निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै हुलाक

  • कौशिक नवराज

हुलाकलाई पनि सूचना प्रविधिसँग आबद्ध गरी अन्य नवीनतम काम दिन सकिन्छ । यसका लागि सरकारले हुलाकप्रति रहेको आफ्नो सोच परिवर्तन गर्नुपर्ने देखिन्छ जसमा मुख्य रूपमा अर्थ मन्त्रालयले ।

सञ्चार गर्ने विभिन्न माध्यमको नाम लिँदा सबैभन्दा पुरानो र भरपर्दो माध्यमको रूपमा अझै पनि हुलाक सेवाको नाम लिने गरिन्छ । नेपाल सरकारले राजपत्रमा अत्यावश्यक वस्तु तथा हडताल निषेध वस्तु र सेवाको सूचीमा हुलाक डाँक सेवा पहिलो नम्बरमा परेको देखिन्छ । हुलाकको माध्यमबाट नै आमसर्वसाधारणलाई पु¥याउनुपर्ने अति आवश्यक र आधारभूत सेवाको रूपमा हाल यो पनि क्रियाशील नै रहेको देखिन्छ । वर्तमान अवस्थामा हुलाक निजी क्षेत्रसँगको चर्को प्रतिस्पर्धाले गर्दा यस सेवालाई पनि थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन सेवाग्राहीमुखी सोचको आधारमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ । यस्तो अवस्थामा हुलाकबाट हाल प्रदान गरिरहेका सेवा निजी क्षेत्रको तुलनामा सबैभन्दा सस्तो भरपर्दो छिटो, छरिटो, सुलभ र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने टडकारो आवश्यकता देखिन्छ । नेपालमा हुलाक सेवाले गत आर्थिक वर्षदेखि सफ्टवेयर प्रणालीद्वारा काउन्टर अटोमेसनको सुधारिएको रूपमा पिट्स सेवा सुचारु गरिसकेको यसैगरी हुलाक बचत बैंकलाई पनि ABBS सेवा सञ्चालनका लागि उपत्यकाका तीन जिल्लामा ट्रायलको रूपमा थालनी गर्ने कार्यका लागि पहल भइरहेको यसका साथै विभिन्न सफ्टवेरमार्फत सेवा दिन थालिसकेको र हुलाक सेवा विभाग र अन्तर्गतका निकायलाई आधुनिक स्रोतसाधनसम्पन्न बनाउने गरी आधुनिकीकरणको प्रयास भएको देखिन्छ ।  आमसर्वसाधारण जनता र सरकारी चिठीपत्र ओसार–प्रसार तथा वितरण गर्ने गरी स्थापित हुलाक सेवाले संस्थागत स्वरूप ग्रहण गरी कार्य सञ्चालन गरेको पनि लामो समय भइसकेको देखिन्छ । हुलाकले परम्परागत सेवाका अतिरिक्त हाल वित्तीय व्यावसायिक र सामाजिक सेवासमेत सञ्चालन गर्दै आइरहेको देखिन्छ । युपियूको उद्देश्यमा पनि हुलाकले प्रदान गर्ने सेवामा सामाजिक, व्यावसायिक र परम्परागत सेवाको रूपमा लिएको देखिन्छ । हुलाकका परम्परागत सेवा ही परमोधर्म भन्ने मूल मर्मबाट सञ्चालित भएको देखिन्छ भने हाल व्यावसायिक सेवा भने नाफाको र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने उद्देश्यबाट सञ्चालन गर्न थालिएको देखिन्छ । नेपालमा हुलाक सेवाबाट प्रदान गरिने सेवालाई वर्गीकरण गरिएको छ :

आधारभूत सेवा :
साधारण चिठीपत्रका साथै सात केजीसम्मका अन्धा साहित्य जुन हाल त्यति धेरै प्रचलनमा रहेको देखिँदैन यसका साथै पुलिन्दा पार्सल जसमा विदेशबाट मोबाइल र ल्यापटपका साथमा दुई केजीसम्मका प्याकेट जसमा अनलाइन सपिङ गर्ने प्रचलनका हुलाकले सो कार्य सस्तो रूपमा गरिरहेको देखिन्छ भने हाल हुलाकले आधारभूत सेवाको रूपमा हुलाक टिकट नटाँसेका पत्रपत्रिका निःशुल्क रूपमा गाउँगाउँसम्म वितरण गर्दै आएको देखिन्छ । यसका अतिरिक्त साबिकमा हुलाकले प्रदान गरेका, तर हाल शून्यप्रायः रहेका पोस्टरेतान्ते, बैरङ हुलाक वस्तुका साथै पोस्ट कार्ड पनि पर्दथे ।

