त्रिशूली प्रवाह साप्ताहिक अन्तरराष्ट्रिय सेतु बनोस्

  • श्याम रिमाल

म ‘त्रिशूली प्रवाह’ को सम्पादक होइन, समाचारदाता होइन, प्रकाशन वा ब्यवस्थापन समूहमा त झन् छँदै छैन । स्तम्भकार हुँ भने नियमित लेख्न सकिन । नियमित लेखक पनि हुन सकिन । तथापी यससँगको मेरो भावनात्मक सम्बन्ध अहिले पनि छ र पछि पनि रहने छ । प्रकाशक तथा प्रधान सम्पादक शरण उत्सुक सापकोटा र मेरो जे जति सम्बन्ध छ त्यो पिताजीका कारणबाटै भएको हो । पिता शिवप्रसाद रिमाल उत्सुकका नेपाली विषयका स्कुले गुरु । म राजधानीमा राससमा आबद्ध । शायद त्यही कारणले हामीलाई डोहो¥यायो र अहिले पनि उत्सुक मलाई सम्झिरहन्छन्, मैले बिर्सन खोजे जस्तो गरे पनि । पिताजीले धार्मिक विषयमा त्रिशूली प्रवाहमा लेख्ने गरेको स्तम्भलाई उहाँको देहवसानपछि काका हरिप्रसाद रिमालले निरन्तरता दिन खोजे पनि नियमित हुन सकेको छैन । वि.न.पा.८ नुवाकोटका भक्तिप्रसाद खतिवडाका ग्रह, नक्षत्र, ज्योतिष विज्ञानसँग सम्बन्धित स्तम्भ र स्थापित पत्रकार, लेखक तथा ज्योतिषी रत्ननिधी शुक्राचार्यका विशेषगरी राजनीतिक लेख पनि म सम्झन्छु । केही वर्षयता मेरो आफ्नै ब्यस्तताले पत्रिकासँग दूरी बढ्न लागे पनि बेलाबेलामा उत्सुकको झक्झकाइले फेरी जोडिन खोज्छु, बस् । पिताजीको स्मृति ग्रन्थ प्रकाशन गर्न ‘त्रिशूली प्रवाह’ का निकै अङ्क पनि खोज्नु छ अब हामीलाई ।

         ‘त्रिशूली प्रवाह’ ले मेरो ऐतिहासिक उपन्यास ‘जेठी तरबार’ लाई धारा प्रवाह छापिदियो । लेख छापिइहाल्थे नै । पछि ‘वाग्मतीको पत्र त्रिशूलीलाई’ लाई स्तम्भ लेख्न थालेपछि भने लिखित प्रतिक्रिया पनि आउन थाल्यो । त्यो पनि छाडी ‘एकै फाँको’ स्तम्भ चलाएँ र छाडेको पनि वर्षाैं भयो । अझै केही समय यसलाई समय दिन सक्दिन । अहिले २२औं वर्ष प्रवेशका अवसरमा पत्रिकालार्ई शुभकामना नदिईरहन म सक्दिन । नुवाकोटमा साप्ताहिक पत्रिकाको खडेरी लागेका बेला यसले दिएको शितलतालाई कुनै पनि नुवाकोटे, नुवाकोटका प्रशासक, स्थानीय समाज, बुद्धिजिवी एवं पाठकले बिर्सन सक्दैन । माओवादी जनयुद्धमा पनि यसले आफूलाई नियमितता दिएरै छाड्यो सकभर निष्पक्षताका साथ शाही शासन काल, भूकम्प हुँदै कोरोना संक्रमणका बीच पनि आफूलाई अघि बढाईरहनु सक्नु त अझै सराहनीय नै छ । नुवाकोटमा पत्रकारिताको विकास र पत्रकारको उत्पादन गर्न प्रत्यक्ष-अप्रत्यक्ष योगदान गरेको त्रिशूली प्रवाहले पत्रिका किनेर पढ्नुपर्छ भन्ने मान्यतालाई पनि पाठकमाझ अवश्य पनि पु¥यायो होला नै । विगतमा जिल्लाका १२ गाउँपालिका, रसुवा, धादिङ, काठमाडौं उपत्यकासम्म फैलाउन सकेको पत्रिकाले यस अवधिको सिंहावलोकन गर्नु पनि मनासिव होला ।

      मुलुकमा अनलाईन समाचार पोर्टल च्याउ उम्रेसरी उम्रन थालेका छन्, फेसबुक र अन्य सामाजिक सञ्जालको बिगबिगी छँदैछ । दैनिक पत्रिका छन् । त्यस हुलमा साप्ताहिक पत्रिका चलिरहनु आश्चर्य हुन सक्छ । यसमा प्रकाशकको आँटलाई कम्ता मान्नु हुन्न । स्थानीय समस्या, प्रशासनिक अनियमितता र भ्रष्टाचार, प्रेरणास्पद ब्यक्तित्वको खोजी, सफलताका कथा, मानवीय अभिरुचि, खेलकूद, साहित्य, कला, इतिहास, धर्म, संस्कृति, पर्यटन, बढ्दो शहरीकरण, अन्तरराष्ट्रिय राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, पेट्रोलियम पदार्थको भण्डार, थानकोट-गल्छी, बालाजु-त्रिशूली र गँगबु-गँगटे सडक, गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेंशी-रसुवागढी सडक र देवीघाट जलविद्युत् आयोजना, त्रिशूली, तादी, लिखु नदीका समस्या, कृषि, राष्ट्रिय ब्यक्तित्व, शिखरवेंशीको चामल, त्रिशूलीको असला र ट्राउट माछा, बदाम, मास, आँप थुप्रै विषय यसले उठाईरहन सक्छ ।

       छिमेकी मुलुक चीन र भारतबीचको पारबहन बिन्दु बनिसकेको नुवाकोटको रणनीतिक महत्वलाई नियमितरुपमा पत्रिकाले उजागर गर्नुपर्ने देखिन्छ । छिमेकी मुलुकबीच बेलाबेलामा बढ्ने तनाव र यसको प्रभावसँग यस क्षेत्रको सम्बन्ध, बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) लाई जोड्नका लागि रसुवा, नुवाकोट भएर चल्ने भनिएको रेल, छहरे-टोखा सुरुङमार्ग, रसुवागढी-ठोरी राजमार्गले दिने अन्तराष्ट्रिय योगदान अर्का महत्वपूर्ण विषय हुन् । पत्रिकाले आफूलाई राष्ट्रिय ब्यक्तित्वका रुपमा उठाउनु त छँदैछ, अन्तराष्ट्रियस्तरमा पुग्ने महत्वाकाङ्क्षा पनि राखोस् । स्थानीय, प्रादेशिक, संघीय सरकारका गतिविधी तथा राष्ट्रिय अन्तराष्ट्रिय विषयलाई साथ-साथै लगेर साप्ताहिक पत्रिकाको भविष्य छ भन्ने स्थापित गराउन आगामी दिनमा पत्रिकाले दिने योगदानको प्रतिक्षा गर्न चाहान्छु । भाषिक शुद्धतालाई ध्यानमा राखी साप्ताहिक पत्रिकाको नमुना बन्ने विश्वास ब्यक्त गर्दै पत्रिकाका प्रकाशक, सम्पादकीय टोली र समाचारदाताको प्रगतिको कामना गर्छु ।

२०७७ चैत २८