हाम्रा कुरा : जनस्वास्थ्यका मापदण्ड पालना गरौं

कोरोना भाईरस फैलिएर फेरी देशब्यापी बनेको छ । युके भेरियन्टको बढ्दो संक्रमणसँगै जनस्वास्थ्यका मापदण्ड उल्लंघनका कारण ७७ वटै जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर पुष्टि भएको छ । सक्रिय संक्रमितकै संख्या दिन प्रतिदिन थपिंदै गएको छ । कोरोना संक्रमित थपिएसँगै जनजीवन त्रसित बनेको छ ।

       संक्रमितको संख्या नुवाकोटमा पछिल्लो तथ्याङ्क एकसय नाघिसकेको छ । रसुवामा समेत संक्रमित दुई दर्जन नाघेको छ । कोरोना संक्रमणको संख्या बृद्धि हुँदै जाँदा आम नागरिकको चिन्ता उति नै बढेको छ । काठमाडौंलगायत देशभरका कोभिड अस्पतालका बेड तथा आईसियु कक्ष भरिएका छन् । कोभिडका संक्रमित बिरामी बढेसँगै सर्वसाधारणले अस्पतालको बेड पाउन समस्या देखिएको छ भने आगामी दिनमा संक्रमण यहीँ हिसावले बढ्दै गयो भने त्यतिखेर अवस्था अझै भयाबह हुनेछ । देशको बढि जनघनत्व भएका शहर कोरोनाको उच्च जोखिममा परिसकेको छ । तर स्वास्थ्यका पूर्वाधारको अवस्था भने सबैतिर नाजुक छ । त्यसले गर्दा पनि सरकारले कुनै स्थान विशेष मात्र नभएर मुलकभर नै प्रयाप्त मात्रामा तत्काल स्वास्थ्य पूर्वाधार विकास दु्रत गतिमा गर्नुपर्ने अवस्था आएको छ ।

       स्वास्थ्य मन्त्रालयले कोरोना जोखिम बढेको भन्दै ब्यक्ति स्वयम् सचेत रहन आग्रह गरेको छ । भौतिक दूरी कायम, माक्सको अनिवार्य प्रयोग र ब्यक्तिगत सरसफाईमा ध्यान दिन अनुरोध गर्दै आएको छ । जनस्वास्थ्य मापदण्ड पालना नगरेको कारण पहाडी एवं हिमाली जिल्लामा पनि संक्रमण तिव्र गतिमा बिस्तार भईरहेको छ । छिमेकी देश भारतमा कोरोना संक्रमण भयाबह भईरहेको बेला तत्काल सिमा नाकालाई ब्यवस्थित गर्न सरकारले जति ढिलो गर्छ त्यति नै बढि क्षति ब्यहोर्नुपर्नेछ । अन्तराष्ट्रिय नाकामा कडाई गर्ने र सिमावर्ती प्रवेश बिन्दुमा चौबिंसे घण्टा स्वास्थ्यकर्मी राखेर ज्वरो नाप्ने, स्वास्थ्य जाँच गर्ने कार्य गर्नुपर्छ । संक्रमणको अवस्था हेरेर एक जिल्लाबाट अर्को जिल्ला सर्वसाधारणको आवत-जावतमा रोक्नुपर्छ ।

      सरकारले स्वास्थ्यका मापदण्ड पालना गराउन कडाई गर्नुपर्छ भने सर्वसाधारणले अति आवश्यक नपरी घरबाट ननिस्कने, निस्कनु पर्दा अनिवार्य माक्स प्रयोग गर्ने, भिड-भाडमा नजाने, ब्यक्तिगत सरसफाईमा ध्यान दिन सके कोरोना संक्रमणबाट केही हदसम्म बच्न सकिन्छ । जनस्वास्थ्य मापदण्ड पालना गराउने काम स्वास्थ्य मन्त्रालयको मात्र होइन, हरेक निकायको हो । अहिले सिमा नाका खुला छन्, सार्वजनिक बस, सभा-सम्मेलन, जुलुस, भेला, भोज-भतेर, मठ-मन्दिरमा पुजापाठ, कलेज, विद्यालयमा अध्यापन जारी रहेको छ । यी सबै कार्य केही समयलाई कडाईका साथ बन्द गराउन सके मात्र संक्रमण नियन्त्रण गर्न सकिन्छ । कोरोनाको दोस्रो लहरमा फैलिएको संक्रमण पहिलाको भन्दा जटिल रहेकोले परिस्थिती हेरेर लकडाउन गर्न नसके जनताको ज्यान बचाउन सक्ने स्थिती देखिंदैन । मान्छेको आर्थिक गतिविधी भन्दा जीवन बचाउनु अहिलेको स्थितीको माग हो । सम्बन्धित निकायले समयमै ध्यान दिन नसंक्दा स्थिती भयाबहतर्फ उन्मुख छ । भ्याक्सिन लाउन पाएपनि, नपाएपनि कोरोनाको दिर्घकालिन ओखती भनेको मास्क हो । धेरै भन्दा धेरैले मास्क लगाएमा, थोरै भन्दा थोरै मात्र संक्रमित हुनेछ ।