अक्सीजन ग्यास सिलिण्डर हस्तान्तरण

बट्टार, नेपालमा कोरोना संक्रमितको उपचारमा अक्सीजन ग्यासको हाहाकार भईरहेको अवस्थामा बिरामीको उपचारमा सहयोग पुगोस् भनेर नुवाकोट अटो मेकानिक्स ब्यवसायी संघले २५ थान अक्सीजन भरिएको सिलिण्डर जिल्ला प्रशासन कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई हस्तान्तरण गरेको छ ।

      संघका पदाधिकारीसहित नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीको रोहवरमा २५ थान अक्सीजन भरिएको सिलिण्डर जिल्ला प्रहरी कार्यालयमा बुझाएको नुवाकोट अटो मेकानिक्स ब्यवसायी संघका कोषाध्यक्ष एवं जयश्री कालिका वर्कशपका प्रोपाईटर प्रेममान (कान्छा) श्रेष्ठले जानकारी दिनुभयो । कोरोना संक्रमितको उपचारमा थोरै भएपनि सहयोग पुगोस् भनेर संघमा आवद्ध ब्यवसायीको वर्कशपबाट संकलन गरेर अक्सीजन ग्यास भरिएको २५ थान सिलिण्डर हस्तान्तरण गरिएको नुवाकोट अटो मेकानिक्स ब्यवसायी संघका अध्यक्ष भक्तबहादुर (राम) सुनारले बताउनु भयो ।