विशिष्टीकृत सेवा :
हुलाक सेवाले आठ रुपैयाँको टिकट टाँसेका साधारणपत्रका साथमा केही विशेषपत्र जुन साधारणपत्रमा पठाउन बन्देज गरिएको अवस्थामा २८ रुपैयाँको टिकट टाँसेर रजिस्ट्री गरेर नम्बरसहित पठाउने गरिन्छ । जसलाई रजिस्ट्रीपत्र भनिन्छ जनु हुलाकले विशिष्टीकृत सेवाको रूपमा राखेर प्रदान गर्दै आएको भने साबिकमा बिमा सेवा सञ्चालन गरे पनि हाल शून्यप्रायः रहेको देखिन्छ । हुलाक बिमाको रूपमा विश्वमै उदाहरणीय रूपमा सफल सञ्चालन गर्न र आमजनताको मन जित्न सफल हुलाक हाम्रै छिमेकी मुलुक भारत हो । जसमा हुलाक बिमा निकै नै लोकप्रिय भएको त्यहाँ बिबिसीले गरेको एक सर्वेक्षणमा पनि देखिएको थियो ।

व्यावसायिक सेवा :
हुलाकले हाल परम्परागत सेवाका अतिरिक्त व्यावसायिक सेवा पनि सञ्चालन गरेको देखिन्छ जुन केही समय पहिलेसम्म निकै नै धेरै कारोबार भए पनि हाल निजी क्षेत्रबाट सञ्चालित मनि ट्रान्सफरका कारण यो सेवा शून्यप्रायः रहेको देखिन्छ । केही वर्ष पहिलेसम्म एक स्थानबाट अर्को स्थानमा रकम आदान गर्ने सुरक्षित र भरपर्दो र लोकप्रिय माध्यमको रूपमा धनादेश सेवा सञ्चालित थियो । आन्तरिक र वैदेशिक रूपमा सञ्चालित यो सेवा पाँच सय २१ वटा हुलाक कार्यालयबाट सञ्चालनमा आएको थियो भने हाल शून्य कारोबार भए पनि मासिक प्रतिवेदन भने हुलाक सेवा विभाग र केन्द्रीय धनादेश कार्यालयलाई रिपोर्ट गरिरहनुपर्ने अवस्था देखिन्छ । नेपालमा आन्तरिक धनादेश सेवा वि.सं. ०३१ सालदेखि र वैदेशिक धनादेश सेवा विशेषगरी भारतसँग भारतीय पेन्सनका लागि वि.सं. ०३७ सालदेखि सञ्चालन भए पनि हाल भारतीय सेना र प्रहरीका कर्मचारीलाई पेन्सन दिने र सूचना सङ्कलन गर्ने कार्यका लागि नेपालमा विभिन्न स्थानमा भारतीय क्याम्प सञ्चालन भएका कारण यो सेवा प्रभावित हँदै निष्क्रिय हुन पुगेको देखिन्छ ।

       विश्व हुलाक सङ्घका सदस्य राष्ट्रमध्ये सबैभन्दा बढी सफल र लोकप्रिय रूपमा धनादेश सेवा सञ्चालन गर्ने मुलुक बंगलादेश हो । जहाँ हुलाकबाट सञ्चालित धनादेश सेवा निजी क्षेत्रका मनी ट्रान्सफर कम्पनीभन्दा पनि बढी विश्वास आर्जन गर्न सफल भएको देखिन्छ । नेपालमा पनि सफ्टवेयर निर्माण गरी मनी ट्रान्सफरको रूपमा नै धनादेश सेवालाई पुनः सञ्चालन गर्न भने कुनै समस्या देखिँदैन । केन्द्रदेखि प्रत्येक जिल्लामा जिल्ला हुलाक कार्यालय र प्रत्येका पालिकामा इलाका हुलाक हुँदै प्रत्येक वडा कार्यालय सङ्गठन संरचनाका साथै भवन र जनशक्ति भएको हुलाकको यो अवसरको सदुपयोग गर्दै विदेशबाट पठाएको रकमका साथमा नै नेपालमा ज्येष्ठ नागरिक र लोपोन्मुख समुदायका लागि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उपयुक्त र प्रभावकारी माध्यम हुन सक्ने देखिन्छ । हाल पनि धरै पालिकामा बैंक तथा वित्तीय सेवा पुग्न नसकिरहेको अवस्थामा हरेक पालिका रहने हुलाकको स्थायी च्यानल प्रयोग गरेर यो सेवालाई आधुनिक रूपमा सञ्चालन गर्न सकेमा हुलाकप्रति जनतामा गुमेको साख फर्किन सक्ने देखिन्छ ।

