प्रहरी कार्यालय सिक्रेको भवन उद्घाटन

शिवपुरी,  नुवाकोटको शिवपुरी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय सिक्रेको नवनिर्मित कार्यालय भवन उद्घाटन भएको छ ।

      राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा बनेको भवन प्रहरी प्रधान कार्यालय मानव स्रोत प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाहीले उद्घाटन गरेका हुन् । सो अवसरमा महानिर्देशक शाहीले सम्बोधन गर्दै भौतिक पूर्वाधार निर्माणले प्रहरीको मनोबल उच्च हुने बताए । उनले सो अवसरमा इलाका प्रहरी कार्यालयमा खटिएका प्रहरीलाई आमनागरिकमा प्रवाह हुने सेवा सुधार गर्न तथा कार्यालय भवनको संरक्षण र सम्भार गर्न निर्देशन दिएका थिए । सो कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामाले देशभरमा प्रहरी जनशक्ति ३७ प्रतिशतले कम रहेको बताउँदै जनशक्ति पूरा गर्न सङ्गठनले गृहकार्य गरिरहेको बताए । नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले कानुनविपरीत काम गर्ने र अपराध गर्नेविरुद्ध प्रहरीले उत्कृष्ट कार्य सम्पादन गरेको बताए । उनले कतिपय स्थानमा प्रहरी जनशक्ति कम हुँदा काम गर्न असहज भएको बताए ।

     शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले राज्यले जनतालाई सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्ने बताए । उनले सुरक्षा दिन भौतिक पूर्वाधारको पनि त्यति नै आवश्यकता भएकाले शिवपुरीवासीको सुरक्षाका लागि गाउँपालिका कार्यालयनजिक पनि प्रहरी भवन निर्माण गर्न लागिएको उल्लेख गरे । गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले नागरिक पनि बिनाबर्दीको प्रहरी भएकाले प्रहरीलाई थप सहयोग गर्न स्थानीय बासिन्दालाई आग्रह गरिन् । इलाका प्रहरी कार्यालय रहेको वडा नं. ४ का वडाध्यक्ष झमकराज गुरुङले दरबन्दीमा रहेका प्रहरी नबस्ने गरेकोमा दुःख व्यक्त गरे । उनले इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहे पनि कहिल्यै नआएको बताउँदै हवल्दारको भरमा इलाका प्रहरी चलेको स्मरण गरे । उनले यथाशीघ्र दरबन्दीअनुसारको प्रहरी उपलब्ध गराउन उपल्लो निकायको ध्यानाकर्षण गराए ।

      करिब तीन रोपनी दुई आना क्षेत्रफलमा नवनिर्मित भवन दुई करोड ३७ लाख लागतमा निर्माण भएको हो । कार्यक्रममा जग्गा उपलब्ध गराउने कमलबहादुर श्रेष्ठ, ज्ञानबहादुर विश्वकर्मालगायत प्रहरी भवन निर्माणमा सहयोग गर्ने ताराबहादुर थापा, तिलकबहादुर तामाङ, पदमबहादुर बुढाथोकी, नारायणबहादुर श्रेष्ठ, केदारबहादुर प्याकुरेल, चन्द्रबहादुर गुरुङ, दिनेशलाल श्रेष्ठ, बोलबहादुर खड्का, कर्णबहादुर श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा नुवाकोट प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, शिवपुरी गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष, स्थानीय वासिन्दाको उपस्थिति थियो ।