संस्था बनेको एउटा छापा

  • रामशरण प्याकुरेल

काठमाडौंबाट प्रकाशित अखबारमा जिल्लाको समाचार आउँदा खोजी-खोजी पढ्ने अवस्थाबाट हामी जिल्लाबासी गुज्रिरहेका थियौं । काठमाडौंका अखबारले जिल्लाका घटनाक्रमलाई ‘नोटिस’ मा लिई दिंदा मात्र नुवाकोट जिल्लाका बारेमा मुलुकको विभिन्न हिस्सामा जानकारी पुग्ने अवस्था थियो । ती समाचारमा नुवाकोटका बारेमा राम्रा भन्दा पनि नराम्रा घटनाले चर्चा पाएका हुन्थे । २०५७ मा त्यस भन्दा अगाडी प्रकाशित जिल्लाको दुईवटा पत्रिकाको तेस्रो लहरमा त्रिशूली प्रवाह पत्रिकाको थालनी हुँदा औधी खुसी हुने मध्ये म पनि थिए । तर अहिले त नुवाकोटमा पनि पत्रकारिताको राम्रै पङ्क्तिको विकास भईसकेको छ । नविन प्रविधिको आगमन र सहज कानूनी वातावरणमा मिडियाको क्षेत्रमा आमूल परिवर्तन देखिएको छ । यस क्षेत्रमा लगानीकर्ता र सञ्चारकर्र्मीको ठूलै जमात बनिसकेको छ । नुवाकोटलाई केन्द्र मानी यहीँबाट पत्रकारितामार्फत राष्ट्रलाई योगदान दिनेको संख्या उल्लेख्य देख्न देखिन्छ । तर पत्रकारिता गर्नु भनेको समाजसेवा गर्नु हो भन्ने बुझ्न बाँकी छ कि भन्ने आभास पनि हुने गर्दछ । पत्रकारिता सेवामुखी पेशा हो, यो नाफा कमाउन नभई सामान्य जीवन निर्वाहको पेशा भनेर स्वीकार्नुपर्छ । समाजको निःस्वार्थ सेवा गर्ने मिसन लिएर अगाडी बढ्न सके मोफसलको पत्रकारिताको विकास असम्भव छैन भन्ने कुरा आज त्रिशूली प्रवाहले जिल्लामा प्रमाणित गरेर देखाएको छ । पैसा कमाउने सोच बोकेकाले पत्रकारितामा नलाग्दा राम्रो हुन्छ । उसले आफू र ब्यवसायिक पत्रकारितालाई असर नपु¥याउन सजग भएर अगाडी बढ्नुपर्छ, यसो भन्दैमा पत्रकार आफू मरेर अरुलाई बचाउन असम्भव छ । यो सम्भव बनाउन पत्रकारिता गरेर बाँच्न सक्ने आधारको विकास र बिस्तार हुनु आवश्यक छ । त्यो आधार त्रिशूली प्रवाहले बनाईसक्यो भन्न हिच्किचाउनु पर्दैन ।

       आज नुवाकोट जिल्लामा पनि दैनिक, साप्ताहिक, मासिक पत्रिकाको प्रकाशनको साथै इलेक्ट्रोनिक्स सञ्चार माध्यमको संख्या पनि बृद्धि हुँदै गएको छ । यस्तो अवस्थामा एफएम रेडियो र टेलिभिजन सञ्चालन गर्ने होडबाजी पनि चलेको छ । इलेक्ट्रोनिक मिडिया, एफएम, रेडियो तथा टेलिभिजन सञ्चालन भएपनि त्रिशूली प्रवाहको आफ्नै खालको क्रेज कायम भएको छ, मानक स्थापित गरेको छ । पत्रकारितामा निरन्तरताको २२ औं वर्षमा प्रवेश गरेर आज यो त्रिशूली प्रवाह एउटा संस्था बनिसकेको छ । त्रिशूली प्रवाह भन्दा पहिले प्रकाशन शुरु गरेका र यसपछि प्रकाशनमा आएका जिल्लाका कतिपय पत्रिकाको अस्तित्व नै समाप्त भएको र भएकाको पनि निरन्तरतामा प्रश्न चिन्ह खडा भईरहँदा यसले आफ्नो सेवा र पत्रकारिताप्रतिको निरन्तरता अभिछन्नरुपमा कायम गर्न सकेको छ । यो निरन्तरताका लाग त्रिशूली प्रवाहको टिमले खर्च गरेको समय र श्रोत प्रशसनीय छ ।

