नुवाकोट आर्दस बहुमुखी क्याम्पस अध्यक्षको जिम्मेवारी रामशरणलाई

बट्टार, नुवाकोट-रसुवा-धादिङ जिल्लाको पहिलो क्याम्पस नुवाकोट आर्दस बुहुमखी क्याम्पस बट्टारको अध्यक्षको जिम्मेवारी सामाजिक अभियान्ता रामशरण प्याकुरेललाई त्रिभुवन विश्व विद्यालयले तोकेको छ । एक वर्षदेखि अध्यक्षबिहिन हुँदा क्याम्पसको दैनिक कार्यसमेत प्रभावित भईरहेको छ ।

      त्रिभुवन विश्व विद्यालय सम्बन्धन सम्बन्धी बिनियम २०७३ को बिनियम ३६ को उपनियम (४) बमोजिम क्याम्पसको जिम्मेवारी रामशरण प्याकुरेललाई तोकेको हो । एक वर्षदेखि अध्यक्षसहित सञ्चालक समितिमा एक दर्जन सदस्य रिक्त रहेको थियो । क्याम्पसलाई प्राज्ञिक थलो भन्दा पनि ब्यक्तिगत पहुँचको आधारमा राजनीति चलखेलको अखडा बनाईरहेका समूह त्रिविविले रिक्त अध्यक्ष पदमा रामशरण प्याकुरेललाई नियुक्ती गरेर पठाएपछि तिलमिलाएका छन् । अध्यक्ष प्याकुरेललाई तत्काल क्याम्पसको विधान त्रिविविमा पेश गरी अनुमोदन गराई विधान बमोजिम क्याम्पससभाको बैठकबाट नयाँ अध्यक्ष निर्वाचित गराउने जिम्मेवारी दिएको छ । क्याम्पस प्रशासनले त्रिविविले पठाएको पत्र दर्ता गरेर सञ्चालक समितिको सदस्यलाई जानकारी गराईसकेको छ । मौजुदा विधानअनुसार अध्यक्ष बाहेक १८ जना क्याम्पस सञ्चालक समितिका सदस्य मध्ये हालै ८ जना सदस्य मात्र रहेका छन् । अध्यक्ष प्याकुरेलले क्याम्पसका पूर्व अध्यक्ष, पूर्व सञ्चालक, प्रमुख राजनीतिक दल, क्याम्पसका प्राध्यापक र अन्य सरोकारवालासँग छलफल शुरू गरिसक्नुभएको छ । क्याम्पसमा अध्यक्ष नहुँदा नियमित बैठक हुन सकिरहेको छैन । अध्यक्ष नहुँदा क्याम्पसको आर्थिक अनुमोदन गर्न, करार प्राध्यापकको नियुक्ति, नविकरण र बजेट तथा कार्यक्रम बनाउन समस्या भईरहेको क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो ।

      क्याम्पस जनशक्ति, विद्यार्थी र भौतिकरूपमा अब्बल हुँदाहुँदै पनि राजनीतिक खिचातानी र बट्टार भन्दा बाहिरका ब्यक्तिलाई स्वीकार नगर्ने केही ब्यक्तिको प्रवृत्तिले शैक्षिक गुणस्तर बृद्धि गर्न सकेका छन् । विद्यार्थी, अभिभावकको साथ र सहयोग हुँदा–हुँदै पनि क्यापसमको अवस्था दिन प्रतिदिन खस्कदै गएको प्रति स्थानीय बुद्धिजिवी चिन्तित छन् । क्याम्पसको नाममा ३९ रोपनी जग्गा, ६ वटा भवन र १ सय भन्दा बढी कोठा रहेको छ । क्याम्पसले ४२ वटा सटर र ५ वटा कोठा भाडामा लगाएर नियमित आम्दानी गरिरहेको छ । क्याम्पसले कोरोनाको समयमा अनलाईन कक्षा सञ्चालन गरेर पठन-पाठन सुचारू गरेको थियो । २०४२ सालमा मानविकी संकायबाट शुरू भएको क्याम्पसमा अहिले शिक्षा, ब्यवस्थापन र मानविकी विषयमा स्नातकोत्तरसम्म अध्यापन भईरहेको छ । झण्डै दुई हजार विद्यार्थी अध्ययरत क्याम्पसमा २०७७ बैंशाख ४ गतेदेखि सञ्चालक समितिको अध्यक्षबिहिन रहेको छ । क्याम्पसले अहिलेको अवस्थाबाट मुक्त पाउने राजनीतिक दल, स्थानीय वौदिक ब्यक्तित्व र अन्य सरोकारवालाको समन्वय सहकार्य आवश्यक रहेको क्याम्पसको पूर्व सञ्चालक समितिका अध्यक्ष एवं नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष धननारायण चित्रकार बताउनु हुन्छ । क्याम्पसलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खोज्नेहरूको विगतदेखि हावी हुँदा क्याम्पसले जुन गतिमा शैक्षिक प्रगति गर्नुपर्ने हो त्यो नसकेको उहाँले बताउनु भयो । क्याम्पसको स्तर बृद्धि र बजेट सुनिश्चित गर्न विश्व विद्यालय अनुदान आयोगको छनोटमा परेको क्याम्पसको आन्तरिक खिचलोले प्रभावित भईरहेको छ । गुणस्तर सुनिश्चितता प्रत्यामुक्ति (क्यूएए) प्रक्रिया लागि छनोट भई प्रिभिजिट सम्पन्न भई अन्तिम भिजिट बाँकी रहेको छ । क्याम्पसको आन्तरिक कलहले ‘क्यूएए’ प्रक्रिया अगाडी बढ्न नसकेको क्याम्पस प्रशासनले बताएको छ ।