धादिङबेंसीमा वाइफाई फ्री !

धादिङ, धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाले सदरमुकाम धादिङबेंसीमा फ्री वाइफाई सेवा सुरु गरेको छ । इन्टरनेटको पहुँच आमनागरिकसम्म विस्तार गर्ने उद्देश्यका साथ नगरपालिकाले सदरमुकाम धादिङबेंसीमा फ्री वाइफाई सेवा सुरु गरेको छ । शुक्रबारदेखि नीलकण्ठ नगरपालिका– ३ को सदरमुकाम बजार क्षेत्रमा फ्री वाइफाई सञ्चालनमा रहेको छ ।

      सदरमुकाम धादिङबेंसीको बीचबजार, धादिङ उद्योग वाणिज्य सङ्घको भवन आसपास क्षेत्र, सिरान बजार क्षेत्र र पुछारबजार बसपार्क क्षेत्रमा फ्री वाइफाई सेवा सञ्चालनमा ल्याएको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले जानकारी दिए । सामान्यता एउटा राउटरबाट एकैपटक एक सय ५० जनाले र एकजनाले एकपटकमा ९० मिनेटसम्म निःशुल्क चलाउन सक्ने गरी सेवा विस्तार गरिएको मेयर ढुङ्गानाले बताए । बजार क्षेत्रमा पाँचवटा राउटरबाट पाँच ठाउँमा फ्री वाइफाई सेवा सुरु भएको छ । वैशाखको पहिलो हप्तादेखि धादिङबेंसी पूरै बजार क्षेत्रमा फ्री वाइफाई सेवा प्रवाह गरिने पनि उनले बताए ।

     नगरपालिकाले जिपिएस सिस्टम राख्ने तयारी अगाडि बढाइसकेको र नीलकण्ठको विकासका लागि विभिन्न इन्डिकेटमध्ये सूचना प्रविधि दु्रत गतिमा अगाडि बढेको मेयर ढुङ्गानाले जानकारी दिए । ढुङ्गाना मेयर भएर आएपछि धादिङबेंसी बजार क्षेत्रमा २६ वटा क्यामेरा जडान गरेर सिसिटिभी राखिएको छ । सिसिटिभीले बजार क्षेत्रमा हुने सडक दुर्घटना, चोरी र अपराध नियन्त्रणमा सहयोग पुगेको धादिङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठले बताए । सिसिटिभीको कन्ट्रोल रूम जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ । बजार क्षेत्रमा जडान गरिएको सबै क्यामेराले काम नगरेको, केबुल तार चुँडिएको, कतै व्याट्रीले काम नगरेकोले मर्मत गर्नुपर्ने अवस्था रहेको उद्योग वाणिज्य सङ्घ धादिङले जानकारी दिएको छ ।