शिवपुरी अध्यक्ष गोल्डकप फुटबलको विजेता खेलाडीलाई विनपाद्वारा सम्मान तथा नगद पुरस्कार

  • पुरुषोत्तम बस्नेत

विदुर, नुवाकोटको शिवपुरी गाउँपालिकामा चैत १८ देखि २५ गतेसम्म भएको पालिकास्तरीय अध्यक्ष गोल्डकप फुटबल प्रतियोगितामा विदुर नगरपालिका प्रथम भएको छ । नुवाकोट जिल्लाका १२ वटै स्थानीय तहले भाग लिएको उक्त प्रतियोगिताको उपाधि विदुर नगरपालिकाले उचालेको छ ।

       फाइनल खेलमा आयोजक शिवपुरी गाउँपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै विदुरले उपाधि उचालेको हो । विदुरका लागि चारवटै गोल आकाश रानामगरले गरेका थिए । उनले खेलको १६, १९, ४८ र ५८औँ मिनेटमा गोल गरे । शिवपुरीका लागि एक गोल आशिष थिङले ४३औँ मिनेटमा गरेका थिए । उनले प्रहार गरेको उत्कृष्ट फ्रिकिकले जाली चुमेको थियो । जितसँगै विदुर नगरपालिकाले ६ लाख रुपैयाँ र ट्रफी हात पा¥यो । त्यस्तै, शिवपुरीले चार लाख रुपैयाँ र ट्रफी पायो । त्यस्तै सूर्यगढीलाई ५-१ ले पराजित गर्दै किस्पाङ गाउँपालिकाले तेस्रो स्थान हासिल ग¥यो । किस्पाङका लागि बुद्धि तामाङ, खेमन तामाङ, पृथ्वीनरसिंह प्याकुरेल र सुमन तामाङले गोल गरे । खेमनले ४२ र ६५औँ मिनेटमा गोल गरेका थिए । किस्पाङले दुई लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गरे । प्रतियोगिताभरमा शिवपुरी गाउँपालिकाका खेलाडी मोहन गुरुङ उत्कृष्ट साबित भए । उनले १५ हजार नगद प्राप्त गरे । त्यस्तै, उच्च गोलकर्ता विदुर नगरपालिकाका आकाश रानामगर, उत्कृष्ट मिडफिल्ड सूर्यगढीका रञ्जित गुरुङ, उत्कृष्ट गोलरक्षक विदुरका सूर्य तामाङ, उत्कृष्ट डिफेन्डर शिवपुरीका अलिक रुम्बा, उत्कृष्ट फरवार्ड शिवपुरीका सागर भण्डारी घोषित भए । उनीहरूलाई जनही नगद पाँच हजार प्रदान गरियो । उत्कृष्ट प्रशिक्षकको विधा भने विदुर नगरपालिकाका प्रशिक्षकले पाउनुपर्नेमा रेफ्री तथा आयोजकप्रति अभद्र व्यवहार देखाएकाले विधा नै रद्द गरिएको थियोे ।

      कार्यक्रमका प्रमुख अतिथि सांसद हितबहादुर तामाङ, विशिष्ट अतिथि सांसद बहादुरसिंह लामा, बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केसीलगायतले विजेतालाई पुरस्कार प्रदान गरेका थिए । शिवपुरी अध्यक्ष कप अन्तरपालिका फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीलाई विदुर नगरपालिकाले शुक्रबार सम्मान गर्दै नगद पुरस्कार वितरण गरेको छ । नगर खेलकुद विकास समिति विदुरको आयोजनमा भएको सम्मान तथा नगद पुरस्कार वितरण कार्यक्रममा विदुर नगरपालिकाको तर्फबाट विजेतास्वरूप प्राप्त नगद ६ लाख रुपैयाँमा कर कट्टी गरी बाँकी रहेको पाँच लाख ८५ हजार रुपैयाँ जनही २९ हजार २ सय ५० रुपैयाँको दरले खेलाडीलाई वितरण गरिएको थियो । नगरपालिकाको तर्फबाट थप पाँच-पाँच हजार रुपैयाँ प्रदान गर्दै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा चार गोल गर्ने आकाश रानामगरलाई नगद २५ हजार तथा उत्कृष्ट गोलकिपर सूर्य तामाङलाई नगद १० हजार प्रदान गरिने विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताए ।

      मेयर पण्डितले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै विदुर नगरपालिकाको इज्जत बढाइदिएकोमा सम्पूर्ण खेलाडीलाई धन्यवाद दिँदै आर्थिक प्याकेजसहित जीवन निर्वाह गर्न सक्ने गरी खेलकुदमा उल्लेख्य बजेट विनियोजन गर्ने बताए । कार्यक्रममा विदुर नगरपालिका-१ का वडाध्यक्ष लेलिन रञ्जितले उत्कृष्ट खेल खेल्ने आकाश रानामगरलाई व्यक्तिगत पाँच हजार रुपैयाँ प्रदान गरेका थिए भने शिक्षा शाखाका निरीक्षक तुलध्वज खतिवडाले खेलाडीका लागि व्यक्तिगत पाँच हजार प्रदान गरेका थिए । त्यसैगरी, उक्त प्रतियोेगितामा प्रथम हुने विदुर नगरपालिकाको टिमलाई मंगलबार उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीको उपस्थितिमा विदुर कर परामर्श सेवा र नुवाकोट जेसिस वर्ष २०२१ ले संयुक्त रूपमा सम्मान गरेको थियो ।