नुवाकोट र धादिङ जोड्ने लोक सञ्चारमार्ग ऋण खोजेर कालोपत्रे गर्दै निर्माण ब्यवसायी

बेलकोट, काम नगरे निर्माण ब्यवसायीलाई कालो सूचिमा राख्ने र सम्झौता रकमको दश प्रतिशत जरिवाना लिने सरकार तर विगतमा पूरा भएको कामको भूक्तानी नदिने सरकारी रबैयाको उजुरी कहाँ गर्ने ? यस्तै समस्या भोगिरहेका छन् एक वर्षदेखि लोक सञ्चारमार्गका निर्माण ब्यवसायीले । कालोसूचिबाट बच्न र दश प्रतिशत जरिवानाबाट जोगिन सरकारले भूक्तानी नदिएपनि चर्को ब्याजमा ऋण खोजेर ब्यवसायी सुशिल फुयालले लोक सञ्चारमार्गको कालोपत्रे शुरू गरेका छन् ।

      नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं.–८ साबिकको जिलिङ गाविसबाट निर्माण शुरु भएर धादिङको धार्के बजारमा पृथ्वी राजमार्गमा जोडिने दुई लेनको लोकसञ्चार मार्गको शनिबारदेखि कालोपत्रे शुरु भएको छ । डीबीएसटी प्रविधीको उक्त कालोपत्रे सडक दश मिटर चौडाईको छ । दश मिटरको चौडाईको उक्त सडकमा करिव आठ मिटर कालोपत्रे हुनेछ । पहिलो चरणमा साढे आठ किलोमिटर सडक चौडाई गर्ने योजना रहेको सडक डिभिजन नुवाकोटका प्रमुख नारायणदत्त भण्डारीले बताएका छन् । सडक निर्माणको अनुगमन डिभिजन प्रमुखदेखि साइड इञ्जिनियरले गरिरहेका छन् । कालोपत्रे शुरु भएपनि विगतमा पूरा भएको कामको भुक्तानी अर्थ मन्त्रालयले रोकेपछि ब्यवसायी ऋण खोजेर कालोपत्रे गरिरहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त सडकको दायित्ववापतको १७ करोड २५ लाख रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयसँग गत फागुन १६ गते नै रकम निकासाका लागि पत्राचार गरेपनि अझै रकम नपठाएको सडक डिभिजन नुवाकोटका इञ्जिनियर रामप्रसाद पौडेलले बताए ।

       विगतको दायित्व बाँकी हुँदा-हुँदै पनि निर्माण कम्पनीलाई अनुरोध गरेर कालोपत्रेको काम शुरु गरिएको शनिबार फिल्डमा भेटिएका सडक डिभिजन नुवाकोटका इञ्जिनियर दिलिप साहले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । ‘यो गर्मी र पानी नपरेको मौसममा मौका छोपेर पिच गर्न सकिएन भने पहाडको उकालो सडकमा लामो समयसम्म पिच टिकाउनै सकिंदैन’, इञ्जिनियर शाहले भने, ‘साउन लागेपछि लोक सञ्चारमार्गको अहिले कालोपत्रे हुन लागेको सडकको ठेक्काको एक पैसा पनि निर्माण कम्पनीलाई भुक्तानी दिन सकिएको छैन । तर, पनि हाम्रो अनुरोध मानेर काम गरेर सहयोग गरेका छन् ।’ अर्थ मन्त्रालयले विगतमा सहमति दिएर दायित्व सिर्जना भएका कुनै पनि आयोजनाको रकम नरोक्ने पटक–पटक बताए पनि अधिकांश सडकको रकम निकासा रोकेको छ । अर्थकै कारण दायित्व सिर्जना भएका कुनै पनि आयोजनाको रकम समयमै निकासा दिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पटक–पटक प्रतिबद्धता ब्यक्त गरेका छन् । तर, अर्थले नै बहुवर्षिय ठेक्काको लागि सहमति दिएको उक्त लोक सञ्चारमार्गको रकम निकासा अर्थले नगरेपछि निर्माण ब्यवसायी मर्कामा परेका छन् ।

