धुन्चेको सोलेमा नयाँ ब्यवस्थापनमा रेन्बो ट्राउट माछापालन शुरू

  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लामा रेन्बो ट्राउट माछापालनको प्रचुर सम्भावना भएपनि प्राविधिक ज्ञान र सिपको अभावमा ब्यवसायिक हुन सकेको छैन । गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–६ सोलेमा रहेको हिमालयन रेन्बो ट्राउट प्रदर्शन प्राईभेट लिमिटेड नयाँ ब्यवस्थापनमा सञ्चालन भईरहेको छ ।

      ३८ वर्ष मत्स्य अनुसन्धान क्षेत्रमा सक्रिय रही गत वर्ष अनिवार्य अवकास लिएका नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं.-४ विदुरका सन्तकुमार श्रेष्ठले उक्त हिमालयन रेन्बो ट्राउट प्रदर्शन प्राईभेट लिमिटेड नयाँ ब्यवस्थापनमा गत चैत्रदेखि सञ्चालन गरेका हुन् । देश–विदेशमा माछापालनको सिकेको सिप, ज्ञानलाई जीवनको उत्तरार्धमा आएर श्रेष्ठले ब्यवसायमा लगाएका छन् । २०७७ चैत २३ गतेबाट हिमालयन रेन्बो ट्राउट प्रदर्शन प्राईभेट लिमिटेड दर्ता गरेर छोराको सहयोगमा आफ्नो जागिरे जीवनको अवकासपछि खाली समयलाई सदुपयोग गरेको उनले बताए । आफ्नो ३८ वर्षे अनुभवलाई ब्यवसायमा रूपान्तरण गर्न हरिप्रसाद रिमालको प्रेरणाले माछापालन शुरू गरेको बताए । वरिष्ठ प्राविधिक अधिकृतमा अवकास प्राप्त सन्तकुमार श्रेष्ठले माछापालन ब्यवसायलाई बिस्तार गरी रसुवाकै नमुना फार्म बनाउने बताउनुभयो । छोराद्वय ओमराज र अङ्गी श्रेष्ठको नाममा फर्म दर्ता गरी ब्यवसाय गर्न लाग्नुभएका श्रेष्ठको मत्स्यपालनको बारेमा देश-विदेशमा अध्ययन अवलोकन समेत गरेको अनुभव छ । कृषि कार्यालयमा दुई वर्ष, मत्स्य अनुसन्धान केन्द्र त्रिशूली, मत्स्य अनुसन्धान महाशाखा गोदावरी, कालीगण्डकी मत्स्य ह्याचरी, कृषि केन्द्र क्यानडा, मत्स्य अनुसन्धान केन्द्र धुन्चेमा रहेर ३८ वर्ष उहाँले बिताउनुभएको उहाँ २०७६ असोज २८ गते जागिरे जीवन रिटार भएपछि गुणस्तरीय माछा पालन गर्न लाग्नुभएको हो ।

      २०७७ साल चैत २३ गते हरिप्रसाद रिमालसँग १५ वटा पोखरी र सानो तथा ठुलो माछा ७ सय ५६ वटा ६० लाखमा किनेर चार लाख भुरा उत्पादन गर्ने लक्ष्यसहित खानेमाछा चार टनबाट १० टन उत्पादन गर्ने लक्ष्य उहाँले बनाउनुभएको छ । चाईना र जापानबाट ल्याएको माछाको प्रविधीलाई रस्ुवामा स्थापित गराउन तल्लिन छन् सन्तकुमार । जमेको पानीमा भन्दा पनि बगिरहेको भिरालो जमिनमा २० डिग्री भन्दा कम तापक्रममा भुरा उत्पादन गर्न सकिन्छ । उनको पोखरीमा यो सुविधा रहेको छ । जागिरे जीवनमा आफूले जानेका सिपलाई सदुपयोग गरी स्वास्थ्यवर्दक माछा उत्पादन गर्ने उनको योजना सफल हुने नागरिक समाज रसुवाका अध्यक्ष बावुलाल तामाङले बताउनु भयो ।