प्रहरी स्वास्थ्य मापदण्ड पालना गराउन सक्रिय

विदुर, कोरोना संक्रमण बढ्दै गएपछि नुवाकोट प्रहरीले जिल्लाको भिडभाड हुने स्थानमा निगरानी बढाउँदै सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

      दैनिकरूपमा भिडभाड हुने बजारक्षेत्र, बसपार्क, मालपोत कार्यालय, होटल, रेष्टुरेण्ट, चोकको चिया पसललगायतमा नुवाकोट प्रहरीले निगरानीसँगै कारबाही शुरू गरेको छ । प्रहरीले नुवाकोट प्रवेश गर्ने ककनी, कोल्पुटार, गुर्जेभञ्ज्याङ नाकामा प्रवेश गर्नेलाई कडाई गरिरहेको छ । गृहमन्त्रालयको निर्देशन र स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गराउन प्रहरी खटिएको प्रहरी प्रमुख तुलबहादुर कार्कीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो । सचेतनाका लागि प्रहरीले शुरूमा भिडभाड हुने ठाउँमा सचेतना कार्यक्रम सञ्चालन गरेको जानकारी उहाँले दिनुभएको छ । मास्क नलगाई हिड्नेलाई सम्झाई-बुझाई मास्क लगाउन लगाउने, मास्क नहुनेलाई प्रहरीले मास्क समेत वितरण गरिरहेको छ । प्रहरीले शुरूमा सचेतनाको लागि माईकिङ गर्दै आएको जानकारी दिंदै उहाँले भन्नुभयो, ‘‘हाम्रो लक्ष्य कारबाही गर्ने भन्दा पनि सचेतना जगाउँदै सुरक्षित बनाउने हो ।’’ कोरोनाको दोस्रो लहर बढेसँगै जिल्लामा काठमाडौंलगायत बाहिर जिल्लाबाट आउने सवारी साधान र मानिस बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।