       स्वच्छन्द-वल्र्डवाइड-अमृत जेभीले २०७४ असोजबाट निर्माण शुरु गरेको उक्त सडक प्रदेश सरकार मातहत गएर करिव दश महिना र कोभिडको कारण चार महिना निर्माण पूर्णरुपमा अवरुद्ध भएको थियो । तर, पनि निर्माण कम्पनीले तोकेको समयमा सडक निर्माण सक्ने लक्ष्य लिएको छ । ‘असार मसान्तसम्म यो सडकको निर्माण पूरा गर्नुपर्ने हो । तर, हामी बंैशाख महिनाभित्रै कालोपत्रेको काम पनि पूरा गर्छौं’, निर्माण ब्यवसायी सुशील फुयालले त्रिशूली प्रवाह साप्ताहिकसित भने, ‘सडक डिभिजनले विगतमा गरेको कामकै भुक्तानी दिएको छैन । हामीले सडक डिभिजनको अनुरोध मानेर ऋण खोजेरै भएपनि मौसमलाई गुम्न नदिई कालोपत्रे गरिरहेका छौं । अर्थले लिखित प्रतिबद्धता दिएपछि सिर्जित दायित्व भुक्तानीका लागि त यति असहयोग गर्छ भने निर्माण ब्यवसायीको मनोवल कसरी उठ्न सक्छ र नेपालको निर्माण क्षेत्रले गति लिने हो ?’ अर्थ मन्त्रालयका अधिकारी भने अर्थको सहमतिमा सिर्जित दायित्व भुक्तानीमा ढिला भएपनि भुक्तानी हुनेमा आशंका नगर्न आग्रह गर्छन् । अर्थले सहमति दिएपछि त्यही सीमाभित्र भएको निर्माण कार्यको भुक्तानीका लागि समस्या हँुदैन । ‘ब्याजमा रकम खोजेर कालोपत्रे गर्ने अवस्थामा निर्माण ब्यवसायी पुग्नु राज्यको निरहिता हो’, नुवाकोट निर्माण ब्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले भने, ‘कागज हेर्दा अर्थले स्रोत सुनिश्चित गरेर मात्र ठेक्का लगाएको छ । तर, काम गरेको रकम एक वर्षसम्म रोक्दा ब्यवसायीका घरजग्गा लिलाम हुने अवस्था सिर्जना हुनु भन्दा पीडादायी अरु केही हुन सक्दैन ।’

       नुवाकोटको जिलिङ्गदेखि धादिङ्गको धार्केसम्मको करिब ४० किलोमिटर लामो दुई लेनको उक्त सडक (लोक सञ्चारमार्ग) निर्माणको लागि झण्डै डेढ अर्ब रुपैयाँ लागत लाग्ने देखिएको छ । डीपीआर रिपोर्टमा उक्त लोक सञ्चारमार्गको पहिलो खण्डको लागि ५० करोड ८५ लाख रुपैयाँ लाग्ने उल्लेख गरिए पनि सवा २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । जिलिङ्गको सिमखेत केउरिनी-कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने उक्त सडक राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वार्षिक विकास कार्यक्रम नामको रेडबुकमा आर्थिक वर्ष २०७३-०७४ देखि समावेश भएको थियो । उक्त आयोजना अहिले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम शिर्षकमा समावेश भएको छ । ठेक्का सुरु हुँदा उक्त सडक सम्भावित रणनीतिक सडक शिर्षकमा समावेश भएको थियो । पहिलो खण्डको कालोपत्रेसम्मको काम ठेकेदार कम्पनीले २०७८ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि वैशाख महिनामै सक्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

       अर्थ मन्त्रालयले उक्त सडकको पहिलो खण्डलाई ५० करोड ८५ लाख रुपैयाँको काम बहुवर्षिय ठेक्काबाट गर्न २०७३ साल मंसिर २७ गते सहमति दिएको थियो । ठेक्काको प्रक्रिया लामो भएको कारण २०७४ असार मसान्तमा मात्र ठेकेदार कम्पनीसँग सडकले सम्झौता गरेको थियो । सम्झौता गरेलगत्तै वर्षायाम सुरु भएको कारण असोजमा मात्र सडकको स्तरोन्नती शुरु गरिएको थियो । लोक सञ्चारमार्ग रसुवागढी-गल्छी सडकको नुवाकोट जिल्लाको हालको बेलकोटगढी नगरपालिका वडा नं.-८ सिमखेत बालुवाखानीबाट शुरु भएर केउरिनी, हर्रे, बेलकोटगढी नगरपालिकाको कार्यालय बाघखोर हुँदै कुमरीबाट निर्माणाधीन बाह्रबिंसेको मोटरेबल पुलबाट धादिङको आचार्य पोखरीबाट पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको मिलनबिन्दु नजिक नौबिंसेमा पृथ्वी राजमार्गमा जोडिने छ । यो सडक त्रिभुवन राजपथबाट तराईसँग जोडिने हुनाले यसको निर्माण पूरा भएपछि पृथ्वी राजमार्गमा समस्या आएपनि नेपालको तराईबाट सिधैं रसुवागढीसम्म र रसुवागढीबाट सिधैं तराईसम्मको ब्यापार तथा आवागमनमा सहजता प्रदान गर्नेछ । सोही कारण यो सडकलाई वैकल्पिक राजमार्गको रुपमा हेरिएको छ । साथै, उक्त सडक निर्माणले नुवाकोट र धादिङका कयौं गाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।