ट्रिपर दुर्घटनामा दाजुभाईको मृत्यु

कालिकास्थान, रसुवा जिल्लामा ट्रिपर दुर्घटना हुँदा नयाँ वर्षको दिन एकै घरका दुई दाजुभाईको मृत्यु भएको छ ।

       कालिका गाउँपालिका वडा नं.-२ स्याउबारीमा चैत्र ३१ गते राति वागमती प्रदेश ०१-००६ ख.१६८८ नम्बरको ट्रिपर दुर्घटना हुँदा दुई जना दाजुभाईको मृत्यु भएको थियो । दुर्घटनामा कालिका गाउँपालिका वडा नं.-१ राम्चे घर भएका ट्रिपर चालक २५ वर्षीय सागर तामाङ र उनका दाजु २७ वर्षिय राजेन्द्र तामाङको मृत्यु भएको रसुवा प्रहरी कार्यालयले जानकारी दिएको छ । राजेन्द्र स्थानीय ग्राङ प्रा.वि.का प्रधानाध्यापक थिए । दुर्घटनामा गम्भीर घाइते भएका तामाङ दाजुभाईको उपचारको क्रममा मृत्यु भएको थियो । राम्चेबाट बेत्रावती जाने क्रममा ट्रिपर सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । दुर्घटनामा कालिका गाउँपालिका वडा नं.-१ का वडाध्यक्ष मालफुर्पा तामाङ सामान्य घाइते भएका थिए ।