हाम्रा कुरा : कोरोनालाई जित्न उच्च मनोवल राखौं

कोरोना महामारीको दोस्रो श्रृंखला चलेको छ । विपत्तीको बेला सामान्य तनाव हुनु स्वभाविक नै हो तर लामो समयसम्मको चिन्ता भने राम्रो होइन । यसले शारीरिक तथा मानसिक रूपमा कमजोर बनाउँदै लैजान्छ । तनावले रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । कोरोनाको संक्रमणलाई जित्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ । संक्रमणसँग लड्न शरीरमा रोग प्रतिरोधात्मक शक्ति आवश्यक पर्छ भने मानसिक वा मनोवैज्ञानिक रूपमा मनोवल उच्च हुनुपर्छ ।

      कोरोनाको बास्तविक भ्याक्सिन भनेकै उच्च मनोवल हो । आत्मवल बढाउन सुरक्षाका उपाय अपनाउनुपर्छ, कोरोनासँग लड्न मानसिक रूपमा तयार हुनुपर्छ । परिस्थितीप्रति सकरात्मक धारणा लिनुपर्छ र तनाव ब्यवस्थापन गर्नुपर्छ । निषेधाज्ञाको समयमा आफ्नो रूचिका विषय र क्रियाकलामा धेरै भन्दा धेरै समय बिताउनुपर्छ । आफूलाई मन पर्ने पुस्तक पढ्ने, चलचित्र हेर्ने, संगीत सुन्ने, लेख–रचना लेख्ने, आफ्नो आस्था विश्वासअनुसार पुजापाठ गर्ने जस्ता विषयमा संलग्न भई दैनिकीलाई सहज बनाउन सकिन्छ । अहिले अवस्थामा आधिकारिक सूचना तथा समाचार मात्र हेर्ने गर्नुपर्छ । समाचार बारम्बार हेर्ने र सुन्ने गर्नु पनि हुँदैन । दुःखद समाचार पटक–पटक हेर्दा र सुन्दा निराशा बढ्छ । यसले मानसिक आघात हुन पनि सक्छ । यदि हाम्रो मृत्यु वर्तमान महामारीका कारण नभए पनि एक न एक दिन कालगतिले त अवश्य हुन्छ । तसर्थ, अनावश्यक चिन्ता नलिऔं ।

       चार दशक अगाडीसम्म रोग लागेको सुन्ने बित्तिकै मान्छे हायल–कायल हुन्थे । क्षयरोग, हैजा, औलो, बिफर र कुष्ठरोग लागेको सुन्दा पनि डराउन पथ्र्यो, पसिना छुट्थ्यो र होस–हवास उड्थ्यो । तीन दशक अगाडीसम्म एचआईभी पोजेटिभ भएको भन्दा पनि सिङ्गै गाउँ–सहर सर्तक हुन्थ्यो, थर्कमान बन्थ्यो । दुई दशक अगाडीसम्म मधुमेह, मुटु, मिर्गौला र उच्च रक्तचाप जस्ता नसर्ने रोगी फेला पर्दा असहज महशुस हुन्थ्यो । एक दशक अघिसम्म थाईराईडका रोगी भेटिंदैनथे । इन्सेफ्लाइटिस्, मेनेन्जाइटिस, डेङ्गु, प्लेग, बर्डफ्लू, एच् वन, नाइन वन, हेपाटाइटिस बी, सी आदि अनेकथरी रोग छन् अहिले, जुन पहिले महामारी मानिन्थ्यो । ती सबै सहज भए । पहिले जति डराइयो, डराइयो, उति डराउन पर्दैन अहिले । औषधी बने, रोग प्रतिरोधी खोप लगाउन पाईन्छ । उपचार हुन्छ सजिलै त्यसैले, जुन रोग पहिलोपटक सुन्दा समाजको सातो जान्छ । तर, जब रोग र मान्छेबीचमा लुकामारी चल्छ र एकले अर्कोलाई छल्न सिपालु हुन्छन्, तब त्यहीँ अभ्यास बन्न जान्छ । अभ्यास नगरून्जेलसम्मका लागि हो, अप्ठ्यारो र तगारो । बाध्यताले लगातार गर्न परेपछि अभ्यस्त भईन्छ र सबै सहज बन्छ । जारी कोरोना भाईरसको महामारी छिट्टै रोकिने सम्भावना देखिंदैन । स्वरूप परिवर्तन गर्दै सताउने रहेछ त्यसले । त्यसैले पनि दुई मिटरको दूरी, मास्क जरूरीलाई अभ्यासमा परिणत गर्नुपरेको छ । घरबाट बाहिर गएर फर्केंंपछि हात–खुट्टा धोएर भित्र पस्ने चलन त पुरानै परम्परा हो हाम्रो । मात्र साबुनको प्रयोग बढाउन परेको छ अहिले । यति सामान्य स्वास्थ्य सर्तकताको विषयलाई असामान्य नबनाऊँ र हेल्चेक्याइँ नगरौं । अभ्यस्त भईसकेपछि कोरोनालाई पनि छल्न÷जित्न सकिन्छ । समुचित र समयोचित सावधानी नअपनाएर, लापरबाही गरेर, रोगलाई चुनौती दिएर, जिस्किएर, निषेधाज्ञाका समयमा पनि बाहिर निस्किएर, लुकामारी खेल्दा आफूले नजिते कोरोनाले जित्छ र लैजान्छ । चिउँडामुनि मास्क झुन्डाएर, तालुमाथि चस्मा लगाएर, समयमा साबुनपानीले हात नधोएर, जे पायो त्यहीँ खाएर, दूरी कायम नगरेर कोरोनालाई दनक दिन सकिन्न । एकपटक ठण्डा दिमागले सोचौं ।