बचत तथा ऋण सहकारी संघको अध्यक्षमा रमेश

विदुर, नुवाकोट जिल्लामा रहेका बचत तथा ऋण सहकारी संघ लिमिटेडको चैत्र २८ गते शनिबार सम्पन्न प्रारम्भिक साधारणसभाले पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि. विदुरको अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्वत चयन गरेको छ ।

       संघको सम्पन्न प्रारम्भिक साधारणसभाले उपाध्यक्षमा त्रिशूली बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्षमा राजेन्द्रभक्त अमात्य, सचिवमा दक्षिणकाली बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष नविन्द्रमान प्रधान, कोषाध्यक्षमा संगम बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्षमा केशव मिश्रलाई चयन गरेको छ । त्यसैगरी, सञ्चालक समितिको सदस्यमा रामप्रसाद रिमाल, शान्ति गुरुङ, नविनकृष्ण राजभण्डारी, रामराजा श्रेष्ठ, राजकुमार तिमिल्सिना, भोलाशंकर गुरुवाचार्य र महेन्द्रमान डंगोल चयन भएका छन् । साधारणसभाले लेखा सुपरिवेक्षण समितिमा संयोजक हरिकृष्ण श्रेष्ठ र सदस्यमा केशवप्रसाद प्याकुरेल र कृष्णप्रसाद लामिछानेलाई चयन गरेको छ । त्यसैगरी, संघको सल्लाहकारमा नारायण श्रेष्ठ रहनुभएको छ ।

      संघको प्रारम्भिका साधारणसभामा नेपाल बचत तथा ऋण केन्द्रीय संघ लि. (नेफ्स्कून) का कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यता र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका लेखा समिति सदस्य रमिला श्रेष्ठ, नेफ्स्कूनका ब्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, जिल्ला सहकारी संघ नुवाकोटका उपाध्यक्ष शिव अधिकारी, जिल्ला सहकारी संघ नुवाकोटका निवर्तमान अध्यक्ष राजेश श्रेष्ठ, जिल्ला सहकारी संघ नुवाकोटका पुर्व अध्यक्ष बैकुण्ठ मिश्र, नुवाकोट जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष कृष्णप्रसाद रिमाल, नगर सहकारी समन्वय उपसमितिका सचिव भोजराज पनेरुलगायतको उपस्थिती रहेको थियो । प्रमुख अतिथि नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले उद्घाटन गर्दै कान्छो बचत संघको रुपमा जन्म भएको नुवाकोट बचत तथा ऋण सहकारी संघ लि.लाई सबैको माया र साथले उत्कृष्ट संघ हुने बताउनुभयो । उहाँले बचत ऋण अभियानलाई सशक्त, दिगो र सबल बनाउन जिल्ला बचत संघ सबल हुनुपर्ने भन्दै सर्वप्रथम यस संघको सक्षमता विकासका लागि नेफ्स्कूनको साथ सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

      नुवाकोट जिल्ला बचत संघ लि. २०७७ फागुन ९ गते बागमती प्रदेश सहकारी विभागमा विधिवत दर्ता भएको थियो । यस अघि २०७७ असारमा सम्पन्न एक प्रारम्भिक भेलाले प्रस्तावित जिल्ला बचत संघमा रमेश श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति चयन गरेको थियो भने तदर्थ समितिमै रहनुभएका ब्यक्तिलाई नै प्रारम्भिक साधारण सभाले सञ्चालक समितिमा चयन गरेको नवनियुक्त अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । संघको नवनिर्वाचित सञ्चालक समितिको प्रथम बैठकले नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम आबद्धताका लागि पनि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामी शुरुवाती चरणमा छौं, के कसरी अगाडी बढ्ने भन्नेमा नेफ्स्कून, प्रदेश र जिल्ला संघसँगको सहकार्यमा अगाडी बढ्छौं ।” बैठकले कर्जा, शिक्षालगायत केही उपसमिति पनि गठन गरेको छ ।