग्रेसको यो विवादले सङ्गठन निर्माणका लागि भनिएका सङ्गठन झन् विवादित बन्दै गएको छ । यसअघि काङ्ग्रेसले १२ स्थानीय तहलाई राजधानीसँग जोड्ने भन्दै समिति गठन गरेको थियो । अहिले कम्युनिस्टको घरझगडाले फाइदा हुन्छ भन्दै रमाइरहेका काङ्ग्रेसीहरू नुवाकोटमा काङ्ग्रेसको पकड जमाएका केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामालगायत जिल्लाका नेता–कार्यकर्तालाई कसरी समेट्ला ।