      एउटा घटना सधंै सम्झना आईरहन्छ । पत्रिकाका प्रकाशक शरण उत्सुकले पत्रिका सञ्चालनको तेस्रो वर्ष शुरु गर्न लागेको सन्दर्भमा १ बंैशाख २०५९ लाई विशेष अंककारुपमा प्रकाशित गर्ने जानकारी हामीलाई पनि दिएका थिए, तर तत्कालीन नेकपा माओवादीले २०५८ चैत्र २४ गतेको जनआन्दोलन दिवशको मौका पारेर नेपालबन्दको आब्हान गरेको थियो । माओवादी जनयुद्धको हुटहुटी जोडतोडले चलेको तत्कालीन अवस्थामा नेपालबन्दको अबज्ञा गर्ने आँट जो कोहीको हुँदैन थियो । त्रिशूली प्रवाहको काठमाडौंमा नै सम्पादन र प्रकाशन गरेर हप्ताको प्रत्येक बिहीबार जिल्लामा बिहानै पाठकको हात–हातमा पु¥याउने परम्परा नै बसिसकेको थियो ।

      वार्षिक अंककारुपमा प्रकाशन गर्न लागिएको पत्रिकाको त्यो अंक तोकिएको दिनमा नै जिल्लामा पुर्याउने चुनौती थियो, त्यसका सम्पादक रामचन्द्र भट्ट र प्रकाशक शरण उत्सुकलाई । सबेरै जेनतेन साधनमार्फत रानीपांैवासम्म आएर आफैंले पत्रिकाको गह्रुङ्गो धोक्रो बोकेर जिल्लाका पाठकलाई बिहान नौबजे नै पत्रिका हात हातमा पु¥याउने त्यतिखेरको त्यो युवा प्रकाशक शरण उत्सुक अहिले पनि त्यो भारी बोकिरहेको छ निरन्तर । प्रकाशनको निरन्तरतामा आएका कतिपय बाधा ब्यवधानलाई सहजै पार गर्दै, त्यो श्रृंखलालाई अहिलेसम्म उसले टुट्न दिएको छैन, उप्रति साधुवाद भन्न यो पंक्तिकारले कन्जुस्याई गर्दैन ।

      तर यो भनेर त्रिशूली प्रवाहको यात्रा अब निरापद छ भन्न खोजेको होइन, किनकि पत्रकारिता पेशा एक चुनौतीपूर्ण पेशा भएकोले त्रिशूली प्रवाहले स-सानो कुरामा पनि निकै सजकता अपनाउनु पर्नेहुन्छ । सत्य, तथ्य र निस्पक्ष भएर विषय वस्तु उठाउँदा पनि कुनै न कुनै पक्षबाट त्रिशूली प्रवाहप्रति आंैला ठड्याईएको छ । समाचारमा आवाजबिहिनको आवाज समेटन नसकेको आरोप पनि खेपिरहेको छ । आज जिल्लामा पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन, अनलाइन जस्ता सञ्चार माध्यम सञ्चालित रहेपनि पत्रकारिताको सामाग्रीको स्तर भने बृद्धि हुन सकेको छैन । सरकारी निकायका प्रमुख र ठेकेदारको शरणमा पुगेर र्आिथक फाईदाका लागि पेशालाई बन्धक बनाउने रोग पनि झाँगिदै गएको छ ।

       पैसा आर्जन गर्नका लागि ब्लाकमेलिङ सबैभन्दा सजिलो माध्यम बनेको छ पत्रकारितामा । स्थानीय निकाय, सरकारी र गैरसरकारी कायर्यलयको कार्यसम्पादनमा देखिएका कमि-कमजोरी, आर्थिक अनियमिततालाई पर्दाफास गर्नुको साटो त्यसैलाई कमाई खाने भाडो बनाउने अवसरका रुपमा दुरुपयोग गर्ने कामलाई पनि पत्रकारिता नै भनिने गरिएको छ जिल्लामा । कतिपय अवस्थामा पत्रकार निर्माण ब्यवसायी, सरकारी तथा गैरसरकारी कार्यालयको प्रलोभनमा फस्ने गरेका घटना पनि धेरै सार्वजनिक भईसकेका छन् । आफ्नो बाईकमा दुई लिटर तेल हाल्न पत्रकार सरकारी अधिकारी कहाँ पुग्ने गरेको यथार्थ हामी सबैले देखेका, सुनेका र भोगेकै छौं । यी प्रवृत्तिबाट मुक्त हुन सक्छ कि सक्दैन त्रिशूली प्रवाह ।

