पूर्व मेयर लामाको निधन

विदुर, नुवाकोट जिल्लाको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह लामाको शुक्रबार दिउँसोे कोभिडको उपचारको क्रममा मनमोहन अस्पताल काठमाडौंमा निधन भएको छ ।

       स्वास्थ्यमा समस्या भएपछि दुई हप्ताअघि अस्पताल भर्ना हुनुभएका लामाको उपचारको क्रममा निधन भएको हो । उहाँलाई स्वासप्रस्वास समस्या देखिएपछि स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । डेङ्गु रोगका कारण सिकिस्त बिरामी पर्नुभएका लामालाई अस्पतालमा रहेकै बेला कोरोना पोजेटिभ समेत देखिएको थियो । उहाँ निमोनियाको बिरामी समेत हुनुहुन्थ्यो । विदुर नगरपालिकाका पूर्व मेयर रहनुभएका लामा दुई महिनाअघि मात्र नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । नुवाकोटको राजनितीक र सामाजिक आन्दोलनका अग्रणी ब्यक्तित्व लामाको निधन भएकोमा जिल्लाबासीले दुःख ब्यक्त गरेका छन् । स्वर्गीय लामा २०४२ सालमा तत्कालिन कार्की मनकामना गाउँपञ्चायतको प्रधानपञ्च, २०४२ सालमा पुनः प्रधानपञ्च भएर जिल्ला पञ्चायत सदस्यमा निर्वाचित २०४६ सालको परिवर्तनपछि बहुदलिय ब्यवस्था पुनः स्थापनापछिको पहिलो आम निर्वाचन २०४८ मा नुवाकोटको संसदीय क्षेत्र नं.३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको टिकटमा निर्वाचन लडेका लामा झिनो मतले पराजित भएका थिए । स्वर्गीय लामा २०४९ सालमा भएको पहिलो स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको सदस्यमा इलाका नं.७ बाट निर्वाचित भएका थिए । राजावादी राजनीतिज्ञको रूपमा जीवनको उर्वर समय ब्यथित गरेका लामा २०६२ को ज्ञानेन्द्र सरकारले गरेको स्थानीय निर्वाचनमा विदुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएर विजयी भएका थिए । उनले अर्का राजावादी उम्मेदवार झनक प्याकुरेललाई निर्वाचनमा पराजित गरेर मेयर भएका थिए । स्वर्गीय लामाका दुई छोरा, तीन छोरी र दुई श्रीमती रहेका छन् ।