तुप्चे–काठमाडौं समाजको अधिवेशन सम्पन्न

गोंगबु, नुवाकोटको विदुर नगरपालिका-७ साबिक तुप्चे गाविसमा जन्मेर काठमाडौंमा स्थायी-अस्थायी रूपमा बसोवास गर्नेको संस्था तुप्चे–काठमाडौं एकता समाजको १६औँ वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार गोंगबु काठमाडौंमा सम्पन्न भएको छ ।

      अधिवेशनको उद्घाटन संविधानसभा सदस्य राममाया बोगटीले गर्दै समाजले तुप्चेको शैक्षिक विकासमा सहयोग गर्दै सामाजिक सद्भाव कायम गराउन सफल रहेको बताइन् । समाजले काठमाडौंमा विभिन्न पेसा र व्यवसाय गरेर बसिरहेका तुप्चेका दाजुभाइ, दिदीबहिनीलाई जमघट गराई दुःखसुखको सारथि बनिरहेको बताउँदै उनले प्रशंसा गरिन् । समाजका अध्यक्ष सोमप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव विष्णुप्रसाद रिजाल, कोषाध्यक्ष सीताराम थापाले प्रस्तुत गरेको प्रतिवेदन छलफल गरी पारित भएको थियो । समाजका अध्यक्ष शरण उत्सुक सापकोटाले स्वागत गरेको कार्यक्रममा वरिष्ठ सल्लाहकार एवम् संस्थापक अध्यक्ष भरतकुमार खड्का, निवर्तमान अध्यक्ष उज्ज्वलजंग ठकुरी, समाजका सल्लाहकार एवम् टोखा नगरपालिका– ११ का अध्यक्ष उत्तम अधिकारी, विदुर नगरपालिका-७ का अध्यक्ष महेन्द्र तामाङ, तरुण दल नुवाकोटका अध्यक्ष एवम् समाजका सदस्य सिंहराज लामालगायतले समाजको स्थापनादेखि अहिलेसम्मको गतिविधिबारे बोलेका थिए ।

       १८ वर्षअघि स्थापना भएको समाज विधिवत् जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ०६३ मा दर्ता भएको थियो । समाजको अधिवेशनले पुनः सोमप्रसाद भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको छ । यो अध्यक्ष भण्डारीको तेस्रो कार्यकाल हो । समाजको निर्वाचित अन्य पदाधिकारीमा शरण उत्सुक सापकोटा उपाध्यक्ष, सीताराम थापा सचिव, नीराजन अधिकारी कोषाध्यक्ष र सदस्यमा डा. चेतनाथ अधिकारी, उत्तमकुमार लामिछाने, महेन्द्र तामाङ, रामहरि अधिकारी, डा. भीमलाल तामाङ, फूलमाया तामाङ, होमबहादुर तामाङ चयन भएका छन् । अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ । समितिको वरिष्ठ सल्लाहकारमा भरतकुमार खड्का, उज्ज्वलजंग ठकुरी, उत्तम अधिकारी, बेनीजंग (पुष्प) ठकुरी, विष्णुप्रसाद रिजाल रहेका छन् ।