     यसका साथै हुलाकबाट प्रदान गरिने अर्को व्यावसायिक सेवा हो हुलाक बचत बैंक सेवा । साना बचतकर्तालाई प्रोत्साहन गरी बचत परिचालनद्वारा राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यबाट वि.सं. ०३३ सालदेखि नेपालका एक सय १७ हुलाक कार्यालयबाट यो सेवा उपलब्ध गरिँदै आएको देखिन्छ । जसमा ज्येष्ठ नागरिकलाई विशेष सम्मानसहित सात प्रतिशत ब्याजदर, यसैगरी नाबालक र अन्य साधारण बचत खातामा ६ प्रतिशत ब्याजदर र ब्याजमा कर नकाटिने गरी नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित रहेको बैंकमा सय रुपैयाँमा नै खाता खोल्न सकिने साथै चेकबुक र पासबुक निःशुल्क वितरणजस्ता प्रावधान समेटिएका भए पनि हाल CGAS प्रणालीमा हुलाक बचत बैंक समावेश नभएका कारण यो सेवामा कारोबार रकममा उल्लेख्य कमी आएको देखिन्छ ।

      विश्वमा नै हुलाक बचत बैंक सेवाको सफल सञ्चालन गर्ने मुलुक जापान हो । जहाँ हरेक व्यक्तिले सरकारी सेवा प्राप्त गर्न हुलाक बचत बैंकको खाता अनिवार्य खोल्न पर्ने प्रावधान रहेको देखिन्छ । हुलाक बचत बैंकमा खाता नखोलेसम्म बच्चाको जन्मदर्तासमेत नहुने प्रावधान रहेको देखिन्छ । नेपालमा पनि हुलाक बचत बैंकलाई ABBS सेवाका CGAS मा समावेश र अनलाइन माध्यमबाट साथै ऋण वितरण हुलाकबाहेकका कर्मचारीबाहेक सबै निजामती कर्मचारीलाई दिन सकेको खण्डमा यसले पक्कै पनि स्थापनाको उद्देश्य पूरा गर्न सक्ने देखिन्छ ।

       हुलाकबाट प्रदान गरिने अर्को व्यावसायिक सेवा हो द्रुत डाँक सेवा । हुलाकबाट छिटो, छरितो, गुणस्तरीय र भरपर्दो सेवा सञ्चालन गर्ने उद्देश्यबाट हुलाक सेवा विभागले देशभरका ६० स्थानबाट आन्तरिक द्रुत डाँकसेवा सञ्चालन गरेको देखिन्छ भने विश्वमा ३९ मुलुकसँग डकुमेन्ट उपहार नमुना तथा व्यापारिक वस्तु आदानप्रदान गर्ने गरी अन्तर्राष्ट्रिय द्रुत डाँकसेवा सञ्चालन गरेको देखिन्छ । नेपालमा आन्तरिक द्रुत डाँक सेवा वि.सं. २०४६ वैशाख १ गतेदेखि र अन्तर्राष्ट्रिय द्रुत डाँकसेवा सन् १९९५ जनवरी १ देखि प्रारम्भ गरिएको थियो ।

