वासिङ मेसिन हस्तान्तरण

त्रिशूली, विदुर नगरपालिका-१ त्रिशूलीमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई वासिङ मेसिन प्रदान गरेको छ ।

      सहकारीको ११औँ वार्षिकोत्सवको अवसर पारेर सहकारीले देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई वासिङ मेसिन वितरण गरेको हो । सहकारीले विदुर नगरपालिका-५ का वडाध्यक्ष शिवकुमार चित्रकारको उपस्थितिमा देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णु नेपाललाई वासिङ मेसिन हस्तान्तरण गरेको थियो । विदुर नगरपालिका-५ का वडाध्यक्ष शिवकुमार चित्रकारले सबै दाताको सानो–ठूलो सहयोगले प्रतिष्ठानमा रहेका आमाबुबाको जीविका चलेकाले सबैले हातेमालो गरेर सहयोग गर्नुपर्ने बताए । उनले देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान बागमती प्रदेशकै उत्कृष्ट हेरचार केन्द्रको रूपमा विकसित भइरहेको भन्दै खुसी व्यक्त गरे ।

     कार्यक्रममा देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले सबैको सहयोगले प्रतिष्ठानमा रहेका वृद्धवृद्धाको हेरचाह गर्न सकिएको बताए । उनले आगामी दिनमा पनि सहकारीबाट यस्तै सहयोगको अपेक्षा गरेको उल्लेख गरे । देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा अहिले ३२ जना वृद्धवृद्धाले आश्रय लिइरहेका छन् ।