मेच्यु डुप्च्यो संरक्षण र प्रचारको अभावमा गुमनाम

  • सरस्वती न्यौपाने

धुन्चे, अनगिन्ती पर्यटकीय आकर्षणका प्राकृतिक सम्पदाको पहिँचान र प्रचार-प्रसार नहुँदा रसुवा जिल्लाले पर्यटक भित्र्याउन सकेको छैन । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर-६ सोलेबाट दुई घण्टाको उकालो चढेपछि पुगिने मेन्च्यु डुब्च्यो धार्मिक पर्यटकियस्थल पर्यटकको लागि नयाँ गन्तब्यस्थल बन्न सक्ने भएपनि यसको संरक्षण र प्रचार-प्रसारको अभावमा गुमनाम हुन पुगेको छ ।

       यस ठाउँलाई तामाङ भाषामा मेन्च्यु डुब्च्यो भनिन्छ । कुनै मानव निर्मित नभई प्राकृतिकरूपमा नै पहरोबाट पानी आईरहेको छ । वर्षेनी माघ १ गते माघेसंक्रान्तीको दिन यहाँ मेला लाग्छ । यहाँ लामा झाँक्रीले पुजापाठ गर्ने गर्दछन्, यसको महिमा र महत्व बेग्लै रहेको छ । यहाँ जे मागे पुग्ने धार्मिक किम्वदन्ती रहेको छ । परापुर्वकालमा मानव र देवता कुरा गर्ने समयमा भगवान् शिवले यहाँ पनि त्रिशूलले खोपेर पानी निकालेको भन्ने किम्वदन्ती रहेको छ । उतिबेला घनाघोर जंगल ठुलो पहरो रहेको झाँडी नै झाँडी भएको ठाउँमा सोले भिमली बोकेझुन्डाका मानिस गाईबस्तु चराउन घाँस काट्न जाने क्रममा पहरोबाट पानी झरिरहेको आवाज सुने केहो भनेर त्यहाँको लेउ उक्काएर वरिपरि झाँडी फाडेर हेर्दा त पानी झरिरहेको देखे अचम्म मान्दै मुख धोए कसैले नुहाए पनि एकैछिनमा त दाग हराएको पाए पछि दंग परेर तामाङ परम्पराअनुसार पुजापाठ गरे दैविशक्ति हो भन्दै लोकल कुखुराको अण्डा, लोकल रक्सी, दुध, चामलको पिठो चढाए । बोली नफुटेका बच्चालाई यस ठाउँमा लगेर मुख घोएर पानि खुवाई पुजा गरेपछि बोली फुट्ने विश्वासमा रसुवाबासी अहिले पनि त्यहाँ जाने गर्छन् । यस ठाउँमा पुग्न भूकम्प जानु भन्दा अगाडी बाटो राम्रो थियो । जानलाई सहज थियो ।

        अहिले भूकम्पले ठाउँ–ठाउँमा भत्काई दिएपछि अलि असहज भएको छ । स्थानीय सरकारले त्यहाँ पुग्ने बाटो राम्रो बनाईदिए स्थानीय र बाह्य पर्यटक हेर्न र दर्शन गर्न पुग्ने नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताउनु भयो । यो स्थानको धार्मिक महत्वको साथै पर्यापर्यटन र प्राकृतिक छटाको अध्ययन अवलोकन गर्न जाने बढ्ने अपेक्षा समेत उहाँले गर्नुभएको छ । यो स्थान पुग्न पासाङल्हामु राजमार्गको सोलेबाट हिड्न सक्नेलाई सवा घण्टा र बिस्तारै हिड्नेलाई दुई घण्टा लाग्छ । नजिकको तिर्थ हेला भनेझैं स्थानीय सरोकारवालाले बेवास्ता गर्दा अहिले ओझेलमा परेको छ । प्रकृतिले दिएको अनुपम उपहार देवताले बास गरेको ठाउँ बारेमा स्थानीय बुढापाका बाहेक कमै मानिसलाई थाहा छ मेन्च्यु डुप्च्यो । मेन्च्यु डुप्च्यो भनेको देवताले बास गरेको ठाउँ हो ।