      नेपाली हुलाक टिकटको फिलाटेलिक विकास र सम्बद्र्धन गर्न वि.सं. २०१७ सालमा नेपाल फिलाटेलिक ब्युरोको स्थापना गरिएको थियो भने हुलाक फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका नामबाट सञ्चालन रहेको छ । सानो राजदूतको रूपमा विश्वका हरेक कुनाकुनासम्म पुग्न सफल हुलाक टिकटमा राष्ट्रको कला, संस्कृति, प्राकृतिक सम्पदा ऐतिहासिक घटनाका साथमा राष्ट्रिय व्यक्तित्वलाई समावेश गरी हुलाक टिकट प्रकाशन गरिन्छ । KING OF THE HOBBY को रूपमा रहेको हुलाक टिकटको सङ्ग्रह र व्यवसायलाई प्रोत्साहन गर्न फिलाटेली सेवा हुलाकबाट प्रदान गरिँदै आएको छ । हाल यो क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित संस्था नेपाल फिलाटेलिक सोसाइटीले पनि महत्वपूर्ण योगदान गरेको छ । हुलाकबाट प्रदान गरिने अर्को व्यावसायिक सेवा भनेको पोष्टबक्स सेवा हो । हुलाकवस्तुको सरल र सहज वितरणका लागि विभिन्न कार्यालय र सङ्घ–संस्था तथा व्यक्तिलाई हुलाक कार्यालयबाट पोस्टबक्स सेवा उपलब्ध गरिँदै आएको देखिन्छ । हाल नेपालमा यो सेवा गोश्वारा हुलाक कार्यालयबाट मात्रै प्रदान गरिँदै आएको देखिन्छ । यसमा पनि नगन्य रूपमा मात्रै पत्र आउने गरेको जसमा नेपालमा कार्यरत रहेका विदेशी नियोगका कर्मचारी र कार्यालयका पत्र बढी पोस्टबक्समा पर्ने गरेको देखिन्छ ।

       विश्वमा नै पोस्ट बक्सको सफल अभ्यास गर्ने मुलुक अमेरिका हो । अमेरिकामा एक परिवार एक पोस्टबक्स रहेको भन्ने विवरण विश्व हुलाक सङ्घले सार्वजनिक गरेको थियो । अमेरिका आफैँ भौतिक रूपमा उपस्थित भएर दिनुपर्ने परीक्षाबाहेकका बैंकका सामग्रीदेखि लिएर ड्राइभिङ लाइसेन्स क्रेडिट कार्डदेखि विश्वविद्यालयका अन्य पाठ्य सामग्री पनि हुलाकबाट परिवारमा रहेको पोस्टबक्समा तोकिएको समयमा नै जम्मा हुने गरेको देखिन्छ । नेपालमा पनि हरेक व्यक्तिको सम्भव नभए पनि हरेक कार्यालयको पोस्टबक्स सञ्चालन गरेर पत्र त्यहीँ तोकिएको समयमा नै डेलिभरी गर्ने सिस्टम ल्याउन सके पत्र चाँडै पुग्ने देखिन्थ्यो भने स्रोत र साधनको पनि प्रभावकारी प्रयोग हुने देखिन्छ ।

       देशभर फैलिएको हुलाक सेवाको बृहत् सञ्जाल र त्यहाँको भौतिक सुधार गरी सूचना प्रविधिको प्रयोगद्वारा प्रत्येक हुलाक कार्यालयलाई आधुनिक रूपमा सञ्चालन गर्नुका साथै विभिन्न किसिमका लाइसेन्स पासपोर्ट वितरण आदि अन्य काम प्रदान गरी सञ्चालन गर्नुपर्ने देखिन्छ । त्यसैगरी, हुलाकलाई पनि सूचना प्रविधिसँग आबद्ध गरी अन्य नवीनतम् काम दिन सकिन्छ । यसका लागि सरकारले हुलाकप्रति रहेको आफ्नो सोच परिवर्तन गर्नुपर्ने देखिन्छ जसमा मुख्य रूपमा अर्थ मन्त्रालयले । अर्थ मन्त्रालयको हुलाकप्रतिको पहिलो सोच नै गलत रहेको देखिन्छ । हुलाकका के काम हुन्छ, हुलाकको आउटपुट के छ । इनपुट भए पो वा दिए पो आउटपुट हुन्छ । बिनाइनपुट कसरी आउटपुट निस्कन्छ । हाल इलाका हुलाक कार्यालयको गुनासो जिल्ला हुलाकले अनि जिल्लाको विभागले यसैगरी विभागको सञ्चार मन्त्रालयले अनि सञ्चारको प्रतिनिधि अर्थमा गएर बजेट कार्यक्रम र स्रोत ल्याउनै नसकेको अवस्थामा हुलाक कसरी पो सुधार गरी निजी क्षेत्र विश्वका अन्य मुलुकसँग प्रतिस्पर्धी बनाउन सकिन्छ ।

जिल्ला प्रशासन कार्यालय,
विदुर, नुवाकोट

nabarajrimal66@gmail.com