      त्रिशूली प्रवाहले सदैव हेक्का राख्नुपर्छ कि उसको काम समाजसँग जोडिएको हुनुपर्छ । जसले लुकेका, सम्भावित र हुनुपर्ने विषय बस्तुको गहिराईमा गएर सत्य, तथ्य र निस्पक्षरुपमा जनसमुदायलाई यथार्थ सूचित गर्न सकोस् । समाज परिर्वतनमा सकारात्मक सोचको विकास गर्न प्रेरित गर्नु उसको निशर्त धर्म हो भन्ने कुरा बिर्सनु हुँदैन । जसले दुनियाका खवर स्थानीय समुदायमा र समुदायका गतिविधी दुनियासामु पु¥याउन उसको भूमिका सधैं रहिरहेको हुन्छ । किनकी, जिल्लाबाट प्रकाशित हुने यस्ता स्थानीय अखबारहरूमा नै ‘सच्चा नेपाल’ झल्किन्छ । उदाहरणका लागि नुवाकोट र चितवनमा सबेरै सबैको हात-हातमा पुग्ने स्थानीय पत्रिकामा जिल्लाका प्रशासन तथा स्थानीय तहका भ्रष्टाचारीप्रति औंला ठड्याउनु त छँदैछ, विकास निर्माणदेखि जनताको भविष्यसँग जोडिएका हरेक सवालमा वादविवादसमेत छेडिएको हुनुपर्दछ । प्रजातन्त्र भनेको यही होईन र ? प्रेसले जनताको बोली यसैगरी बोल्ने होइन र ? किनभने त्रिशूली प्रवाह जस्ता छापाले स्थानीय नजिकपनलाई बढी प्राथमिकता प्रदान गर्नुपर्दछ, त्यसलाई नै बढी फोकस गरेर काम गर्नुपर्दछ । सबैलाई हेक्का रहोस्, गाउँ-गाउँसम्म चेतनाको लहर नपुगेसम्म संघीय गणतन्त्रको संस्थागत विकास सम्भव छैन । स्थानीय सञ्चारमाध्यमको शक्ति, प्रविधी र क्षमताको आधारमा मुलुक र लोकतन्त्रको मापन गर्न सकिन्छ । मोफसलका प्रजातन्त्र बचाउन पनि त्रिशूली प्रवाह जस्ता स्थानीय पत्रिकालाई टिकाउनुपर्ने खाँचो सबैले महशुस गर्न सक्नुपर्दछ ।

       नुवाकोट जिल्लाको पत्रकारितामा त्रिशूली प्रवाह अब्बल पत्रिकाको रुपमा स्थापित र जनस्तरमा विश्वसनीय पत्रिकाको रुपमा आफुले पाएको कुरामा सबै जिल्लाबासीले गर्ने गरेको टिप्पणीको सदैव कदर गर्न सकोस्त्रिशूली प्रवाह टिमले । यसले जिल्लाको स्थानीय समस्या, भाषा, संस्कृति र प्रगतिलाई बढी खोजमूलक ढंगले सम्प्रेषित गरिरहन सकोस् । बहुल सामाजिक संरचनाका विभिन्न वर्ग र पक्षको स्थानीय तथा राष्ट्रिय चाहना र आकांक्षालाई प्रतिनिधित्व गर्ने दायित्व स्थानीय छापाको हुने भएकोले यो अभियानमा त्रिशूली प्रबाहले कायम राखेको अहिलेसम्मको स्तर आउँदा दिनमा पनि कायम राख्न सकोस् । आफ्नो प्रतिबद्धताको बाईसौं वर्षमा प्रवेश गरिरहेको सन्दर्भमा त्रिशूली प्रवाहलाई धेरै–धेरै शुभकामना ।